+
+

नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १८:१९

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेका छन् । बिहीबार समझदारीपत्र आदान–प्रदान समेत गरिएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने काममा सहयोग गरेको भन्दै प्रभु बैंकलाई धन्यवाद दिए । सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल बढ्ने उनको विश्वास छ । सीसीटीभी जडानलगायत विभिन्न कार्यक्रममा नेपाल प्रहरीले प्रभु बैंकसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने बताए । पछिल्लो समय बढ्दो डिजिटल ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले बैंकिङ क्षेत्रसँग सहकार्य गर्दै जाने उनले बताए ।

उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपालको एउटा व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताए ।

नेपाल प्रहरी कार्ययोजना, २०७९ को प्रहरी हवल्दार तथा जवान लक्षित कार्यक्रम अन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारका सन्ततीहरूलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यका साथ यो सम्झौता भएको हो ।

समझौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततिहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडा समेत निरन्तर उपलब्ध हुनेछ ।

छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ प्रभु बैंक लिमिटेडले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागु हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतिमा समस्या सामाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।

समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र प्रभु बैंक लिमिटेडका मुख्य प्रबन्धक मञ्जय राज पाण्डेले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?