+
+

बुटवल-बर्दघाट विद्युत प्रसारण लाइन आजदेखि ४ घण्टा बन्द, डिमाण्ड चार्ज छुट दिन उद्योगीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते ७:०३

२६ माघ, बुटवल । बुटवल-बर्दघाट १३२ केभी डबल प्रसारण लाइनमा बिहीबार (आज) देखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

नवलपरासी पश्चिम सुनवल नगरपालिका बडेरास्थित न्यू बुटवल सबस्टेशन नजिकै प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत प्रसारण बन्द (सट डाउन) गर्न लागेको हो ।

नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाले सार्वजनिक सूचना जारी गर्दै आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

प्रसारण लाइनमा विद्युत आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत बुटवल, सुनवल र मैनहिया (रुपन्देही) सब स्टेशनहरुबाट सञ्चालित औद्योगिक क्षेत्र तथा गाह्रस्थ उपभोक्ताहरु प्र्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सटडाउन हुँदा बुटवल औद्योगिक क्षेमा रहेका ६५ सहित देवदह, सुनवल, भुमही र बर्दघाटसम्मका करिब दुई सय उद्योगहरुमा दैनिक चार घण्टा विद्युत प्रसारण हुनेछैन । यसबाट उद्योगको उत्पादन र सयौं मजदुरको रोजगारी प्रभावित हुने बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराई बताउँछन् ।

‘एक हप्ता लामो विद्युत सट डाउनले आम सर्वसाधारणको जनजीवन मात्र प्रभावित नभई उद्योगहरूको करिब ५० प्रतिशत उत्पादन घट्ने र समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ’ अध्यक्ष भट्टराईले भने, ‘यस्तो अबस्थामा प्राधिकरणले यो अवधिको डिमाण्ड चार्ज छुट गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?