+
+

माओवादी बैठक : राष्ट्रपतिबारे खुलेनन् प्रचण्ड

रामकुमार डिसी रामकुमार डिसी
२०७९ फागुन ८ गते २१:४३

८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे निर्णय लिने अधिकार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले गणतन्त्र र संविधानको रक्षा तथा शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्नु पार्टीको एजेण्डा भएको निष्कर्ष निकालेको छ । र, यो एजेण्डा पुरा गर्ने गरी राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिइएको उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।

त्यसअघि प्रचण्डले कांग्रेसका शीर्ष नेताहरु, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भएको छलफलबारे करिब २५ मिनेट ‘ब्रिफिङ’ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार एमालेका अध्यक्ष ओलीसँग प्रचण्डले पछिल्लो पटक शुक्रबार भेटेका थिए भने कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुसँग आइतबार साँझ वार्ता गरेका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भने पार्टीको बैठकअघि सिंहदरबारमा भेटेका थिए ।

पार्टी बैठकलाई गरेको ‘ब्रिफिङ’मा प्रचण्डले कांग्रेस नेताहरुले राष्ट्रपतिमा आफूहरुलाई सघाउन आग्रह गरेको सुनाए । यस्तै एमाले अध्यक्ष ओलीले भने १० पुसको सहमतिअनुसार आफ्नो दलले पाउनुपर्ने दाबी गरिरहेको बताए । आफ्नो प्रयास अहिले पनि राष्ट्रिय सहमति खोज्ने भएको उनले सुनाए ।

राष्ट्रपतिका लागि आफूहरुले सहमति दिनसक्ने पात्रबारे केही उल्लेख नगरेको एक पदाधिकारीले जानकारी दिए । ‘पात्र विशेषमा छलफल गर्न समय छ।’ प्रचण्डको भनाइ उध्रृत गर्दै माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘अहिले कुनै पात्र अगाडि सारे भोलि भत्किन्छ, भोलि सारे पर्सि भत्किन्छ ।’

स्रोतका अनुसार आइतबार साँझ कांग्रेस नेताहरुसँग भएको भेटमा प्रचण्डले राष्ट्रपतिको बचन दिइसकेका छन् । तर एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि राष्ट्रपतिमा रुची देखाएका छन् । यदि एकीकत समाजवादीसँग साझदारी नगरे एमालेले अघि सारेर आफैंलाई अठ्यारोमा पार्न सक्ने देखेका कारण राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने प्रस्ताव समेत राखेनन् ।

उपाध्यक्ष कृष्णबहादुर महरा पनि बैठकमा राष्ट्रपतिको को व्यक्ति भनेर छलफल नभएको बताउँछन् । ‘यो व्यक्ति, उ व्यक्तिमा हामी गएनौं,’ बैठकपछि सञ्चारकर्मीमाझ उनले भने, ‘कुनै व्यक्तिको बारेमा हामीले छलफल गरेनौं ।’

बरु राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै निर्णयको अधिकार आफूले लिएका छन् ।

प्रचण्डपछि बोलेका उपाध्यक्ष महरा, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा लगायतले पार्टी र देशको स्वार्थ अनुसार निर्णय सुझाएका छन् । ‘पार्टी र देशको हितलाई सर्वोपरि राख्नु होला,’ नेताहरुको सुझावको सार सुनाउँदै एक पदाधिकारीले भने, ‘तपाईं अगाडि बढ्नुहोस्, केही पर्‍यो भने सल्लाह लिनु होला ।’

अन्य बैठकहरुमा भन्दा आज प्रचण्ड कूटनीतिकरुपमा प्रस्तुत भएको बताउँछन्, सचिव गणेश साह । ‘राष्ट्रपतिबारे आज अध्यक्ष धेरै खुल्नु भएन,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँ कूटनीतिक रुपमा प्रस्तुत हुनुभयो ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?