+
+
परराष्ट्र मन्त्रीको श्रीलंका भ्रमणः :

राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट, भैरहवा फ्लाइटका लागि आग्रह गर्ने तयारी

दिपेश शाही दिपेश शाही
२०७९ माघ १८ गते २१:२३

१८ माघ, काठमाडौं । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल कोलम्बो पुग्दा उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुने भएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालको श्रीलंकन समकक्षीका साथै राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनसँग शिष्टाचार भेट हुने तय भएको छ । सम्भव भएसम्म साइडलाइन भेट गर्ने र सार्कलगायत विविध विषयमा छलफल गर्ने परराष्ट्रमन्त्री पौड्यालले बताइन् ।

‘यो भ्रमणको प्रयोजन फरक हो । तर सम्भव भएसम्म सार्कलगायत विविध विषयमा पनि छलफल गरौं भन्ने लागेको छ’ मन्त्री पौड्यालले बुधबार परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीहरुसँग भनिन्, ‘त्यसका लागि मन्त्रालयले तयारी गरिरहेको छ ।’

श्रीलंकाका राष्ट्रपति बिक्रमासिंघेको सचिवालयले ७५औं स्वतन्त्रता दिवसको अवसरमा ‘लंकारेलंका’ कार्यक्रम राखेको छ, जसमा सहभागी हुन मन्त्री पौड्याल बिहीबार कोलम्बो प्रस्थान गर्ने कार्यक्रम छ ।

भ्रमण तालिकाअनुसार शुक्रबार मन्त्री पौड्यालले आफ्ना श्रीलंकन समकक्षी अलि साब्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन मन्त्री पौड्याललगायत विभिन्न देशका पाहुनाहरूका लागि स्वागत लञ्चको कार्यक्रम राखिएको छ । लञ्चपछि मन्त्री पौड्यालको उच्चस्तरीय राजनीतिक भेटघाटका क्रममा श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मन्त्री पौड्याल अन्य समकक्षीसँगै ‘लंकारेलंका’ कार्यक्रममा सहभागी हुनेछिन् ।

त्यसको अर्को दिन समारोहअन्तर्गत आयोजना हुने परेड र झण्डोत्ताेलन कार्यक्रममा सहभागी हुने मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमपछि राष्ट्रपति रनिल बिक्रमासिंघेसँग मन्त्री पौड्यालको शिष्टाचार भेट हुनेछ । भेटपश्चात मन्त्री पौड्याल राष्ट्रपति भवनमा आयोजित हुने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार भ्रमणका क्रममा विभिन्न मुलुकका विदेशमन्त्रीहरूसँग साइडलाइन भेटवार्ता तय गर्ने तयारी भइरहेको छ ।

‘मन्त्रीको भ्रमण हुन लागेको फोरम कुनै निश्चित विषयमा छलफल गर्ने होइन, तर विभिन्न देशका समकक्षीहरूसँग भेट हुँदा सबै विषयमा छलफल गर्ने कि भनेर तयारी हुँदैछ’ प्रमुख सुवेदीले भने, ‘त्यसमा सार्कको विषयमा पनि सम्बन्धित देशका विदेशमन्त्रीसँग उहाँको छलफल हुनसक्छ ।’

श्रीलंकन समकक्षी र त्यहाँको उच्चस्तरीय राजनीतिक भेटका क्रममा कोलम्बोबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट सुरु गर्ने विषयमा पनि छलफल गर्ने पराराष्ट्रमन्त्री पौड्यालको तयारी छ । ‘सीधा उडानका विषयमा पनि छलफल गर्ने गरी हाम्रो तयारी छ । तर के कति प्रगाति हुन्छ अहिले नै भन्न सकिन्न’ सुवेदीले भने ।

मंगलबार मात्रै परराष्ट्रमन्त्री पौड्यालले बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न आग्रह गरेकी थिइन् । राजदूत चौधरीले भने ‘लंकारेलंका’ मा बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरेका थिए । यस भेटतर्फ संकेत गर्दै मन्त्री पौड्यालले साइडलाइन भेट हुने सम्भावना रहेको बताएकी हुन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पौड्यालले परराष्ट्रमन्त्रालय अन्तर्गतको राहदानी विभागमा देखिएको समस्या समाधानका लागि आफूले पहल लिइरहेको र अबको हप्ता दश दिनभित्र सकरात्मक नतिजा देखिने अपेक्षा व्यक्त गरेकी छन् । उनले नेपालमा मात्रै नभएर विभिन्न मुलुकमा रहेका नियोग तथा देशभित्रै पनि समस्या रहेको भन्दै त्यसको समाधानका लागि मन्त्रालय लागिरहेको बताइन् ।

पोर्चुगलमा रहेका नेपालीहरूलाई पासपोर्टको समस्या परेकाले तत्काल मोबाइल टिम पठाउने तयारी भइरहेको जानकारी दिइन् । ‘पोर्चुगलमा मात्रै ६० हजारभन्दा बढी नेपाली हुनुहुन्छ, उहाँहरूलाई पासपोर्टको समस्या देखिएको भन्ने सुनिएको छ’ उनले भनिन्, ‘हामीले मोबाइल टिम एक महिनाको लागि भए पनि तत्काल पोर्चुगल पठाउने तयारी गरेका छौं ।’

परराष्ट्र नीति–२०७७ लाई नयाँ परिवेशअनुसार सान्दर्भिक बनाउनुका साथै प्रभावकारी कार्यान्वयनका लागि विज्ञहरूसँग परामर्श गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिएकी छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?