
२ फागुन, वीरगञ्ज । जनकपुरकी पत्रकार मनिका झालाई ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ वितरण गरिएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले उनलाई स्वर्ण पदक प्रदान गरेको हो ।
स्वर्ण पदक १ तोलाको छ । उनी नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष र अन्नपूर्ण पोष्ट दैनिकको मधेस प्रदेश ब्युरो प्रमुख हुन् ।
वीरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हेरक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानले वीरगञ्जको लक्ष्मणवा स्थित जेष्ठ नागरिक पार्कमा कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गरिएको थियो । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले प्रतिष्ठानको तर्फबाट स्वर्ण पदक पत्रकार झालाई प्रदान गरेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोरले काठमाण्डौं बाहिर संघर्ष गरेर समाजलाई योगदान दिने पत्रकारलाई स्वर्ण पदक प्रदान गर्ने गरिएको बताए ।
पत्रकार गोतामेले सिमान्त सहर वीरगञ्जमा बसेर मातृभूमि पत्रिकाको अन्तिम पेजमा लेख्ने गर्दथे ।
गतवर्ष सप्तरीका अग्रज पत्रकार बैजनाथ झालाई यो पुरस्कार प्रदान गरिएको थियो । त्यसअघि सप्तरीकै भोलाकुमार पासवान, झापाका केशव आचार्य, पाल्पाका मेघराज शर्मा, कञ्चनपुरका चित्राङ्ग थापा, लगायतले यो पुरस्कार पाईसकेका छन् ।
प्रतिक्रिया 4