+
+

दर्शकको दिमागमा बसेको डनको छविलाई ‘फूलबारी’को जयनारायणले बिर्साइदिन्छ : विपिन कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते ११:२०

काठमाडौं । अभिनय गर्ने चरित्रमा ज्यान भर्न खप्पिस मानिन्छन् विपिन कार्की । उनी अभिनित करिअरका १७ भन्दा बढी फिल्म चरित्र चित्रणका हिसाबले खास महसुस हुन्छन् । घरेलु फिल्ममा मेथड एक्टिङलाई पछ्याउने विपिन अभिनित फूलबारी फागुन ५ गते रिलिजको तयारीमा छ ।

‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित परिवारिक कथावस्तुको फिल्ममा विपिन जयनारायण नामक प्रौढ चरित्रमा देखिएका छन् । वास्तविक उमेरभन्दा २५ वर्ष जेठो भूमिकामा उनी यसमा प्रस्तुत छन् । सरकारी जागिरबाट अवकाशप्राप्त कर्मचारी जो निकै आदर्शवान् र सहनशील दार्शनिक पात्र हो ।

अनलाइनखबरसँग कुरा गर्दै उनले करिअरमा फूलबारीको जयनारायण चरित्र महत्वपूर्ण खुड्किलो भएको बताए । ‘म डन र छुच्चो क्यारेक्टरमा काम गर्दै आएको एक्टर हुँ । मेरा लागि तीभन्दा पनि फूलबारीको जयनारायण विशेष हो हरेक कोणबाट,’ विपिनले भने, ‘मेरो करिअरमा अर्को एउटा खुड्किलोको रुपमा यसलाई लिएको छु ।’

दर्शक र मिडियासामु आफूलाई लिएर निर्माण भएको छविलाई फूलबारीको चरित्रले मेटाउने आशा उनको छ । ‘आफैंले गरेका अरु फिल्मको भूमिकामा आफूलाई प्रमाणित गर्नुपर्ने रोल हुन्थ्यो भने यसमा आफूले गरेको रोलभन्दा २५ वर्ष अगाडि जाँदैछु । यो कुरालाई दर्शकसामु विश्वसनीय बनाउन चुनौती थियो । मैले बडी र वाणी ल्यांग्वेज दुवैमा पनि काम गरेको छु,’ चरित्र चित्रणको अनुभव उनले सुनाए ।

समकालीन कलाकारको बुवा तथा ससुराको रोलमा अभिनय गर्नु एकखाले चुनौती रहेको उनले बताए । फूलबारीमा विपिनले समकालीन अभिनेत्री प्रियंका कार्कीको ससुराको भूमिका गरेका छन् । अर्का समकालीन कलाकारको उनी बुवा बनेका छन् । ‘दर्शकलाई नयाँ भेराइटी दिने मौका पनि पाएको छु । मैले एकदमै कोसिस गरेको छु,’ उनले भने ।

विपिनको एउटा अभिनय शैली छ जसमा उनी कुनै चरित्र निर्वाह गर्नुअघि उक्त चरित्रलाई पछ्याउँछन् । फूलबारीको जयनारायण चरित्र गर्न उनले आफ्ना बुवाको स्वभावलाई पछ्याए । ‘यो फेमिली ड्रामामा मैले बुवाले भोग्नुभएको कुरालाई सम्झाउन खोजेको छु । त्यो गर्दा मैले हरेक दिन बुवालाई सम्झिन्थें,’ विपिनले भने, ‘बुवाको स्वभावलाई पछ्याउने कोसिस गरेको छु । वास्तविक पात्रको मौलिक गुणलाई पछ्याउने मेरो स्वभाव हो ।’

विपिनले अगाडि भने, ‘त्यो मात्रै नभएर व्यक्ति परिवार घर र समाजको कथा हो । हरेक मानिसले यसलाई महसुस गर्न सक्नुहुन्छ । त्यसैले त्यसमा हजुरको कथा पनि त्यसमा छ । हामी जो पनि कुनै एउटा बिन्दुमा पुगेपछि आफैं गर्नुपर्छ भन्ने दर्शन बोकेको सहनशील उमेर पार गरेको पात्र हो जयनारायण । योे एउटा आदर्श हो । दर्शकले पनि प्रेरणा लिन सक्छन् ।’

विपिनको आगामी फिल्म ‘भगवत् गीता’ शुक्रबार (आज)देखि जनकपुरमा छायांकन हुँदैछ । यसपछि उनी ‘पशुपतिप्रसाद’को स्पिनअफ ‘भष्मे डन’मा व्यस्त हुनेछन् । त्यसपछि ‘हरि’ फेम्ड निर्माताको नयाँ फिल्म चलचित्रमा उनी व्यस्त हुनेछन् । त्यसपछि पाँच महिना अभिनयबाट विश्राम लिने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?