+
+
Shares

गर्भवती सिर्जना : बाढीले घर गुमाइन्, स्कुलको चिसो कोठामा बस्छिन् (भिडियो)

सिर्जनाको नियमित स्वास्थ्य परीक्षण गर्ने समय भएको छ । तर बाढीले विस्थापित भएपछि अस्पताल जान पाएकी छैनन् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ १७ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोट त्रिशूलीकी २७ वर्षीया सिर्जना नगरकोटी ७ महिनाकी गर्भवती छिन् र १० भदौको बाढीपछि बच्चा चलेको अनुभव छैन।
  • बाढीले घर, मासु पसल र २०० वटा बंगुर बगाएपछि उनी विदुर नगरपालिका–८ भैरुम माध्यमिक विद्यालयको कक्षामा विस्थापित भएर बसेकी छिन्।
  • सिर्जनाले नियमित स्वास्थ्य परीक्षण गर्न नपाएको, पोषणयुक्त खाना र बसोबासको समस्या भएको तथा रकम र सुनसमेत बगेको बताइन्।

१७ भदौ, नुवाकोट (त्रिशूली) । नुवाकोट त्रिशूलीकी २७ वर्षीया सिर्जना नगरकोटी ७ महिनाकी गर्भवती छिन् । १० भदौपछि पेटमा भएको बच्चा चलेको अनुभव नभएको उनले सुनाइन्।

बाढी आएको दिन उनी घरमै थिइन् । बाढीको सूचना पाएपछि सबै भाग्न थाले । कोलाहल मच्च्यिो । घरमै बाढी आइपुग्यो । ज्यान जोगाउन दौडिनुको विकल्प थिएन । भागदौड मच्चिँदा उनी लडिन्। ‘अस्ति लडेको भएर पेटमा बच्चा चलेको छैन,’ उनले भनिन् ।

सिर्जनाको नियमित स्वास्थ्य परीक्षण गर्ने समय भएको छ । तर बाढीले विस्थापित भएपछि अस्पताल जान पाएकी छैनन् ।

उनको बास अहिले नुवाकोट विदुर नगरपालिका–८ भैरुम माध्यमिक विद्यालयको कोठामा छ । जहाँ बाढीबाट विस्थापित भएकालाई राखिएको छ ।

विद्यालयको कोठाकोठामा बाढीबाट विस्थापितहरू छन् । कोठामा नअटेकाहरू विद्यालयको बाहिर छिँडीमा समेत आश्रय लिएर बसेका छन् ।’

‘त्रिशूली बजारमा घर थियो, बाढीले बगायो । घरमा केही बाँकी छैन । चिसो कक्षा कोठामा बसेको छु । कोठाको चिसोले पेटको बच्चालाई झन् असर परेको छ,’ सिर्जनाले भनिन्

विस्थापितहरूलाई विद्यालयमा सामूहिक खानाको व्यवस्था गरिएको छ । तर गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई थप समस्या भएको उनको गुनासो छ ।

‘पोषणयुक्त खानेकुरा छैन । लाइनमा बसेर खानुपर्छ । अस्पताल जान पाएको छैन । हामीलाई धेरै गाह्रो भइरहेको छ,’ उनले आफ्नो समस्या सुनाइन् ।

सिर्जनाको त्रिशूलीमा मासु पसल र बंगुर फार्म थियो । श्रीमान् र उनी मिलेर व्यवसाय गरेका थिए । तर बाढीले बगाएपछि विद्यालयमा आश्रय लिएर बस्नु परेको छ ।

‘२०० वटा बंगुर थिए, ती पनि बगाए,’ उनले भनिन्, ‘अहिले खान र बस्नेकै समस्या भएको छ । मेरा श्रीमान् र एक छोरी छन् ।’

सिर्जनाले स्वास्थ्य उपचारको लागि जोहो गरेको पैसासमेत त्यस दिन निकाल्न भ्याइनन् । ‘पैसा र केही सुन थियो । सबै बगायो । अहिले जे लगाएको छु, त्यति मात्र हो,’ उनले भनिन्, ‘सुत्केरी हुने समय नजिकिँदै छ । कहाँ बस्ने, के गर्ने कुनै ठेगान छैन ।’

तस्वीर/भिडियो- चन्द्रबहादुर आले/अनलाइनखबर

रसुवा बाढी
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?