+
+

‘बहिष्कार’को चर्चाबीच ज्योति मगरको चुनौती : हिम्मत भए रोकेर देखाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १३:०६
गायिका ज्योति मगर । फाइल तस्वीर

काठमाडौं । गायिका ज्योति मगर यतिबेला अर्घाखाँची महोत्सवलाई लिएर चर्चामा छिन् । उक्त जिल्लाका संगीतसम्बद्ध १० संघसंस्थाले मगर सहभागी हुने महोत्सवमा आफूहरुले भाग नलिने भन्दै बहिष्कारको घोषणा गरेपछि ज्योति आक्रोशित भएकी हुन् ।

आफूलाई बहिष्कार गर्ने ती संघसंस्थालाई आफू एक्लैले ‘बहिष्कार’ गर्ने भन्दै ज्योतिले हिम्मत भए रोकेर देखाउन चुनौती दिएकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले बहिष्कारको बाबजुद सोमबार अर्घाखाँची महोत्सवमा प्रस्तुति दिने समेत जनाएकी छन् ।

उनी लेख्छिन्, ‘हिम्मत छ भने मलाई रोकेर देखाउनुस् । म भोलि अर्घाखाँचीमा आफ्नो प्रस्तुति दिंदैछु । म ज्योति मगर र मेरो दायित्व दर्शक–श्रोताको मनोरञ्जनको साथै मजस्ता हजारौं युवतीहरु जो सामाजिक कुसंस्कारको सिकार भई आफ्नो इच्छा, आकांक्षा र अधिकारबाट वञ्चित छन् उनीहरुलाई मार्गदर्शन गर्नु पनि हो । म अहिले पूर्वको उर्लाबारीबाट प्राइभेट कारमा चढी करिब १५–१६ घण्टाको यात्रा तय गरी आउँदैछु अर्घाखाँचीमा । सक्छौ भनेर रोकेर देखाउनु । (हात्ती चल्यो बजार, कुकुर भुके हजार) ।’

अर्घाखाँचीका १० संघसंस्थाले विज्ञप्ति जारी गर्दै मेला महोत्सव र सांस्कृतिक कार्यक्रममा मगरले गाउने गीत र नृत्यले नेपाली मौलिक कला संस्कृतिको पक्षमा सुखद् सन्देश दिन नसक्ने बताएका थिए । साथै, मौलिक पहिरनमा उपस्थित भएर प्रस्तुत हुन पनि ती संस्थाले ज्योतिलाई आग्रह गरेका छन् ।

यसरी विज्ञप्ति जारी गर्नेहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद्, सांस्कृतिक संरक्षण मञ्च, नेपाल सांस्कृतिक संघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्त जनसांस्कृतिक अभियान, अर्घाखाँची सांस्कृतिक परिवार र लोकसंस्कृति संरक्षण अभियन्ता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?