+
+

४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएसँगै सुरु भएको खटपटमा आफूहरु पेलिन थालेको महसुस रास्वपाका नेताहरुले गरेका थिए । सांसद पद गएपछि पनि गृह मन्त्रालयमा फर्किने रविको रहरमा प्रचण्ड र केपी ओली दुवै सहयोगी नभएपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते २२:४४

२२ माघ, काठमाडौं । सरकारमा सहभागी भएको ४२ औं दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिएको छ । आइतबार साँझ रास्वपाका मन्त्रीद्वय डीपी अर्याल र शिशिर खनाल तथा राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा पत्र बुझाएका छन् ।

आइतबार दिउँसो पार्टी कार्यालय, बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन जारी राख्ने, तर सरकार छाड्ने निर्णय गरेको थियो ।

नेताहरुका अनुसार सरकार छाड्ने निर्णयमा पुग्नुको मुख्य कारण गृह मन्त्रालय नदिनु नै हो । तर प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा नेपाली कांग्रेसले विश्वासको मत दिएसँगै गठबन्धनमा खटपट सुरु भइसकेको थियो र त्यसको मारमा आफूहरु पर्न थालेको रास्वपाका नेताहरु बताउँछन् ।

१० पुसको विहानसम्म पनि कांग्रेस सभापति शेरबहादुर देउवा आफूलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्डले गठबन्धन बदलेका थिए । र उनलाई प्रधानमन्त्री बनाउन संसदमा २० सिट भएको रास्वपा ‘निर्णायक’ बनेको थियो । त्यही कारण ११ पुसमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएका थिए ।

तर प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म पुग्दा नपुग्दै गठबन्धनमा खटपट सुरु भइसकेको थियो । संसदको पहिलो बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले गरेको प्रतिनिधिसभा विघटन सही थियो भन्दै बचाउ गरे भने प्रधानमन्त्री प्रचण्डले फरक मत राखे । भोलिपल्ट कांग्रेसले विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा एकअर्काप्रति आशंका झन् बढ्यो ।

त्यसको मारमा आफूहरु परेको रास्वपाका नेताहरु बताउँछन् । उनीहरुका अनुसार रास्वपालाई ४ मन्त्रालय दिने सहमति भएको थियो । तर सुरुमा मन्त्रीहरुको नियुक्तिमा आनाकानी भयो, बल्ल बल्ल मन्त्रिपरिषद् विस्तार हुँदा पनि रास्वपाले ३ मन्त्री र एक राज्यमन्त्री मात्र पायो । रास्वपाका एक सांसद भन्छन्, ‘राष्ट्रिय योजना आयोगको नियुक्तिमा हामीसँग कुनै सल्लाह भएन । हामीले जिम्मेवारी पाएको मन्त्रालय मातहतका नियुक्तिमा समेत हस्तक्षेप हुन थाल्यो ।’

त्यही बेला (१३ माघमा) नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि रवि उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भए । दुई दिनपछि पुनः नेपाली नागरिकता लिएका रवि फेरि सरकारमा फर्किन चाहन्थे । प्रक्रियागत त्रुटिका कारण सांसद पद खारेज भएकाले फर्किन मिल्न भन्ने लागेको रवि स्वयंले आइतबार पत्रकार सम्मेलनमा स्वीकार गरेका छन् । उनले भने, ‘त्यसमा मेरो सासै अड्किएको चाहिँ थिएन ।’

प्रधानमन्त्री प्रचण्डले भने रविलाई फर्काउन चाहेनन् भने रास्वपाका अरु सांसदलाई पनि गृहमन्त्री दिन नसक्ने बताए । ‘उच्चस्तरीय राजनीतिक संयन्त्रले गृह मन्त्रालय हामीलाई दिएको थियो’, रास्वपाका एक सांसद भन्छन्, ‘कानुनी अड्चन आउनासाथ तपाईंलाई पो दिएको, अरुलाई नहोला भन्न थाल्नुभयो ।’

