+
+

पप्पुले गुणस्तरहीन सामग्री प्रयोग गरेपछि सिर्सिया खोलाको पुल निर्माण रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १९:४८

२३ माघ, वीरगञ्ज ।  गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको वीरगञ्ज महानगरपालिका–२५ मौजे सिर्सिया टोलस्थित सिर्सिया खोलाको पुलको काम रोकिएको छ ।

सोमबार वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अनुगमनका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको देखेपछि उक्त योजना कार्यान्वयन गरिरहेको सघन सहरी विकास आयोजना कार्यालयलाई खबर गरेका थिए । त्यसपछि आयोजना कार्यालयले पुल निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

कार्यालयका प्रमुख झपटबहादुर थापाले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको जानकारी आएपछि काम रोकेको जानकारी दिए । ‘मेयर साबले फोन गरेपछि कार्यालयबाट हाम्रा इन्जिनियरहरु पनि साइटमा पुगे । त्यहाँ गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि ठेकेदार कम्पनीलाई काम रोक्न भनेका छौं’ उनले भने ।

गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरेका संरचना हटाउन र पुनः बनाउन लगाउने ठेकेदार कम्पनीलाई निर्देशन दिएको उनको भनाइ छ ।

ठेकेदार कम्पनीले बालुवा प्रयोग गर्न पर्नेमा पांगो माटो प्रयोग गरेर ढलान गर्न लागेको भेटेपछि काम रोक्न लगाइएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

‘२०७४ मै पुल निर्माणका लागि ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले निर्माण अलपत्र पारेर छाडेको थियो । मेयर साबले नै पहल गरेर काम गर्न लगाउनुभएको हो’, उनले भने ‘तर आज स्थलगत अनुगमनका क्रममा जाँदा गुणस्तरहीन सामाग्री प्रयोग गरेको पाइयो ।’

यो पुल निर्माण सुरु भएको ५ वर्ष भइसक्यो । खोला तर्न नसकेर वर्षायाममा यहाँका वासिन्दाले भोग्नुपर्ने सास्ती हटेको छैन । मौजे सिर्सिया र आसपासका क्षेत्रका बासिन्दा यही बाटो भएर वीरगञ्ज बजार आउनुपर्छ । दैनिक सयौं मानिस आवतजावत गर्ने सडकमा पुल नबनेपछि स्थानीय वासिन्दा हैरान छन् ।

वीरगञ्ज–२५ का वडा अध्यक्ष आशुतोष चर्तुवेदी ठेकेदार कम्पनीको लापरबाहीले पुल नबनेको तर गाली आफूहरुले सुन्नु परेको बताउँछन् । ‘पुल नबन्दा वडाबासी हैरान छन्, विद्यार्थीलाई वर्षायाममा विद्यालय जान गाह्रो छ । हामीकहाँ दिनहुँ गुनासो आउँछ’, उनले भने, ‘वर्षायाममा मान्छे लडिरहेका हुन्छन्, ठेकेदारले काम सम्पन्न गर्दैन, जनताले हामीलाई गाली गर्छन् ।’

सघन सहरी तथा भवन निर्माण कार्यालयले वीरगञ्ज महानगरपालिकाका विभिन्न १६ वटा सडक निर्माण तथा स्तरोन्नति गर्न ९ जेठ २०७५ मा ठेक्का लगाएको थियो । ७५ करोड २० लाख ८२ हजार ५०५ रुपैयाँमा २४ किलोमिटर सडक निर्माणका लागि स्वच्छन्द÷पप्पु÷युनाइटेड विल्डर्स जेभीले ठेक्का पाएको थियो । २ जेठ २०७७ मा सक्नुपर्ने गरी ठेक्का लगाइएको उक्त सडकको काम भने पप्पु कन्स्ट्रक्सनले गरिरहेको छ ।

कार्यालयका इन्जिनियर विवेक नेपालका अनुसार सिर्सिया खोलामा पुल निर्माण गर्ने काम पछि थप गरिएको बताए । ‘पहिलेका योजनामा ह्युमपाइप राखेर ३ मिटरको कल्र्भट बनाउने मात्रै थियो, तर सिर्सिया खोलामा पुल नै बनाउनुपर्ने देखियो’, उनले भने ‘सुरु ठेक्कामा नभएको काम निर्माण कम्पनीलाई लगाएका थियौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?