८ फागुन, काठमाडौं । त्रिचन्द्र क्याम्पसको प्रबलीकरण गरिरहेको शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले घण्टाघरको घडीलाई ‘अटोमेटिक’ बनाउन चाहेको छ ।
३५ वर्षयता घण्टाघरको घडी मर्मत गरिरहेका एक्ला मिस्त्री गणेश सापकोटा भने त्यो सम्भावना देख्दैनन् । उनी भन्छन् ‘हुन त, दुनियाँमा असम्भव केही छैन, तर यही घडीलाई स्वचालित बनाउने सम्भावना म देख्दिन ।’
उनका अनुसार अहिले घडी चलाउन हप्तामा दुई पटक दम दिनुपर्छ । घडीको काँटा चलाउने फलामको ढक झुन्टिएको डोरी घुमाएर माथि ल्याउनुपर्छ । ढक तलतिर झर्दैजाँदा त्यसैको भारले घडी चल्छ । दम दिने काम क्याम्पसकै अर्का दुई कर्मचारीले गर्ने गरेका छन् । सापकोटा घडीको प्राविधिक पक्ष हेर्छन् ।
गणेशका अनुसार, केन्द्रीय आयोजना कार्यान्वयन इकाईले घडीलाई दम दिन बिजुलीले चल्ने मोटर जोड्न चाहेको छ । त्यसरी स्वचालित बन्ने सम्भावना नदेखेका उनी यो ऐतिहासिक सम्पदालाई स्वचालित बनाउने भन्दा अहिलेकै रुपमा निरन्तरता दिनु वुद्धिमत्तापूर्ण हुने देख्छन् ।
‘कुनै निकायलाई जिम्मा दिएर दुईजना कर्मचारी राख्दा भयो’, उनी भन्छन् ‘यो त हाम्रो इतिहास पनि हो ।’
राणा प्रधानमन्त्री वीरशमशेरले बनाएको घण्टाघर जुद्धशमशेरको पालामा १९९० को महाभूकम्पमा भत्कियो । पुनर्निर्माण गर्दा बुर्जा शैली फेरेर घण्टाघरलाई हालको स्वरुप दिइएको थियो । यस हिसाबले घण्टाघर १२६ वर्ष भन्दा पुरानो संरचना हो । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले १०० वर्षभन्दा पुरानो मानव निर्मित संरचनालाई सम्पदाको सूचीमा राखेको छ ।

सापकोटाका अनुसार घण्टाघरको घडी चलाउन २०३० सालसम्म ६ जना कर्मचारीको दरबन्दी थियो । उनीहरुको अवकाशपछि अरु कर्मचारी राखिएन । गणेश २०४४ सालमा घण्टाघरको घडी मिस्त्री बनेका थिए । अबको दुई वर्षमा उनले पनि अवकाश पाउँदैछन् ।
‘यत्रो वर्ष रेखदेख गरेँ, हरेक पाटपूर्जा जोगाउन धेरै मिहिनेत गरेको छु । मलाई यसको धेरै माया छ, तर मैले मात्र गरेर हुँदैन’, सापकोटा भन्छन्, ‘यसलाई यही रुपमा जोगाउन अनुरोध गर्दै धेरै ठाउँमा पुगेँ । तर, सुनवाई भएको छैन ।’
अहिल्यै अर्को कर्मचारी राख्न सके आफ्नो अवकाश भए पनि नयाँ व्यक्तिले घडी बिग्रदा बनाउन सिकिसकेको हुने उनको भनाइ छ ।
‘मेरो वास्तविक उमेर नागरिकताकोभन्दा दुई वर्ष बढी हो’, उनले भने, ‘दुई वर्षपछि त मलाई बोलाए पनि घण्टाघरको तीन तलामाथि चढेर हरेक पाटपूर्जा नियाल्दै सिकाउन सक्दिन पनि होला ।’

