+
+
Shares
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ :

नाइमा एक्स्पोमा ‘अफर’ वर्षा, कुन ब्रान्डमा कति छुट ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ गाडीहरूको प्रदर्शनी मात्रै नभएर अफर, छुट, रमाइला गेम र फाइदाको एक महाकुम्भका रूपमा प्रस्तुत भएको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ साउन २८ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा दुई दिनमै ५५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
  • विभिन्न अटोमोबाइल कम्पनीहरूले एक्स्पोको अवसरमा भारी नगद छुट, फ्रि बीमा र लक्की ड्रमार्फत आकर्षक उपहार योजना सार्वजनिक गरेका छन् ।
  • टाटा, निसान, एमजी र होन्डालगायतका ब्रान्डहरूले एक्स्पोमा नयाँ मोडलका सवारीसाधन प्रदर्शनीमा राखी विशेष छुट र विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएका छन् ।

२८ साउन, काठमाडौं । नयाँ गाडी, मोटरसाइकल वा स्कुटर किन्ने सोच बनाइरहनुभएको छ ? कुन ब्रान्डको छान्ने र कहाँबाट किन्दा धेरै फाइदा हुन्छ भन्ने दुविधामा पनि हुनुहुन्छ ?

त्यसो हो भने यतिबेला काठमाडौंको भृकुटीमण्डप तपाईंका लागि सबैभन्दा उपयुक्त गन्तव्य बन्न सक्छ ।

मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ यतिबेला अटोमोबाइल पारखी र नयाँ गाडी खरिदकर्ताहरूको प्रमुख आकर्षणको केन्द्र बनेको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भइरहेको यस महामेलामा सुरुवाती दुई दिनमै ५५ हजारभन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन् ।

आयोजकका अनुसार पहिलो दिन २९ हजार र दोस्रो दिन २६ हजार आगन्तुक मेलास्थल पुगेका थिए । मेला अवधिभरि करिब डेढ लाख दर्शक भित्र्याउने आयोजकको लक्ष्य निकै सहजै पूरा हुने देखिन्छ ।

तर, यो एक्स्पो केवल गाडी हेर्ने र फर्किनेको भिडमात्र होइन । मेलास्थलमा पुग्ने जो कोहीले महसुस गर्न सक्छन्- यहाँ अवलोकनकर्ताहरू आफूलाई मन परेका कार तथा स्कुटर छानी–छानी बुकिङ गरिरहेका छन् ।

यसको मुख्य कारण हो- अटोमोबाइल कम्पनीहरूले ग्राहक तान्न ल्याएका लोभलाग्दा छुट, क्यास ब्याक, एक्स्चेन्ज बोनस, मजेदार गेम र आकर्षक उपहार ।

ग्राहक तान्न कम्पनीहरूबीच होडबाजी : अफरै-अफरको मेला

विगतका वर्षभन्दा यसपालि मोबिलिटी एक्स्पोमा कम्पनीहरू निकै आक्रामक प्रस्तुत भएका छन् । पहिलो दिन नै विभिन्न ब्रान्डका ४८ र दोस्रो दिन थप ४ नयाँ मोडेल सार्वजनिक हुनुले नेपाली बजारमा अटोमोबाइल क्षेत्रको उत्साह प्रस्ट पार्छ ।

महँगा प्रिमियम कारदेखि सस्तो र बजेटमैत्री ईभी (विद्युतीय सवारी) तथा मोटरसाइकल/स्कुटरसम्ममा ग्राहकको उल्लेख्य रुचि देखिएको छ ।

यही सचेत ग्राहक वर्गलाई आफ्नो ब्रान्डप्रति आकर्षित गर्न कम्पनीहरूले अफरको वर्षा नै गराएका छन् । कम्पनीहरूले गाडी बुकिङमा भारी नगद छुट (क्यास डिस्काउन्ट), एक वर्षको नि:शुल्क बीमा, एक वर्षको सवारी कर छुट, फ्रि सर्भिसिङ र न्यून ब्याजदरमा सहज कर्जा (फाइनान्सिङ) जस्ता सुविधा एकै ठाउँबाट उपलब्ध गराइरहेका छन् ।

यतिमात्र होइन, एक्स्पोमा अवलोकनकर्ताको ध्यान तान्न विभिन्न स्टलमा मजेदार गेम खेलाइएको छ, जहाँ विजेताले आकर्षक उपहार र क्यासब्याक हात पारिरहेका छन् ।

होन्डाको गोल्डेन चान्स : साँचो घुमाउनुस्, ५० हजार क्यासब्याक जित्नुस् !

