+
+

पोखरामा मिस नेपालको दुई इभेन्ट हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते २०:५३

८ फागुन, पोखरा । मिस नेपाल २०२३ को दुई इभेन्ट पहिलो पटक काठमाडौं बाहिर गर्ने भएको छ । काठमाडौं केन्द्रित मिस नेपालले यस पटक पोखरामा २ वटा इभेन्ट गर्न लागेको आयोजकले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आयोजक हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकरले हालसम्मका संस्करणहरु सबै काठमाडौंमा गरिएको भए पनि अब विस्तारै प्रदेशका विभिन्न सहरमा पनि लैजाने तयारी रहेको जानकारी दिए ।

‘यो संस्करणदेखि हामी पहिलो पटक राजधानी बाहिर पनि इभेन्ट गर्दैछौं । ग्राण्ड फिनालेभन्दा अगाडि वैशाखमा पोखरामा २ वटा सबइभेन्ट हुन्छन्,’ उनले भने, ‘विस्तारै ग्राण्ड फिनाले पनि काठमाडौं बाहिर गर्ने पक्षमा छौं ।’

जेठ १३ गते हुने मिस नेपाल २०२३ का लागि अहिले हिडन ट्रेजरले आवेदन खुला गरेको छ । चैत १ गतेसम्म प्रतियोगिताका लागि आवेदन दिन सकिने छ । सोही प्रयोजनका लागि अहिले आयोजक देश दौडाहामा निस्केको छ ।

इटहरी, वीरगञ्ज हुँदै सोमबार पोखरा आइपुगेको टोलीमा गत संस्करणका मिस नेपाल, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल विजेता पनि सहभागी छन् । देशका ७ वटै प्रदेशका प्रमुख सहरमा पहिलो पटक क्राउन प्रर्दशन पनि हुने निर्देशक सुवर्ण क्षेत्रीले जानकारी दिए ।

झन्डै ३ दशक लामो इतिहास बोकेको मिस नेपालले शारीरिकमात्रै नभएर बौद्धिक मिस नेपालको खोजी गर्र्दै आएको आयोजकको दाबी छ । ‘हिडन ट्रेजरको काम एउटा मिस नेपाल बनाउने होइन, जोजो सहभागी हुन्छन्, सबैलाई मिस नेपाल बनाउने हो,’ क्षेत्रीले भने, ‘मिस नेपालको क्राउन एउटाले लगाउँछ, बाँकीले लाइफ क्राउन लगाउँछन् ।’

सुन्दरी प्रतियोगिताबारे विभिन्न समयमा विवाद उत्पन्न हुँदै आए पनि आफूहरुले सुझाव लिएरै अघि बढिरहेको आयोजकको दाबी छ । समयअनुसार मिस नेपाल पनि परिमार्जित हुँदै गइरहेको क्षेत्रीको भनाइ थियो ।

पोखरामा बुधबार मिस नेपालका लागि छनोट हुँदै छ । सोही छनोटको पूर्वसन्ध्यामा मंगलबार ओरिन्टेसन कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिनका लागि न्यूनतम ५ फिट ३ इन्च उचाइ र १८ देखि २७ वर्ष उमेर समूहको हुनुपर्ने नियम छ ।

निशुल्क आवेदन दिन सकिने प्रतियोगितामा मिस नेपालसहित मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा पनि उत्कृष्ट हुनेछन् ।

पत्रकार सम्मेलनमा फिलिपिन्समा भएको मिस अर्थमा सहभागी भएकी २०२२ कि मिस नेपाल अर्थ सरिशा श्रेष्ठको इको भिडियो प्रदर्शन पनि गरिएको थियो । नेपालको फोहोर मैला व्यवस्थापनबारे बनाइएको उक्त वृत्तचित्र मिस अर्थमा एसियातर्फ उत्कृष्ट बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?