+
+
Shares

प्रचण्डले भने– जनयुद्ध माओवादीको मात्रै भएन, राष्ट्रकै सम्पत्ति भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १०:१५

१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  जनयुद्ध माओवादीको मात्रै नभई नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् ।

जनयुद्धले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक भूमिका खेलेको बताउँदै उनले त्यही ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न सरकारले फागुन १ गते सार्वजनिक विदा दिएको प्रष्टीकरण दिए ।

जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले यसलाई वैधानिक तवरबाट स्थापित गरिनुपर्थ्यो । ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन सार्वजनिक विदा दिने निर्णय गरियो ।’

‘मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो क्याबिनेटबाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन । यो अब नेपाल राष्ट्रकै सम्पत्ति भयो, आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो ।’

यसलाई ठीक ढंगले स्थापित गर्ने प्रमुख जिम्मेवारी रहेको पनि उनले बताए । ‘हामीले नै यसलाई आम जनताको बीचमा स्थापित गर्ने र यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतिर लैजाने आवश्यकता छ,’ उनले भने ।

‘असफल हुने छुट छैन’

निकै जटिल परिस्थितिबाट नेपाल सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै उनले आफूलाई असफल हुने छुट नभएकोसमेत प्रचण्डले बताए ।

उनले भने, ‘अहिले हामी सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा छौं । तपाईं हामीलाई थाहा छ अर्थतन्त्रको स्थिति के छ, राजनीतिको अवस्था के छ । सरकारको नेतृत्व गर्ने अवसरलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको छु ।’

‘हामीलाई असफल हुने बिल्कुल छुट छैन । हामीले सामाजिक न्यायको क्षेत्रमा, सुशासनको क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नैपर्ने छ । त्यसरी मात्रै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठीक ढंगले कार्यान्वयन गर्न सकिन्छ ।’

केही समयदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि कयौं कोणबाट प्रश्न उठाउने कोसिसहरु भइरहेको बताउँदै उनले भने, ‘यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्नका निम्ति दृढताको साथ अगाडि बढ्नुको कुनै विकल्प छैन ।’

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी कार्यालय परिसरमा शहीद तथा बेपत्ताहरूको स्मरणमा निर्माण गरिएको स्तम्भमा माल्यार्पण पनि गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?