त्यसै पनि हतारिएर सरकारमा गएको भन्दै पार्टीमा सानै स्वरमा भए पनि असन्तुष्टि थियो । रास्वपा नेताहरुका अनुसार बढ्दो अविश्वासका कारण सत्तारुढ गठबन्धन कुन बेला भत्किने हो भन्ने टुंगो छैन । त्यसमाथि दुई ठूला दल एमाले र माओवादीको झगडामा आफूहरु पेलिँदै जाने देखेको नेताहरु बताउँछन् । एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमा आफूहरुप्रति देखाएको जस्तो माया सत्ता गठबन्धनका बैठक तथा छलफलमा नपाएको नेताहरुको गुनासो छ ।

‘सरकारमा गएको २०/२२ दिनमै काम गर्न सकिन्छ कि सकिन्न भन्ने त निष्कर्षमा पुग्न सकिन्न । तर हाम्रा मन्त्रीहरुले सिंहदरबार सोचेको जस्तो रहेनछ भन्न थालिसक्नुभएको थियो’, रास्वपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘हिजोको सहमतिअनुसार गृह मन्त्रालय पनि नदिने भनेपछि बस्नु हुन्न भन्नेमा पुग्यौं ।’

पार्टीको निर्णयसँगै शिक्षामन्त्रीबाट राजीनामा दिएका रास्वपा सांसद शिखर खनाल जुन सहमतिका साथ सरकारमा गएको हो, त्यसमा बिचलन आउन थालेको महसुस भएको बताउँछन् । उनले अघि भने, ‘ठूलो पार्टीहरुबीचको शक्ति संघर्ष पनि छँदैछ । यस्तो बेला हाम्रो कारणले राजनीतिक कोर्स नयाँ ढंगले अगाडि बढ्ने अवस्था नबनोस् भन्ने सुझबुझका साथ निर्णय लिएका हौं ।’

नेताहरूका अनुसार शनिबार साँझ भएको छलफलमा पार्टीका सबै नेताहरु सरकार छाड्ने मनस्थितिमा पुगेका थिए । आइतबार समर्थन समेत फिर्ता लिने कि सरकार मात्र छाड्ने भन्ने छलफल भयो । समर्थन पनि फिर्ता लिँदा गठबन्धन भत्काएको अपजस आउने भएपछि सरकार मात्र छाड्ने निर्णय गरेको नेताहरु बताउँछन् ।

सांसद मनिष झा पनि सरकार छाड्ने, तर समर्थन कायमै राख्ने निर्णय रणनीतिक भएको स्वीकार गर्छन् । उनी भन्छन्, ‘हामीले मैत्रीपूर्ण टेबल टेनिस खेलिरहेका थियौं । उहाँहरुले त चेस खेल्न थाल्नुभएपछि हामीले पनि चेस नै खेल्ने निर्णय गरेका हौं ।’

डेढ महिनामै सत्तामा फुट

रास्वपाले सरकार छाडेसँगै १० पुसमा बनेको सत्ता गठबन्धनमा फुट आएको छ । भलै रास्वपाले समर्थन कायमै राखेका कारण प्रधानमन्त्री प्रचण्डले संसदमा फेरि विश्वासको मत लिनु पर्दैन । तर पहिलो चुनावमै १९ सिट (रवि पदमुक्त भएपछि) भएको संसदको चौथो दलले सरकारमा सहभागी भएको डेढ महिनामै सरकार छाड्नु उनका लागि सकारात्मक होइन ।

प्रचण्डले भने फेरि रास्वपासँग सम्वाद गर्ने बताएका छन् । ‘सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने नै हो मेरो’ आइतबार संघीय संसद भवनमा पत्रकारहरुसँग प्रचण्डले भने, ‘अदालतको निर्णयपछि पक्कै पनि उहाँहरु (रास्वपा)लाई अलि असहज त भएकै थियो । अब उहाँसँग (रवि लामिछानेसँग) फेरि भेटेर कुरा गर्छु ।’

माओवादी नेताहरु भने हतार नगर्ने बताउँछन् । उनीहरुका अनुसार अहिले रास्वपाले छाडेका मन्त्रालयहरुमा जनता समाजवादी र एकीकृत समाजवादीलाई ल्याउने विकल्प खुला छ । तर राजनीतिक परिस्थितिलाई हेरेर राष्ट्रपति निर्वाचनसम्म पर्खिने सम्भावना रहेको माओवादीका एक पदाधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?