+
+

स्पट फिक्सिङमा संलग्नको आरोपमा वीरगञ्जका क्रिकेटर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते २१:०२

२४ माघ, काठमाडौं । नेपाल टी–२० लिगको ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोप लागेका थप एक जना खेलाडी पक्राउ परेका छन् । वीरगञ्जमा स्थानीय टिमबाट क्रिकेट खेल्दै आएका खेलाडी नितेश गुप्ता पक्राउ परेका हुन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले केही दिनअघि पक्राउ परेर काठमाडौं ल्याएको हो । गुप्ताको एक जना राष्ट्रिय टोलीका क्रिकेटरसँग राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धका आधारमा उनले राष्ट्रिय टोलीका क्रिकेटरलाई फिक्सिङका लागि ‘हिट विकेट’ गर्न एप्रोच गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

तर, ती सदस्यले उनको प्रस्ताव मानेका थिएनन् । बरु अन्तर्राष्ट्रिय क्रिकेट कमिटी (आईसीसी) को एन्टी करप्सन युनिट (एसीयू) लाई गरेको ब्यूरोका एक अधिकृतले बताए । उनले दिएकै सूचनाका आधारमा प्रकरणमा गुप्ताको संलग्नता खुलेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो ।

उनले एक जना भारतीय नागरिकले अह्राए अनुसार फिक्सिङका लागि एप्रोच गरेको अनुसन्धान अधिकृतहरुको भनाइ छ । प्रहरीले ती भारतीय नागरिकबारे पनि अनुसन्धान गरिरहेको छ । फिक्सिङ गराएवापत प्रति हर्कत ३ लाख रुपैयाँका दरले रकम दिने खेलाडीहरुलाई प्रस्ताव गरिएको अधिकृतहरु बताउँछन् ।

सीआईबीले १० माघमा फिक्सिङमा संलग्न रहेको आरोपमा राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । सीआईबीका अनुसार फिक्सिङमा ११ जनाको संलग्नता देखिएको छ । तीमध्येका एक जना गुप्तालाई प्रहरीले हालै पक्राउ गरेको हो ।

यो प्रकरणमा वेस्ट इन्जिडका खेलाडी आन्द्रा म्याक्कर्थीसहित नेपाल क्रिकेट संघ (क्यान) को रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टस्का प्रमुख जतिन अलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सक्लानीसहितका व्यक्तिहरु फरार छन् ।

सीआईबीले अनुसन्धान थलोपछि उनीहरु सुरक्षा चुनौती भएको दाबी गर्दै १८ पुसमा भारततिर भागेका थिए । खेलमा फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि गृह मन्त्रालयले पनि अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

ब्यूरोले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो । अनुसन्धान समितिले क्यानको भूमिकामाथि पनि प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?