२६ माघ, धनगढी । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा २७ पुसमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिंह रावलले बिहीबार विश्वासको मत लिँदैछन् ।
रावलले दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । काठमाडौंमा रहेका नाउपाका प्रदेशसभा सदस्यहरु बैठकमा सहभागी नहुने अवस्था देखिएपछि बुधबारको बैठक स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो ।
मुख्यमन्त्री रावलले विश्वासको मत पाउने/नपाउने अझै अन्यौल छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लिने निर्णयका आधारमा मुख्यमन्त्री रावलको भविष्य तय गर्नेछ । किनभने आफ्नो पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म विश्वासको मत नदिने अडान नाउपाले लिएको छ ।
नाउपासँग सत्ता गठबन्धनका नेताहरु अन्तिम र निर्णायक छलफलमा सक्रिय छन् । सोही अन्तरगत बुधबार नागरिक उन्मुक्ति पार्टीका नेताहरुसँग प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले नाउपाका नेताहरुसँग भेटघाट गरेका थिए ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित प्रदेशसभा सदस्यहरुको उपस्थितिमा भएको भेटमा उनीहरुले रेशम चौधरीको रिहाइका लागि ठोस प्रतिबद्धता खोजेका थिए । ‘उहाँहरुलाई सरकारले चाहेर पनि अहिलेको अहिल्यै छुटाउन त सक्दैन तर सरकारले पहल गर्न ठोस प्रतिबद्धता त जनाउनुपर्यो नि,’ छलफलमा सहभागी एक प्रदेशसभा सदस्यले भने, ‘त्यो भनेको उहाँहरुले लिखित प्रतिबद्धता गर्नुपर्छ भन्ने कुरा हो ।’
नाउपा सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले पनि बुधबार भएका शीर्ष तहको भेटमा ठोस समझदारी नबनेको बताउँदै विश्वासको मतबारे अहिले भन्न सकिने अवस्था नरहेको जनाए । ‘उहाँहरु (प्रचण्ड र ओली) सँगको भेटमा हामीले हाम्रा माग, मुद्दा सम्बोधन गरिदिनुपर्यो । त्यसपछि मात्र सुदूरपश्चिममा विश्वासको मत दिन सकिन्छ भन्ने कुरा राखेका थियौं,’ चौधरीले भने, ‘उहाँहरुले प्रक्रियामा अघि बढिसकेकाले पूरा गर्छौं भन्ने आश्वासन दिनुभयो तर हामीले उधारो आश्वासन र सम्झौता मान्दैनौं भनेका छौं ।’
चौधरीले अहिले आफूहरु काठमाडौंमै रहेको बताउँदै विश्वासको मतबारेमा छलफल जारी रहेको उल्लेख गरे । सरकारबाट आफ्ना माग सम्बोधन हुने स्थितिमा भने मुख्यमन्त्री रावललाई विश्वासको मत दिने उनी बताउँछन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार विश्वासको मत लिन नसकेको अवस्थामा भने उपधारा ३ सक्रिय बन्नेछ । जसअनुसार प्रदेश प्रमुखले ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4