+
+

पर्साका ९ क्रसर उद्योगमध्ये तत्कालै खुल्ने एउटा मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १८:०४

७ फागुन, वीरगञ्ज । पर्सामा बन्द गराइएका ९ वटा क्रसर उद्योगमध्ये एउटा मात्रै सञ्चालनमा आउने भएको छ । एउटा क्रसर उद्योगले मात्रै जिल्ला समन्वय समिति पर्साले माग गरेको १० किसिमका कागजपत्र बुझाएको हो ।

गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय पर्साले मापदण्ड पालना नगरेका तथा कानुन अनुसार दर्ता तथा नवीकरण नगरेका, सञ्चालन अनुमति नलिई तथा एउटा प्रयोजनको लागि दर्ता भई अर्को प्रयोजनमा सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा, उत्खनन प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु बन्द गरेको थियो ।

क्रसर उद्योग बन्द हुँदा निर्माणको काम प्रभावित भएको गुनासो आउन थालेपछि मन्त्रिपरिषदको निर्णय अनुसार सबै जिल्लामा पत्राचार गरी आवश्यक कागजपत्र लिएर अनुगमन गरेपछि बन्द क्रसर उद्योग खोल्ने अनुमति दिन भनेको थियो ।

त्यसै अनुसार जिल्ला समन्वय समितिले माघ १६ गते सूचना निकालेको थियो । सूचनामा ७ दिनभित्र उद्योग दर्ता प्रमाणपत्र, भ्याट/प्यान दर्ता प्रमाणपत्र, इजाजत/सञ्चालन अनुमति पत्र, नविकरण, आर्थिक वर्ष ०७८/०७९ को करचुक्ता प्रमाणपत्र, प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) प्रतिवेदन, खरिद बिक्री खाता, चालु आर्थिक वर्षको परिणाम (नदीजन्य पदार्थ), मौज्दात परिणाम र सञ्चालन अनुमतिपत्र बमोजिम स्थानमा सञ्चालन भएको प्रमाणपत्र/जग्गाधनी प्रमाण पूर्जा पेश गर्न भनेको थियो ।

त्यसक्रममा ९ वटामध्ये ५ वटा मात्रै सम्पर्कमा आएका थिए । जसमध्ये यादव क्रसर उद्योग मुसैलीले मात्रै आईई प्रतिवेदन सहितको कागजात बुझाएको थियो । बाँकी ४ वटाले आईईई प्रतिवेदन पेश गरेका थिएनन् ।

यादव क्रसर उद्योगको आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा १३ लाख भन्दा बढी कर चुक्ता गर्न बाँकी थियो, त्यसैले कर चुक्ताको प्रमाणपत्र बुझाएको थिएन । वीरगञ्ज महानगरपालिका–२९ स्थित बालुवा प्रशोधन केन्द्र, जय नेपाल बालुवा प्रशोधन प्रालि, गंगा बालुवा उद्योग, पप्पु–स्वछन्द सखुवाप्रसौनीले पनि पूरा कागजात पेश गरेका थिएनन् ।

माघ २६ गते बसेको जिल्ला अनुगमन समितिको बैठकले क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रले पेश गरेका कागजातहरु पूरा नदेखिएकोले बाँकी कागजात पेश गर्न थप १५ दिनको समय दिने निर्णय गरेको थियो ।
कागजात पूरा भएपछि उद्योगहरुको स्थलगत अनुगमन गरी प्रक्रिया पूरा गरेको देखिएका उद्योगलाई कारोबार सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो ।

यादव क्रसर उद्योगले फागुन २ गते कर चुक्ताको प्रमाणपत्र बुझाएपछि फागुन ४ गते स्थलगत अनुगमन गरेको अनुगमन समितिका सदस्य इन्जिनियर विजय गुप्ताले जानकारी दिए ।

‘स्थलगत अनुगमन गर्दा उद्योगको स्टक पनि ठिकै देखियो, अन्य कुराहरु पनि ठिकै थियो, खुल्न सक्ने अवस्थामा छ’, उनले भने ‘आईईई प्रतिवेदन दिएपछि अन्य उद्योगको अनुगमन गरेर खोल्न दिने वा नदिने निर्णय गर्छौ ।’

जिल्ला समन्वय समिति प्रमुख निरञ्जन प्रसाद सा सोनारले मापदण्ड पालना गर्ने र मागेको कागजात बुझाउने क्रसर उद्योग खोल्दै जाने बताए । ‘सबै कागजात बुझाएको एउटा उद्योगको जिल्ला अनुगमन समिति र प्राविधिक टोलीले स्थलगत अनुगमन गरिसकेको छ । मापदण्ड अनुसार नै रहेकोे देखिएको छ’, उनले भने, ‘भोलि बैठक बसेर सञ्चालन गर्न अनुमति दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?