
१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय समितिमा १६ जना थप गर्दा लिमा अधिकारी पनि अटाएकी छन् । उनी नेकपा एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी माइली छोरी हुन् ।
व्यवसायमा समेत आवद्ध अधिकारी लामो समय नेकपा एमालेमा सक्रिय थिइन् । ठूलोबुबा मनमोहन र बुबा भरतमोहनले अगाडि बढाएको पार्टीमा २२ वर्ष संगठित सदस्य रहेकी उनी एमालेको उद्योग विभागमा समेत थिइन् ।
माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल बनाएपछि लिमा नेकपा एकीकृत समाजवादीमा आवद्ध थिइन् । उनले आफ्ना बुबाहरुले आम नागरिकका लागि बोकेको उद्देश्य कम्युनिष्ट पार्टीबाट पूरा हुने नदेखेपछि रास्वपा रोजेको बताइन् ।
‘मैले धेरै अध्ययन गरेर, धेरै सोचेर लिएको कदम हो यो,’ अनलाइनखबरसँगको उनले भनिन्, ‘मनमोहन अधिकारी र भरतमोहन अधिकारीले तल्लो तहको जनताको उत्थानको उद्देश्य बोकेर लाग्नुभएको थियो र ठूलो योगदान गर्नु भएको थियो ।’
अधिकारीले अगाडि भनिन्, ‘अबको कम्युनिष्ट पार्टीहरुले त्यो एजेन्डा नबोकेर आफूलाई मात्र बनाउनका लागि हामी जस्तोलाई भ¥याङका रुपमा मात्रै प्रयोग गरेको जस्तो मलाई अनुभूति भएको हुनाले म नयाँ पार्टीमा लागेको हो ।’
एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य समेत रहेकी अधिकारी ४ मंसिरको प्रतिनिधिसभा बैठकमा समानुपातिकतर्फको बन्दसूचीमा थिइन् ।
नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य रहेकी उनी नेपाल पूर्वाधार विकास बैंकको निर्देशकसमेत छिन् ।
आफूमा देश र जनताको लागि केही गर्छु भन्ने हुटहुटी रहेको र रास्वपाको आर्थिक एजेन्डा समेत आफूलाई मन परेको अधिकारीको भनाइ छ । ‘अरु पार्टीले खाली घोषणापत्रमा मात्रै लेखेको तर सबै आफू बन्नलाई मात्रै तीन/चार दशकदेखि हामी जस्ता मान्छेहरु भर्याङको रुपमा प्रयोग गरेको पाएकाले पनि रास्वपा रोजेँ’, उनले भनिन् ।
प्रतिक्रिया 4