+
+

प्रकृति र मानिसबीचको विश्वयुद्ध

पृथ्वीको तापक्रम बढिरहेको छ । यससँगै पृथ्वीमा हुने प्राकृतिक र जैविक प्रकोपहरू बढिरहेको छ । वैज्ञानिकहरूका अनुसार यसको कारक वातावरण प्रदूषण नै हो । यसलाई रोक्न कडा कदम नचालिए पृथ्वीमा मानवजाति जिउने वातावरण बाँकी रहनेछैन ।

डा. दिपराज थापा डा. दिपराज थापा
२०७९ माघ २५ गते १८:३९

पहिलो र दोस्रो विश्वयुद्ध सक्किएपछि पनि विभिन्न राष्ट्रबीचको शक्ति प्रदर्शन गर्ने युद्धहरू चलिरहेका छन् । दृश्य के फरक छ भने अब आधुनिक हतियारको ठाउँ आणविक हतियारले लिने जोखिम बढेको छ । विशेषतः युक्रेनसँगको लडाईमा रसियाले युरोप र अमेरिकाको हस्तक्षेप भएमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएको छ ।

यी हुने र भइरहेका युद्धहरूमा विशेषतः आधुनिक र आणविक हतियारको आडमा प्रतिष्पर्धा हुने देखिन्छ । आफू सबैभन्दा शक्तिशाली बन्ने होडबाजीमा अमेरिकालाई टक्कर दिन रसिया, चीन, उत्तर कोरिया र इरान लगायतका राष्ट्रहरू अघि सरेको देखिन्छ । यस्ता युद्धहरूले मानव जीवनमा जहिले पनि नकारात्मक प्रभाव पारेको हुन्छ।

रसिया-युक्रेन युद्धले युद्धरत भूगोगको सीमा नाघेर पूरै युरोपमा आर्थिक संकट र मन्दी नै देखापरेको छ । यी शक्ति प्रदर्शनको युद्ध बाहेक प्राकृतिक प्रकोप, जलवायु परिवर्तन अनि विभिन्न भाइरस र ब्याक्टेरियाले उत्पन्न गराउने महामारी पनि यी विश्वयुद्ध भन्दा पटक्कै कम छैनन् ।

फरक यत्ति छ, हतियार र शक्ति प्रदर्शन धेरै राष्ट्रको मुख्य अङ्ग बन्दै गएको छ भने प्राकृतिक प्रकोप, जलवायु परीवर्तन र किटाणुहरूसँगको लडाईंमा धेरै शक्तिशाली राष्ट्रहरूको ध्यान कम हुँदै गएको देखिन्छ ।

वैश्विक तापमान वृद्धिले जलवायु प्रदूषण बढिरहेको छ । मानिसले यसमा ध्यान दिन नसक्दा प्राकृतिक प्रकोपका घटनाहरू बढ्दै गएका छन् । बिस्तारै सारा पृथ्वीकै अस्तित्व समेत समाप्त हुन सक्ने आकलन जलवायु विशेषज्ञ र वैज्ञानिकहरूले गरिरहेका छन् ।

डा. दिपराज थापा

यो एकप्रकारले प्रकृति-मानवबीच चलिरहेको विश्वयुद्ध हो । साथै, अहिले विश्वभरी बढ्दै गएको युद्ध सूक्ष्म किटाणु (ब्याक्टेरिया र भाइरस) सँगको हो जुन शक्तिशाली हतियार प्रदर्शन गर्ने विश्वयुद्ध भन्दा कम छैन ।

हामीले सुने/बुझेकै विषय हो- ग्रीनहाउस इफेक्ट । सामान्य भाषामा ग्रीनहाउस इफेक्ट भनेको पृथ्वीको तापक्रममा वातावरणबाट परेको असर हो । पृथ्वीको सतहमा जम्मा भएको तापक्रम अन्तरिक्षमा नपुगी भित्री वायुमण्डलमै अडिएर हावा तातो बनाई पृथ्वीको पूरै सतह तातो बन्नु हो ।