चार पाङ्ग्रेमा मात्र होइन, दुईपाङ्ग्रे सवारीसाधनमा पनि अफरको उत्तिकै रौनक छ । नेपालमा सर्वाधिक रुचाइएको दुई पाङ्ग्रे ब्रान्ड होन्डाले एक्स्पोमा अवलोकनकर्ता लक्षित गर्दै निकै रोमाञ्चक र फरक किसिमको अफर ल्याएको छ ।

होन्डाले ‘वान गोल्डेन की, वान गोल्डेन चान्स, वान गोल्डेन विन’ नामक अफर सञ्चालन गरिरहेको छ । भृकुटीमण्डपस्थित होन्डाको स्टल नम्बर ‘सी–वान’ पुगेर अवलोकनकर्ताले त्यहाँ राखिएको एउटा ‘गोल्डेन की’ छनोट गर्नुपर्ने छ ।

तपाईंले छानेको उक्त साँचोले त्यहाँ राखिएको होन्डाको स्कुटर स्टार्ट भयो भने तपाईं भाग्यशाली विजेता बन्नुहुने छ । यसरी विजेता बन्ने ग्राहकले होन्डाको स्कुटर खरिद गर्दा एकमुष्ट ५० हजार रुपैयाँको भारी क्यासब्याक (नगद फिर्ता) प्राप्त गर्नेछन् । रमाइलो गेम पनि खेल्न पाइने र ५० हजारसम्मको छुट पनि पाइने यो अफरले होन्डाको स्टलमा दर्शकको उल्लेख्य भिड तानिरहेको छ ।

टाटाको ईभीमा वारेन्टीको क्रान्ति र नगद छुट

नेपाली ईभी बजारमा राज गरिरहेको टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एक्स्पोमा नयाँ ‘पञ्च ईभी’ र नयाँ ‘टियागो ईभी’ सार्वजनिक गरेको छ । टाटाले यसपालि मूल्य र वारेन्टी दुवैमा ग्राहकलाई खुसी पार्ने रणनीति लिएको छ ।

नयाँ पञ्च ईभीको बजार मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिए पनि एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले १ लाख रुपैयाँ नगद छुटसहित ३२ लाख ९९ हजार रुपैयाँमै यो गाडी आफ्नो बनाउन सक्नेछन् । त्यस्तै टियागो ईभी २८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ ।

टाटाको सबैभन्दा ठूलो र ग्राहकको ध्यान तान्ने अफर भनेको यसको ‘विस्तारित वारेन्टी’ हो । एक्स्पोमा यी दुवै गाडी बुकिङ गर्ने ग्राहकले ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा पाउनेछन् । विद्युतीय गाडी किन्दा ग्राहकमा हुने ‘ब्याट्री बिग्रिएला कि’ भन्ने चिन्तालाई टाटाको यो अफरले पूर्णरूपमा निश्चिन्त पारेको छ ।

निसानमा साढे ४ लाखसम्मको क्यास डिस्काउन्ट

निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पले एक्स्पोमा आफ्नो नयाँ एसयूभी ‘टेकटन’ र चर्चित मोडेल ‘म्याग्नाइट’ को अटोमेटिक भेरियन्ट सार्वजनिक गरेको छ ।

६ वटा एयरब्याग, एडाप्टिभ क्रुज कन्ट्रोल र ३६० डिग्री क्यामेरा जस्ता अत्याधुनिक सुरक्षा फिचर भएको टेकटन एसयूभीको मूल्य ५३ लाख ९९ हजारदेखि ८७ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।

निसानले ग्राहक लोभ्याउन भारी नगद छुट अफर ल्याएको छ । टेकटन खरिदमा ग्राहकले २ लाख ७० हजारदेखि ४ लाख ४० हजार रुपैयाँसम्मको सोझो क्यास डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । प्रिमियम एसयूभी चढ्ने सपना बुनेका ग्राहकका लागि निसानको स्टल निकै आकर्षक गन्तव्य बनेको छ ।

