
३ फागुन, काठमाडौं । कुखुरा र दाना व्यवसायीले कच्चा पदार्थमा भन्सार छुट र यस्तो लगानीमा सस्तो ब्याजमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह सचिवलाई भेटेर व्यवसायीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले विदेशवाट आयात हुने कच्चा पदार्थहरुमा भन्सार तथा कृषि सुधार शुल्क हटाउन र ५ प्रतिशत ब्याजमा बैंक ऋण उपलब्ध गराउन उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेल र नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीसहितको टोलीले प्रधानमन्त्रीसँग भेटेर कोभिड-१९ र रसिया-युक्रेन युद्ध तथा नेपाल राष्ट्र बैंकको लगानी नितीले व्यवसायीहरु मर्कामा परेको बताएको हो ।
भेटमा व्यवसायीहरुले दानाका कच्चा पदार्थहरु मध्ये मकैमा करिब ६० प्रतिशत र भटमास शतप्रतिशत विदेशबाट आयात गर्नु पर्ने बताएका थिए । पोल्ट्री क्षेत्रलाई थप धराशायी हुन नदिन, अर्बौंको पूँजीपलायन हुन नदिन र लाखौंको रोजगारी गुम्न नदिनका लागि अत्यावश्यक र संवेदनशील पोल्ट्री क्षेत्रको पुनर्स्थापना गर्नका लागि यस्तो माग सम्बोधन गरिनु पर्ने माग उनीहरुको छ ।
व्यवसायीहरुले विद्युत महसुलमा कृषि क्षेत्र सरह, बिजुलीमा ५० प्रतिशत शुल्क फिर्ता गर्नु पर्ने पनि उनीहरुको माग छ । नेपालको पोल्ट्री क्षेत्रलाई राज्यले उचित संरक्षण गर्न नसकेको खण्डमा करिब १ खर्ब ५० अर्ब रुपैयाँ लगानी जोखिममा पर्ने र करिब ५ लाख व्यक्तिको रोजगारी प्रभावित हुने पनि व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया 4