+
+

मन्त्रीले सडक स्तरोन्नतिको शिलान्यास गरे, ठेकेदार गायब

सुरेश बिडारी सुरेश बिडारी
२०७९ फागुन ४ गते ९:३२

४ फागुन, वीरगञ्ज । मानमत-मटिअर्वा सडकखण्ड अन्तर्गत बाराको कलैया क्षेत्रमा साढे ३ किलोमिटर सडक कालोपत्रे नहुँदा कलैया कुरुप छ । मुख्य बजार क्षेत्रको सडक नै जीर्ण हुँदा सर्वसाधरण सास्ती भोग्न बाध्य छन् ।

०७९ साउन २९ गते शनिबार तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सोही सडक तथा नाला बनाउने कार्यको शिलान्यास गरे ।

०७८ माघ २ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडक र नालाको काम ०७९ माघ १ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । सडक निर्माणपछि कलैयाको सौन्दर्य बढ्नुको साथै ट्राफिक जामको समस्या समेत समाधान हुने विश्वास गरिएको थियो ।

कलैयाबासी अब त सडक बन्ने भो भनेर ढुक्क थिए । तर त्यो भरोसा तोडिएको छ ।

गत वर्ष हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले मानमत मटिअर्वा सडकखण्डमा अधुरो रहेको खण्ड स्तरोन्नतिका लागि टेण्डर आहृवान गरेको थियो । बाँकी काम सम्पन्न गर्ने जिम्मा सप्तकोसी जलाधार/ओमसाई जेभी नयाँ बानेश्वर काठमाण्डौंले लिएको थियो । ठेकेदार कम्पनी सम्पर्क बिहिन रहेको हुलाकी राजमार्ग सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले जानकारी दिए ।

‘मुआब्जाको समस्या लगभग क्लियर नै भइसकेको छ । माघ १ गतेसम्म काम सकिसक्नुपर्ने हो, ठेकेदार सम्पर्कमा नै आउँदैन,’ उनले भने, ‘अन्तिम छलफलका लागि बोलाएको १५ दिने म्याद पनि कटिसकेको छ ।’

ठेकेदार कम्पनीले ३ प्रतिशत जति काम सम्पन्न गरेर १ करोड जति भुक्तानी बुझेर लगेको उनी बताउँछन् ।

सडक तथा नाला निर्माण कार्यका लागि ३६ करोड ५२ लाख ७८ हजार ७२४ रुपैयाँ ६० पैसा (भ्याट पिएससमेत) लागत अनुमान गरिएको थियो । तर ठेकेदार कम्पनीले १४ करोड २० लाख ९२ हजार ४०५ रुपैयाँ कममा अर्थात २२ करोड ३१ लाख ८६ हजार ३१८ रुपैयाँ ९४ पैसामा ठेक्का सकार गरेको थियो ।

ठेक्कामा ६ लेन सडक निर्माणसँगै फुटपाथ, डिभाइडर, नाला निर्माण समेतको योजना राखिएको थियो ।
३.६७८ किलोमिटर ६ लेन सडकको चौडाइ ३० मिटर छ । फुटपाथको चौडाइ २.३० मिटर छ भने मेडियन -डिभाईडर) को चौडाइ २ मिटर छ ।

ठेकेदारको १ करोड ८८ लाख जमानत तानियो

त्यसो त हुलाकी राजमार्ग सडक योजना कार्यालयले कम्पनीलाई काम गर्न ताकेता नगरेको पनि हैन । ठेकेदार कम्पनीको ब्यबहारले गर्दा कार्यालय स्वयं हैरान भइसकेको छ । जति गर्दापनि ठेकेदार कम्पनीले काम नगरेपछि उसले कारबाही थालेको छ ।

पहिलो चरणमा ठेकेदार कम्पनीको १ करोड ८८ लाख रुपैयाँ जमानत रकम तानेको छ । ठेकेदार कम्पनीले बैंकमा राखेको जमानत रकम तानेको कार्यालयका प्रमुख दारोगा प्रसादले जानकारी दिए ।

कार्य सम्पादन जमानत वापत बैंकमा रहेको ५ करोड ४८ लाख रुपैयाँ पनि तान्ने प्रक्रिया पनि सुरु गरिएको उनको भनाइ छ । नेपाल-भारत सीमास्थित मटिअर्वादेखि कलैया हुँदै पूर्वपश्चिम राजमार्ग अन्तर्गत मानमतसम्म ३० किलोमिटर खण्डको बाँकी काम ३ वर्षअघि नै सम्पन्न भएको थियो ।

नेकपा माओवादी केन्द्रका कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह कलैयाको साढे ३ किलोमिटर सडक नबन्नु कलैयाबासीका लागि विडम्बना भएको बताउँछन् । ‘ सडकमा कहिले मुआब्जाको समस्या आउँछ त कहिले के समस्या देखिन्छ । कलैया कै दुई जना नेताका कारण दुई वटा ठेकेदार कम्पनी भाग्यो,’ उनले भने, ‘इस्तियाक राई मन्त्री हुँदा उनकै पार्टीका सभासद् र कलैयाको मेयरको उपस्थितिमा पछिल्लो पटक शिलान्यास भएको हो, तर सडकको दुराअवस्थामा परिवर्तन नआउनु दुःखद छ ।’

तेस्रो पटक ठेक्का लिने कम्पनीले पेटी कन्ट्याक्टमा अर्को कम्पनीलाई ठेक्कामा दिएर गएको भन्ने सुनेको बताउँदै उनले कलैयाको मुटुमा रहेको सडक छिटोभन्दा छिटो बनाउन सरकारसँग आग्रह गरे ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?