१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बुधबार दिनभर बयान लिएको थियो । बयानका लागि उनलाई नख्खु कारागारबाट बिहान सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको थियो ।
उनले बयानपछि आफ्ना शुभचिन्तकसँग छोटो प्रतिक्रिया दिए । प्रहरीकै भ्यानभित्र रहेका उनलाई शुभचिन्तकले केही बोलिदिन आग्रह गरेका थिए ।
सो क्रममा उनले भनेका छन्, ‘समय आउँदैछ ।’
जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।
रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुन: कारागारमै फर्किएका थिए ।
आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।
प्रतिक्रिया 4