अहिले वास्तवमै सन् १९४० देखि पृथ्वीको तापक्रम लगातार बढिरहेको छ । वैज्ञानिकहरूले तापक्रम वृद्धि उनीहरूले सोचेभन्दा धेरै छिटो भएको बताएका छन् भने वातावरण र जलवायु प्रदूषण रोक्न तत्काल कडा कदम नचाले सारा पृथ्वीकै अस्तित्व बिस्तारै सकिने कुराको चेतावनी पटकपटक दिइसकेका छन् ।

सबैभन्दा ठूलो कुरा जलवायु प्रदूषण रहेको छ भने प्राकृतिक प्रदूषणले पनि पृथ्वीलाई नकारात्मक असर पुर्‍याउँछ। सामान्यतया प्रकृतिमा भएका र हुर्केका या मरेका चिजबिजहरूले वनस्पति, किरा, जीवजन्तुहरूमा एउटा सन्तुलित चक्र कायम गरेको हुन्छ ।

अहिले विश्वभरि नै प्रकृतिमा विलय नहुने र प्रकृतिभित्र वनस्पति र जीवजन्तुहरूलाई नकारात्मक असर पुर्‍याउने चिजबिजहरू हिफाजत नगरी मनपरी फालिनुले ठूलो समस्या ल्याएको छ ।

धेरैजसो विकासोन्मुख देशहरूमा फोहोर व्यवस्थापन र पुर्नप्रयोग व्यवस्थित नहुँदा प्रकृतिमा धेरै चिजबिजहरू सञ्चय गर्न धेरै लामो समय लाग्ने र तुरुन्तै प्रकृतिलाई नकारात्मक असर पर्ने हुन्छ। फोहोरको सही व्यवस्थापन नहुनु र प्रकृति प्रदूषण सम्बन्धि न्यून चेतना हुनुले प्रकृतिको संरचना नै खलबलिएको हुन्छ ।

हरेक व्यक्तिले गरेको व्यवहारले अन्ततः धेरै ठूलो असर पार्दछ। प्रकृतिमा फालिएका चीजबीजले प्रकृति नष्ट गराउँदै जान्छ र वनस्पतिहरू मासिंदै जान्छ। जब वनस्पति मासिन्छ, तब पृथ्वीको वातावरणमा कार्बनडाइअक्साइड बढ्ने गर्छ ।

वनस्पति जति धेरै भयो, त्यति नै कार्बनडाइअक्साइडको खपत बढी हुने भएकोले वातावरणमा यसको सकारात्मक प्रभाव पर्छ । प्रकृति र जलवायु प्रदूषणको उपज प्राकृतिक प्रकोपहरू रहेको वैज्ञानिकहरूले ठोकुवा गरिसकेका छन्।

त्यसो त, जलवायु प्रदूषणमा सवारी साधन, हवाईजहाज र ठूलाठूला कलकारखाना र कम्पनीबाट बाहिरिने कार्बनडाइअक्साइड ग्यासको भूमिका सबैभन्दा ठूलो रहेको पाइएको छ । हुन त विकसित भनिने ठूला राष्ट्रहरू अमेरिका, भारत, चीन र रसिया विश्वको अधिकांश प्रदूषणको लागि जिम्मेवार छन् । त्यहाँ रहेका धेरै कम्पनीहरू कार्बनडाइअक्साइड प्रदूषणका कारक बनेका छन्।

पृथ्वीको तापक्रम बढिरहेको छ । यससँगै पृथ्वीमा हुने प्राकृतिक र जैविक प्रकोपहरू बढिरहेको छ । वैज्ञानिकहरूका अनुसार यसको कारक वातावरण प्रदूषण नै हो । यसलाई रोक्न कडा कदम नचालिए पृथ्वीमा मानवजाति जिउने वातावरण बाँकी रहनेछैन । जैविक विविधताको तीव्र गिरावटले स्पष्ट रूपमा यसको संकेत गरिरहेको छ । विश्व मानव समुदायको लागि विश्वयुद्ध भन्दा धेरै खतरनाक अवस्था सृजना हुने स्थिती देखापरिरहेको छ ।