वुलिङ मिनी ईभीमा बजेटमैत्री छुट

सहर बजारको भिडभाडमा चलाउन र पार्किङ गर्न सबैभन्दा सहज मानिएको चिनियाँ ब्रान्ड वुलिङको ‘मिनी ईभी’ प्यारामाउन्ट मोटर्सले सार्वजनिक गरेको छ । ३ सय १ किलोमिटरसम्म रेन्ज दिने यो सानो तर चिटिक्कको ईभी विशेषगरी सहरी ग्राहकको रोजाइमा परेको छ ।

यसको मूल्य बजारमा २१ लाख र २३ लाख रुपैयाँ तोकिए पनि कम्पनीले ‘नाइमा एक्स्पो अफर’ अन्तर्गत फ्ल्याट १ लाख रुपैयाँ छुट दिएको छ । जसअनुसार मेलास्थलबाट बुकिङ गर्दा ग्राहकले यो कार मात्र १९ लाख ९९ हजार र २१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । २० लाखभन्दा कम मूल्यमा राम्रो रेन्ज दिने ईभी खोज्नेका लागि यो निकै सानदार अफर हो ।

व्यावसायिक सवारीमा पनि अफरको बाढी : डोङफेङ र चेरी वान्डा

एक्स्पोमा निजी कारमात्र नभई व्यावसायिक प्रयोजनका सवारीसाधन (बस, भ्यान) मा पनि उत्कृष्ट अफर दिइएको छ । हिमालयन अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित ब्रान्ड ‘डोङफेङ’ का विद्युतीय बस सार्वजनिक गरेको छ ।

१ करोड १५ लाख रुपैयाँबाट सुरु हुने यी बस खरिदमा पहिलो ५० ग्राहकलाई ५ लाख रुपैयाँको विशेष छुट दिइएको छ । साथै, २ लाख रुपैयाँ बराबरको थप ३ वर्षको एक्स्टेन्डेड वारेन्टी पनि प्राप्त गर्न सकिने छ ।

त्यसैगरी चेरी वान्डाले ११ देखि १६ सिट क्षमताका विद्युतीय व्यावसायिक भ्यान प्रदर्शनमा राखेको छ । स्कुल, कलेज र यातायात व्यवसायीलाई लक्षित गर्दै चेरीले ‘विनाधितो हायर पर्चेज कर्जा’ को अत्यन्तै आकर्षक वित्तीय सुविधा ल्याएको छ । यसले लगानीको अभाव खेपिरहेका व्यवसायीलाई सहजै ईभी भ्यान खरिद गर्ने बाटो खुलेको छ ।

ओमोडा एन्ड जेकोमा साढे २ लाखसम्म छुट र ११ वर्षको वारेन्टी

नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले एक्स्पोको अवसरमा ईभी खरिदकर्ताका लागि आकर्षक छुट योजना ल्याएको छ । कम्पनीले विभिन्न ५ भेरिएन्टमा १ लाखदेखि २ लाख ६० हजार रुपैयाँसम्म नगद छुट दिएको छ ।

सबैभन्दा बढी छुट ‘जेको जे फाइभ प्रो’ मा उपलब्ध छ । यसअघि ५१ लाख ५९ हजार रुपैयाँ मूल्य रहेको यो गाडी एक्स्पोमा २ लाख ६० हजार छुटसहित ४८ लाख ९९ हजारमै खरिद गर्न सकिने छ ।

त्यसैगरी ‘जे फाइभ लङ रेन्ज’ र ‘ओमोडा ई फाइभ प्रो म्याक्स’ मा समान २ लाख रुपैयाँ छुट प्रदान गरिएको छ, जसअनुसार ५६ लाख ९९ हजारका यी दुवै एसयूभी अब ५४ लाख ९९ हजार रुपैयाँमा पाइनेछन् ।

यस्तै ५१ लाख ५९ हजार मूल्य तोकिएको ‘ओमोडा ई फाइभ प्रो’ मा १ लाख ६० हजार रुपैयाँ छुट दिइएको छ भने यो गाडी अब ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

