+
+

नेपालले ६ महिनामै बेच्यो अमेरिकालाई १ अर्ब १४ करोडको छुर्पी

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ फागुन ९ गते १९:३२

९ फागुन, काठमाडौं । गत साउनदेखि पुस मशान्तसम्म नेपालबाट ५ लाख ७८ हजार ८४१ किलो छुर्पी अमेरिकामा निर्यात भएको छ । यसको मूल्य एक अर्ब १४ करोड रुपैयाँ रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपालको छुर्पीको बजार यतिमा मात्रै सीमित छैन । मन्त्रालयका अनुसार साउनदेखि पुससम्म नेपालले एक अर्ब ३४ करोड ७१ लाख ७७ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । नेपाली व्यवसायीले क्यानडा, जापान, बेलायत, हङकङ, सिंगापुर, कोरिया, ब्राजिलसहित २४ देशमा छुर्पी बिक्री गरेका छन् ।

तरकारीदेखि खाद्यान्नसम्म आयात गरेर खाने नेपालले ५ वर्षअघिसम्म ८५ करोड हाराहारीको छर्पी बेच्थ्यो । अहिले ६ महिनामै डेढ अर्ब भन्दा बढीको छुर्पी बिक्री गर्न सक्नु राम्रो भएको ब्यवसायीहरु बताउँछन् । एउटै मुलुकमा ६ महिनामै एक अर्ब हाराहारीको छुर्पी निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा नेपालले १६ वटा मुलुकमा ८५ करोड ७९ लाख ३२ हजार रुपैयाँको छुर्पी निर्यात गरेको थियो । त्यतिबेला अमेरिकामा ७७ करोड ७१ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो । त्यसपछिको हरेक वर्ष बढ्दो क्रममा रहेको छुर्पीको निर्यात गत वर्ष २ अर्ब ९१ करोड १९ लाख रुपैयाँको पुग्यो ।

आर्थिक वर्ष ०७५/७६ मा नेपालबाट एक अर्ब ५ करोड २८ लाखको छुर्पी निर्यात भएको थियो । ०७६/७७ मा एक अर्ब २८ करोडको र २०७७/७८ मा एक अर्ब ९६ करोड ५० लाख ४५ हजार रुपैयाँको छुर्पी निर्यात भएको थियो ।

त्यस्तै २०७८/७९ मा हालसम्मकै उच्च २ अर्ब ९१ करोड १९ लाख रुपैयाँको छुर्पी नेपालबाट निर्यात भएको थियो । साउनयताको ६ महिनामा एक अर्ब ३४ करोड ७१ लाख ७७ हजारको छुर्पी निर्यात हुँदा यो वर्ष हालसम्मकै धेरै मूल्यको छुर्पी निर्यात हुने अनुमान गरिएको छ ।

अमेरिकापछि नेपाली छुर्पीको दोस्रो ठूलो बजार क्यानडा हो । चालु आर्थिक वर्षमा क्यानडामा १३ करोड ८३ लाख रुपैयाँको ६९ हजार किलो छुर्पी निर्यात भएको छ । छुर्पीको तेस्रो ठूलो बजार बेलायत हो । मन्त्रालयका अनुसार अहिले नेपालले ताइवान, फ्रान्स, स्लोभाकिया, ब्राजिल, फिनल्याण्ड, बेलारुसदेखि ताइवान, थाइल्याण्ड, फिलिपिन्स लगायतका मुलुकहरुमा छुर्पी निर्यात भइरहेको छ ।

प्रशोधनपछि चम्किएको बजार

नेपाल निर्यात परिषद्काअनुसार ६ वर्ष अघिसम्म नेपालबाट कुकुर र बिरालोको आहाराको कच्चा पदार्थको रुपमा छुर्पी निर्यात हुन्थ्यो । तर, छुर्पीको माग गर्नेहरुले यसलाई प्रशोधन गर्न नेपाली व्यवसायीलाई आग्रह गरे । विश्वका विभिन्न देशका ग्राहकहरुले कुकुर र बिरालोका स्वादअनुसारको फ्लेबर र मनपर्ने आकारमा छुर्पी माग गरेपछि यसको मूल्य र बजार चम्किएको निर्यात परिषद्का महासचिव हरिप्रसाद ढकालले बताए ।

‘पहिले साह्रै न्यून मूल्यमा जान्थ्यो तर अहिले प्रशोधन पछि राम्रो मूल्यमा निर्यात भइरहेको छ’, ढकालले भने, ‘इलाम, पाँचथर लगायतका मुलुकमा उत्पादन भएको कच्चा छुर्पी काठमाडौं वा कतिपय अवस्थामा उतै प्रशोधन गरेर निर्यात गरिने गरिएको छ ।’ नेपालबाट निर्यात गरिने छुर्पीमा शत प्रतिशत मूल्य अभिवृद्धि हुने र निर्यातमा कुनै कर पनि लाग्दैन ।

कृषि विकास मन्त्रालयकाअनुसार नेपालमा छुर्पी उत्पादनका लागि मासिक एक लाख लिटर दूध खपत हुने गरेको अनुमान छ । मानिसले खाने छुर्पीमा स्वादको लागि दूधमा चिल्लो पदार्थको मात्रा हुन्छ भने कुकुर र बिरालोका लागि बनाइने छुर्पीमा कम चिल्लो पदार्थ हुन्छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?