+
+

भारतसँग ऊर्जा वार्ताको भोलिपल्टै चिनियाँ ऊर्जा अधिकारीहरू नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते २१:०४

६ फागुन, काठमाडौं । चीनसँग जोड्ने प्रसारणलाइन सञ्जाल निर्माणबारे छलफल गर्न आइतबार चिनियाँ ऊर्जा अधिकारीहरुको टोली नेपाल आउने भएको छ । चीन जोड्ने ४ सय केभीको रातमाटे–रसुवागढी-केरुङ प्रसारणलाइनको विस्तृत सम्भाव्यता सकिएपछि चीनको स्टेट ग्रिड कर्पोरेसनको टोली नेपाल आउन लागेको हो ।

शनिबार भारतको राजस्थानमा नेपाल–भारतसँग ऊर्जा सचिवस्तरीय बैठक भएको भोलिपल्टै चिनियाँ टोली नेपाल आउन लागेको हो । चीनको टोली नेपाल आएपछि के–के विषयमा छलफल हुन्छ भन्नेबारे नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरुले बताउन चाहेका छैनन् ।

चिनियाँ अधिकारीहरु प्रसारणलाइन बनाउनेबारे छलफल गर्न आउन लागेका हुन् । नेपाल विद्युत प्राधिकरणले चीन जोड्ने प्रसारणलाइनको नेपालतर्फको भू-भागमा इन्जिनियरिङ डिजाइनसहितको अध्ययन लगभग सकाएको छ ।

प्राधिकरणले लामटाङ राष्ट्रिय निकुञ्ज बाहिर र निकुञ्जभित्रबाट जाने दुई वैकल्पिक रुटको सम्भाव्यता अध्ययन गरेको छ । सकेसम्म निकुञ्ज छलेर नै करिब ७० किलोमिटरको प्रसारणलाइन बनाउने सरकारी योजना छ ।

प्राधिकरणका अनुसार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बनाउने काम भइरहेको छ । ईआईए तयार भएपछि परियोजना निर्माणको काम अघि बढाउन बाटो खुल्ने छ ।

२०७६ पुसमा बसेको नेपाल–चीनबीचको संयुक्त ऊर्जा सम्बद्ध प्राविधिक समिति बैठकमा आ–आफ्नोतर्फका भू–भागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत अध्ययन अघि बढाउने निर्णय भएको थियो । परियोजनाको संयुक्त प्राविधिक स्तरमा विस्तृत अध्ययन गर्ने विषयमा प्राधिकरण र स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाबीच सहमति भएको थियो ।

नुवाकोटको रातमाटेबाट चीनको रसुवागढीसम्म पुग्ने प्रसारणलाइन निर्माणका लागि प्राधिकरणले करिब ६ वर्षअघि नै अध्ययन अघि बढाउने निर्णय गरेको थियो । सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनसँग अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको थियो ।

सम्भाव्यता अध्ययन गर्नुअघि नै चीनले प्रसारणलाइन निर्माणका लागि लगानी मोडालिटी टुंग्याउन प्रस्ताव गर्दै आएको थियो । चीनले उच्च क्षमताको अन्तरदेशीय प्रसारणलाइन पूर्ण अनुदानमा बनाउन नसकिने बताएपछि अध्ययन प्रक्रिया समेत लामो समय अल्झिन पुगेको थियो ।

तर, अध्ययनको मोडालिटीमा गाँठो फुकाएर काम थालेको करिब तीन वर्षमा प्राधिकरणले अध्ययन सकाएर थप प्रक्रिया अघि बढाएको छ । विद्युत व्यापारको ढोका खोल्ने महत्वपूर्ण अन्तरदेशीय प्रसारणलाइनको निर्माण सुरु गर्न ढिलाइ गर्न नहुने पक्षमा प्राधिकरण छ ।

चीनले केरुङ नाकादेखि ७९ किलोमिटर पर जिलोङमा आफ्नो ४ सय केभीको सबस्टेसन तयार गरिसकेको छ । सोही सबस्टेसनमा लगेर यो लाइनलाई जोड्ने योजना छ । यसका लागि चीनले केरुङ नाकादेखि जिलोङसम्मको प्रसारणलाइन बनाउनुपर्ने छ ।

नेपालमा भने एमसीसी परियोजना अन्तरगत नै रातमाटेमा ४ सय केभीको सबस्टेसन बनिरहेको छ । सोही सबस्टेसनबाट चीनतर्फको प्रसारणलाइन जोडिनेछ ।

यो प्रसारणलाइन बनेपछि नेपाल–चीनबीच विद्युत व्यापार सुरु हुन सक्छ भने चीनले नेपालसहित अन्य दक्षिण एसियाली देशहरुसँग पनि बिजुली किन्न÷बेच्न सक्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

चीनसँग प्रसारणलाइन बनाउन परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययनअनुसार चीनतर्फ ५ सय केभीको लाइन हुनेछ भने नेपालतर्फ ४ सय केभीको । बीचमा कन्भर्टर स्टेसन राखेर व्यवस्थापन गर्ने योजना छ । तर, चीनतर्फको परियोजनामा भइरहेको प्रगतिबारे प्राधिकरण पूर्ण जानकार छैन । परियाजनाबारे चीनसँग द्विपक्षीय बैठक बसेर थप विषयहरु टुंग्याउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?