प्रिमियम एसयूभी ‘जेको जे सिक्स टी’ मा १ लाख रुपैयाँ छुटसहित ६८ लाख ९९ हजार (पहिले ६९ लाख ९९ हजार) तोकिएको छ ।

यी गाडी खरिद गर्दा नगद छुटका साथै ग्राहकले १ वर्षको नि:शुल्क इन्स्योरेन्स र १ वर्षको सडक कर छुट सुविधा पाउनेछन् । कम्पनीले यी सबै एसयूभीमा ११ वर्षको बम्पर वारेन्टी समेत उपलब्ध गराएको छ ।

अझ रोचक, एक्स्पोमा गाडी किन्नेमध्ये दुई जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत चीन भ्रमणको शानदार अवसर समेत प्राप्त गर्नेछन् ।

एमजीको महा-अफर : १५ लाख ५० हजारसम्मको फाइदा र सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा जित्ने मौका

जेएसडब्लू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्सले एक्स्पोमा आफ्नो नयाँ फ्ल्यागसिप एसयूभी ‘एमजी मेजेस्टर’ सार्वजनिक गरेर तहल्का मच्चाएको छ । ५ मिटरभन्दा लामो र २.० लिटर ट्विन-टर्बो डिजेल इन्जिनयुक्त यो गाडी एमजीले नेपालमा ल्याएको हालसम्मकै सबैभन्दा प्रिमियम एसयूभी हो ।

यो गाडी खरिद गर्ने ग्राहकका लागि कम्पनीले ‘भ्यालु प्याकेज’ अन्तर्गत बम्पर अफर ल्याएको छ । एक्स्पोमा एमजी मेजेस्टर बुक गर्दा ग्राहकले कुल १५ लाख ५० हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

यसमा ८ लाख रुपैयाँको त ‘निश्चित नगद छुट’ (स्योर सट क्यास डिस्काउन्ट) नै समावेश छ । साथै, एक वर्षको कम्प्रिहेन्सिभ बीमा र प्रिमियम एसेसरीज नि:शुल्क पाइने छ । १० हजारभन्दा माथिको बुकिङ गर्ने ग्राहकलाई विशेष गिफ्ट ह्याम्परको व्यवस्था छ भने प्रत्येक बुकिङकर्तालाई लक्की ड्रमार्फत ‘सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा’ स्मार्टफोन जित्ने अवसर प्रदान गरिएको छ ।

सीएफमोटो २५० डुअल ईएफआईमा ५ वर्षको वारेन्टी र सहज फाइनान्सिङ

एक्स्पो अवसर पारेर सीएफमोटोको आधिकारिक विक्रेता ऋषि ट्रेड सेन्टरले ‘सीएफमोटो २५० डुअल ईएफआई’ मोटरसाइकलमा ५ वर्ष वा ६० हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी योजना सार्वजनिक गरेको छ ।

२१ साउनदेखि नै लागु भएको यो अफरले ग्राहकलाई सुरक्षित र दीर्घकालीन स्वामित्वको विश्वास दिलाउने कम्पनीको दाबी छ ।

५ लाख ७४ हजार ९ सय रुपैयाँ अधिकतम खुद्रा मूल्य तोकिएको यो मोटरसाइकल खरिद गर्न चाहनेका लागि कम्पनीले सहज किस्ताबन्दी (फाइनान्सिङ) र आकर्षक एक्स्चेन्ज सुविधा समेत उपलब्ध गराएको छ, जसअन्तर्गत ग्राहकले पुरानो मोटरसाइकल दिएर नयाँ सीएफमोटो लैजान सक्नेछन् ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ गाडीहरूको प्रदर्शनी मात्रै नभएर अफर, छुट, रमाइला गेम र फाइदाको एक महाकुम्भका रूपमा प्रस्तुत भएको छ ।

कम्पनीहरूले दिएको नगद छुट, फ्रि एसेसरीज, सस्तो कर्जा, ग्याजेट उपहार, स्कुटरमा गोल्डेन चान्स गेम र विस्तारित वारेन्टीले सवारीसाधन किन्ने सही समय यही हो भन्ने सन्देश दिइरहेको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?