घण्टाघर आफ्नो हाताभित्र रहेकाले बाध्य भएर त्रिचन्द्र क्याम्पसले हेरिरहेको र ढक तान्न दुई कर्मचारी खटाएको उनी बताउँछन् । ऐतिहासिक–पुरातात्विक धरोहर भएकोले स्थानीय सरकार र पूरातत्व विभागमध्ये कुनै एकले जिम्मेवारी लिए राम्रो हुने उनको भनाइ छ ।
करिब ९ वर्ष पहिले पत्रिकामा ‘घण्टाघर घाँडो भएको’ समाचार आएपछि काठमाडौं महानगरपालिकाले रङरोगन गराएको सापकोटा सम्झन्छन् । ‘त्यसपछि त उसले पनि फर्केर हेरेन, म एक्लो प्राविधिकले बुझेको कुरा सुन्ने कुनै निकाय भएनन् । मेरो अवकाशपछि यो घडी रोकियो भने मजति दुःखी कोही हुने छैन’ उनले भने ।
यसरी घण्टाघरको एक्लो मिस्त्री
२०३७ सालमा त्रिचन्द्र क्याम्पसमा प्राविधिकको रुपमा जागिर सुरु गरेका गणेश सापकोटालाई २०४४ मा नेपालमा भएको सार्क शिखर सम्मेलनले अचानक घण्टाघरको घडी मिस्त्री बनाएको थियो ।
सार्क सम्मेलनको धुमधाम तयारी थालिंदा नारायणहिटी दरबार नजिकैको घण्टाघरको घडी बिग्रिएर चलेको थिएन । सरकारले त्यसलाई चल्ने बनाउने मान्छे जति खोज्दा पनि नभेटेपछि क्याम्पसकै प्राविधिक सापकोटालाई प्रयास गर्न भनियो ।

‘प्रयोगशालाको प्राविधिक मान्छे, त्यो बेलासम्म घडीको पार्टपूर्जा हेरेको समेत थिइन’, उनी भन्छन्, ‘बनाउने जिम्मेवारी पाएपछि घण्टाघरमा चढेर मिहिन ढंगले मिसिनहरु हेर्दै भएभरको वुद्धि लडाएँ ।’
त्यसबेला १३ दिन १३ रात त्यहीँ बसेर काम गरेको सापकोटा सम्झन्छन् । अन्ततः उनले घडी चलाएर देखाइदिए । त्यसरी घण्टाघर उनको जिम्मामा आयो । बितेको ३५ वर्षमा उनी जम्मा दुई रात काठमाडौं बाहिर बसे । त्यसको एकमात्र कारण उही घण्टाघर हो ।
उनका अनुसार, सय वर्षभन्दा पुरानो भएकाले घडीका कुनै पूर्जा जतिबेला पनि बिग्रन सक्छ । बिग्रेका कुनै पूर्जा बनाउन समय लाग्छ, जबकी घडीलाई तत्काल चलाउन पर्ने हुन्छ । एक हप्ताअघि मात्रै पनि घडी बिग्रीएर करिब एक हप्ता नै बन्द भएको थियो । बिग्रिएको पूर्जा बनाउन बाहिरका वर्कसपहरु चाहार्नु पर्दा धेरै समय लाग्ने सापकोटाले बताए ।
उनका अनुसार, पछिल्लो महाभूकम्पमा घण्टाघरको घडीको थुप्रै पुर्जा बिग्रिए, जुन बजारमा पाउने कुरै भएन । तीमध्ये कुनैलाई जोडजाड गरेर, कुनैलाई तारले बाँधेर घडी चल्ने बनाएको उनी बताउँछन् ।
‘मिनेट काँटाको दाँती मर्मत गरेको केही दिनमै खिइजान्छ’, सापकोटा भन्छन्, ‘नयाँ दाँती नहुँदा हल्लिएर अगाडि सर्ने भएको छ । कहिलेकाहीँ हल्लिँदा पछाडि अड्किन्छ, कहिले ढिला हुन पुग्छ ।’
नेपालको एकमात्र घण्टाघरको घडी मिस्त्री सापकोटा आप्mनो कर्ममा जति गौरवान्वित छन्, त्यति नै चिन्तित पनि । आफूपछि यो घडी चलाउने कोही छैनन् भन्ने कुराले उनलाई झस्काइरहन्छ ।
‘मपछि मिस्त्री बन्ला कि भनेर ०५४ सालमा आफ्नै छोरालाई सिकाउन खोजेँ, तर उसले पनि अरुले झैं चासै देखाएन’, सापकोटा भन्छन्, ‘म चाहन्छु, यो घडी अनवरत चलिरहोस्, तर कसरी ? यसको उत्तर मसंग पनि छैन ।’
 
 
तस्वीर : आर्यन धिमाल
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4