वातावरण संरक्षण गर्दै प्रदूषण न्यूनीकरण गर्न विश्वका कतिपय देशहरूले राम्रा काम पनि गर्दै आएका छन् । प्रयोगमा नआएको कागज, प्लास्टिक, सिसाहरू लगायत अन्य प्रकृतिमा विलय नहुने वस्तुहरूको पुनः प्रयोग (रिसाईकल) हाम्रो जीवनशैली बन्नुपर्छ । उचित फोहोर व्यवस्थापन, विद्यतीय प्रविधिमा आधारित सवारीको प्रयोगमा जोड दिनुपर्छ ।

अहिले युद्धका कारण रसियाले युरोपेली राष्ट्रहरूलाई ग्यास आपूर्ति रोकेको छ । यसले युरोपभरि नै ग्यास र विद्युतको अभाव बढेको छ । बन्द भैसकेका कोइलाखानीहरू पुनः खुल्न थालेका छन् । वातावरण प्रदूषणविरुद्ध आवाज उठाउँदै आएकी वातावरण कार्यकर्ता ग्रेटा थनबर्ग जर्मनीमा सञ्चालित कोइलाखानीको विरुद्ध त्यहीँ नाराजुलुस र हड्ताल गर्न पुगिन् ।

प्रहरीले उनलाई समातेर घर फर्कायो । यद्यपि यो कोइला खानी अहिलेको विद्युतीय संकट टार्न मात्र हो भन्ने जर्मनले स्पष्ट पारेको छ । त्यसो त, अबको २० वर्षभित्रै युरोपको सम्पूर्ण ऊर्जा पुनःप्रयोग गर्न मिल्ने र विद्युती बन्ने यूरोपियन युनियनले बताएको छ ।

नेपालमा भने वातावरण संरक्षणमा सरकारको न्यून प्राथमिकता दिएको देखिन्छ । सवारी साधनबाट निस्कने धुँवाधुलो र जताततै फालिने फोहोर नेपालको जलवायु तथा प्राकृतिक प्रदूषणको मुख्य स्रोत बन्दै आएको छ ।

नागरिकको न्यून चेतना, सरकारको कमजोर व्यवस्थापन प्रदूषण न्यूनीकरणमा मुख्य बाधक देखिएको छ । जलस्रोतमा धनी भएकोले विद्युतीय प्रविधिमा निर्भर हुन संभव छ । सौर्य ऊर्जाको अनुकूलता पनि हामीसँग छ । नेपालको हकमा नेपाली जनता र सरकार दुवै जिम्मेवार बने वातावरण र जलवायु प्रदूषणमा सकारात्मक प्रभाव पुग्न सक्छ ।

आजभोलि नेपालमै विद्युतीय प्रविधिबाट सवारी साधन बनाउन र चलाउन सुरु भएको छ । यसलाई थप प्रभावकारी बनाउन सरकारले नीतिगत सुधार गरी छुट र सहुलियतको व्यवस्था गर्नसक्छ । देशैभरि विद्युतीय सवारीका लागि चार्ज स्टेशन बनाउनुपर्छ ।

फोहोर न्यूनीकरण र व्यवस्थापनको प्रभावकारी कार्यक्रम लागु गर्न सक्छ । यहाँनेर जनचेतना बढाउन गर्नुपर्ने काम पनि सरकारको प्राथमिकतामा पर्नुपर्छ । राम्रा अभ्यासलाई पुरस्कृत र खराब अभ्यासलाई दण्डित गर्न पनि सरकार पछि हट्नुहुँदैन । वातावरण संरक्षणमा निर्णायक पहलकदमी लिँदै नेपालले पनि प्रकृतिसँग भइरहेको विश्वयुद्ध रोक्न सकरात्मक भूमिका खेल्न सक्नुपर्छ ।

(लेखक स्विडेनको एक विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?