+
+

चक्रपथमा ईबीआरटीको सम्भाव्यता अध्ययन गरिंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १३:२०

२२ माघ, काठमाडौं । लगानी बोर्ड नेपालले चक्रपथमा विद्युतीय बस र्‍यापिड ट्रान्जिट (ईबीआरटी) को सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । यसअघि पनि सम्भाव्यता अध्ययन अघि बढाए पनि प्राविधिक समस्या भएको भन्दै स्थगित भएको थियो ।

आइतबार बोर्डले पुनः सूचना जारी गर्दै ईबीआरटीको  निर्माण, सञ्चालन र व्यवस्थापनको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव आह्वान गरेको छ ।

चक्रपथमा दुईवटा ‘डेडिकेटेड लेन’को ईबीआरटीको हुनेछ । साढे ७ देखि ८ मिटरको लेन यसका लागि छुट्याउने योजना छ । १६० यात्रु क्षमताका ७० देखि ७५ वटा लामो आकारको विद्युतीय बस यो लेनमा गुड्नेछन् ।

ईबीआरटी परियोजनाअन्तर्गत २६ देखि ३० वटा चढ्ने–ओर्लने स्टेसन हुनेछन् । यात्रुहरुको सहजताका लागि स्टेसनमा बस आउने–जाने समयतालिकासहित आवश्यक सूचना प्रवाहित हुनेगरी डिजिटल डिस्प्ले राख्ने योजना छ । विद्युतीय बस चार्ज गर्न ३० वटा आधुनिक चार्जिङ स्टेशन बनाउने योजना छ ।

दैनिक २० घण्टा सञ्चालन गर्ने लक्ष्य राखिएको बीआरटी परियोजना सार्वजनिक निजी साझेदारी (बूट) मोडेलमा निर्माण गरिने लक्ष्य छ ।

विकसित देशमा सहरी यातायात व्यवस्थित गर्न धेरै यात्रु बोक्ने ठूला र लामा बस सञ्चालन गर्नेगरी ल्याइएको अवधारण हो–बसर्‍यापिड ट्रान्जिट (बीआरटी) ।

यसका लागि छुट्दै बस–वे अथवा ट्रान्जिट–वे को व्यवस्था गरिन्छ र त्यो लेनमा धेरै यात्रु क्षमताका ठूला बस गुडाइन्छ । क्षमता बढाएर सार्वजनिक यातायातलाई व्यवस्थित र दिर्घकालीन बनाउन यसको अवधारणा ल्याइएको पाइन्छ ।

छुट्टै डेडिकेटेड लेनमा सञ्चालन हुने भएकाले यसमा यात्रा गर्दा ट्राफिक जामको समस्या भोग्नु पर्दैन । सन् १९७४ मा पहिलो पटक ब्राजिलको क्युरिटीबामा बीआरटी सञ्चालनमा आएको थियो ।

सहरी यातायात व्यवस्थित गर्न यो अवधारणालाई धेरै देशले रुचाएका छन् । ल्याटिन अमेरिकी देश, युरोप, कोलम्बिया, मेक्सिको, चीन, इरान लगायतका देशले पनि अपनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?