+
+

शाहरुखले भने-‘दिलवाले दुल्हनिया ले जायेंगे’को सट्टा ‘पठान’ हेर्न रुचि राख्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १२:१६
बलिउड अभिनेता शाहरुख खान । फाइल तस्वीर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले आफूलाई ‘दिलवाले दुल्हनिया ले जायेंगे’को सट्टा ‘पठान’ हेर्न रुचि रहेको बताएका छन् । धेरै कठिनाइको बाबजुद एक्सन हिरो बनेको उनले अब फेरि डीडीएलजेको राजा बन्ने इच्छा नरहेको बताए ।

यशराज फिल्म्सले यो भ्यालेन्टाइन सप्ताहमा भारतका ३७ सहरमा डीडीएलजे रिलिज गर्ने निर्णय गरेपछि शाहरुखको उक्त टिप्पणी आएको हो । शाहरुखले आफ्नो सोसल मिडियामा लेखेका छन् कि उनी डीडीएलजेको सट्टा पठान हेर्न जानेछन् ।

यशराज फिल्म्सले आधिकारिक सोसल मिडिया ह्याण्डलबाट लेखेको छ, ‘डीडीएलजे र पठान एकसाथ आउँदैछन् । यस भ्यालेन्टाइन हप्तामा दुवै उत्कृष्ट फिल्मको आनन्द सँगै लिनुहोस् ।’

उनी अघि लेख्छन्, ‘म धेरै कठिनाइमा एक एक्सन हिरो बनेको छु र तिमीहरु राजलाई फेरि फर्काउन चाहन्छौं, यो प्रतिस्पर्धाले मलाई बाँच्न दिने छैन, म पठानलाई मात्र हेर्न जान्छु । राज त घरकै हो ।’

यशराज फिल्म्सले एक प्रेस विज्ञप्तिमा डीडीएलजे पूणे, अहमदाबाद, सुरत, बडोदरा, फरीदाबाद, लखनऊ, देहरादून, चण्डीगढ़, गुवाहाटी, बैंग्लोर, हैदरावाद र इन्दौरजस्ता मेट्रो सहरहरूसहित देशका ३७ सहरमा पुनः रिलिज भएको जनाएको छ । डीडीएलजे एक रोमान्टिक फिल्म भएकाले यो भ्यालेन्टाइन सप्ताहमा फेरि एक पटक स्क्रिनमा हिट हुने अपेक्षा गरिएको छ ।

२० अक्टोबर १९९५ मा रिलिज भएको दिलवाले दुल्हनिया ले जायेंगे भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने फिल्म हो । यो फिल्म मुम्बईको मराठा मन्दिर सिनेमा हलमा २७ वर्षदेखि निरन्तर चलिरहेको छ । फिल्मलाई बलिउडको सबैभन्दा प्रतिष्ठित मानिन्छ । यो फिल्मपछि शाहरुख खान फिल्म इन्डस्ट्रीमा स्टारका रुपमा स्थापित भए । फिल्ममा उनको र काजोलको जोडीलाई निकै रुचाइएको थियो ।

यता पठानले दैनिक कमाइको नयाँ कीर्तिमान बनाइरहेको छ । फिल्मको हिन्दी नेट कलेक्सन ४४८.२५ करोड भारु पुगेको छ, जसले ‘केजीएफ २’ को हिन्दी संस्करणको रेकर्ड तोड्दै ‘बाहुबली २’ पछि सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । बाहुबली २ को हिन्दी संस्करणले ५१०.९९ करोड कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?