+
+

मनिष राई, जो आफ्नो खर्च कटाएर सडक कुकुरलाई खाना खुवाउँछन्

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ माघ २४ गते १६:५६

काठमाडौं । गत वर्ष काठमाडौं महानगरपालिकाले निकालेको तथ्यांकअनुसार महानगर क्षेत्रभित्र करिब २२ हजार सडक कुकुर बेवारिसे अवस्थामा छन् । काठमाडौंमा मात्र होइन देशभर नै हजारौं कुकुर बेवारिसे अवस्थामा छन् ।

सडकका यी कुकुर रोग, भोक र असुरक्षासँगै कष्टकर जीवन बिताइरहेका छन् । अकालमै ज्यानसमेत गुमाइरहेका छन् । कुकुरको औसत आयु १५ वर्ष हो । तर सहरका सडक कुकुरहरू ५-६ वर्षसम्म पनि बाँच्न पाउँदैनन् ।

लकडाउनको समयमा त सडक कुकुरको अवस्था झन् दयनीय बन्यो । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गर्दा मान्छे नै घरभित्र थुनिएर बस्नुपर्‍यो । पसल, होटल–रेस्टुरेन्ट सबै बन्द भए ।

मान्छेकै भरमा बाँचिरहेका सडक कुकुरहरू लकडाउनका कारण भोक र तिर्खाले छटपटाए । सडक कुकुरको नाजुक अवस्था देखेपछि सडकमा निस्किए मनिष राई ।

लकडाउनका बेला राईजस्तै थुप्रै व्यक्ति र संघसंस्थाले सडक कुकुरलाई खाना खुवाउने अभियान नै चलाए । तर जसै लकडाउन सकियो, धेरैले सडक कुकुरलाई खाना खुवाउने काम रोके । तर राईले लकडाउनपछि पनि यो कार्यलाई निरन्तरता दिइरहे । उनलाई सानैदेखि जनावर एकदमै मन पथ्र्यो । आफ्नो घर वरपरको कुकुरलाई उनले खाना र पानी दिने गर्थे । कति सडक कुकुरलाई त उनले घरमै पालेका पनि छन् ।

उनी अहिले बसुन्धारा, नयाँ बसपार्क, बालाजु, चक्रपथ, बालुवाटार, जमल, न्युरोड, रत्नपार्क र सिंहदरबारलगायत ठाउँका कुकुरलाई खाना दिने गर्छन् । साँझ ५ बजेपछि सडक कुकरहरू उनको प्रतीक्षामा बसिरहेका हुन्छन् । उनको गाडी देख्ने बित्तिकै दौडिंदै पछि लाग्छन् ।

सिंहदरबार वरपर रहेका धेरै कुकुर उनमा आश्रित छन् । तर केही समयदेखि सिंहदरबार दक्षिण गेटमा कुकुरलाई खाना खुवाउन रोक लगाइएको छ । दक्षिण गेटमा कुकुरलाई खाना खुवाउन नदिएकोमा चित्त दुखाउँदै उनी भन्छन्, ‘भीआईपी एरिया हो त्यसैले त्यहाँको कुकुरहरूलाई महानगरले उठाएर टेकुमा लगेर राखेछ । सडक कुकुरहरू स्वतन्त्र हुन्छन् उनीहरूलाई थुनेर राखेको मन पर्दैन, थुनेर चिसो ठाउँमा राख्दा कति कुकुर त मरेछन् ।’

राई आफ्नो खर्चबाट कटाएर कुकुरको लागि खाना जुटाउँछन् । ‘पहिला म धेरै मद्यपान गर्थें, त्यही कटाएर कुकुरका लागि खाना जुटाउँछु, कहिलेसम्म सकिन्छ दिन्छु,’ उनी भन्छन् ।

उनी दैनिक १०० देखि १५० वटा सडक कुकुरलाई खाना खुवाउँछन् । सडक कुकुरको संख्या बढेको बढ्यै गरेको र बन्ध्याकरण गर्ने काम प्रभावकारी ढंगले नभएकोमा उनी चिन्तित छन् ।

‘सडक कुकुरहरूलाई सबैले हेला गर्छन् । उनीहरू सुतिरहेका छन् भने पनि लात्तीले हानेर हिंड्छन् । कतिलाई त गाडी तथा मोटरसाइकलले ठक्कर दिएर जाने गर्छन् । हामी मान्छे पो मलाई भोक लाग्यो, दुख्यो भन्न सक्छौं,’ राई भन्छन्, ‘उनीहरूले मलाई दुख्यो, भोक लाग्यो पनि भन्न सक्दैनन् । त्यसैले कुकुर मन पर्दैन भने बरु वास्तै नगरौं, उनीहरूलाई पीडा नदिऔं ।’

सडक कुकुरको व्यवस्थापन गर्न महानगरपालिका मात्र होइन, अन्य नगरपालिका पनि लाग्नुपर्ने उनी बताउँछन् । ‘हामी जस्तो जनावरलाई माया गर्ने व्यक्तिहरुसँग पनि सहकार्य गर्‍यो भने काम झन् सहज हुन्छ,’ राई भन्छन् ।

सडक कुकुरलाई व्यवस्थापन गर्नका लागि उनीहरूलाई सेल्टरमा लगेर राख्नु उपयुक्त नहुने उनको सुझाव छ । कुकुरलाई उ जन्मेको हुर्केको ठाउँमा नै बन्ध्याकरण र रेबिजको खोप दिइयो भने उनीहरूको व्यवस्थापन हुन सक्ने राई सुझाउँछन् ।

तस्वीर/भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?