+
+

भलिबलमा उचाइ लिँदै उषा

६ वर्षसम्म राष्ट्रिय महिला भलिबलमा एकछत्र राज गरेको एपीएफलाई हराएर उपाधि जित्नु पुलिस र उषाकै करिअरका लागि ठूलो कोशेढुंगा थियो । पुलिसकी कामना विष्ट चोटग्रस्त भएपछि उषाले पुलिस क्लबमा अनुबन्ध भएको छोटो समयमै स्पाइकरको भूमिकामा आफूलाई उभ्याउन सकिन् ।

नमिता दाहाल नमिता दाहाल
२०७९ फागुन ११ गते १३:१५

११ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी स्पाइकर उषा भण्डारीको उदयमा बुबा गजेन्द्र भण्डारी सँगसँगै आउने नाम हो ।

छोरीको सफलताका सारथिका रुपमा गजेन्द्रको भूमिकाले नेपालमा खेलाडीको सफलतामा अभिभावकको साथ कति महत्वपूर्ण हुन्छ भन्ने पुष्टि गर्छ ।

१२ वर्षको उमेरदेखि छोरीलाई भलिबल खेलाडी बनाउने गजेन्द्रको सपना पाँच वर्षमै सार्थक रह्यो, जब उषाले २०७६ मंसिरमा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमार्फत राष्ट्रिय टिमबाट डेब्यू गरिन् ।

२०१४ मा भएको साउथ एसियन भलिबल च्यापम्पियनसिपमा नेपालविरुद्ध श्रीलंकाको खेल हेर्न दशरथ रंगशाला कर्भड हल पुगेका गजेन्द्रले कोर्टभित्र छोरीको पनि सहभागिता परिकल्पना गर्न थाले ।

बालाजुको होली गार्डेन स्कुलमा फुटबल सिकिरहेकी उषालाई नेपाल प्रहरी स्कुलमा भर्ना गरे । अहिले उनी पुलिसकी मुख्य स्पाइकरको भूमिकामा सशक्त प्रदर्शन गरिरहेकी छन् ।

‘त्यतिबेला मैले श्रीलंकाकी एक खेलाडीमा आफ्नै छोरीको रुप पाएँ । त्यो नदेखेको भए सायद मैले उषालाई भलिबलमा लाग्न प्रेरित गर्ने थिइनँ,’ छोरीले घरेलु भूमिमा अहिलेसम्म खेलेका कुनै पनि खेल नछुटाएका गजेन्द्र भन्छन् ।

बुबालाई आफ्नो आत्मविश्वास मान्छिन् उषा । बुबाले सँगै बसेर हेरेको खेलमा आफ्नो प्रदर्शनको स्तर बढ्ने उनको अनुभव छ ।

२०७६ माघमा नेपाल पुलिस क्लबले नेपालगञ्जमा प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा उषाले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाएकी थिइन् ।

६ वर्षसम्म राष्ट्रिय महिला भलिबलमा एकछत्र राज गरेको एपीएफलाई हराएर उपाधि जित्नु पुलिस र उषाकै करिअरका लागि ठूलो कोशेढुंगा थियो । पुलिसकी कामना विष्ट चोटग्रस्त भएपछि उषाले पुलिस क्लबमा अनुबन्ध भएको छोटो समयमै स्पाइकरको भूमिकामा आफूलाई उभ्याउन सकिन् ।

प्रतिभा मालीपछि नेपाली महिला भलिबलले पाएको भरपर्दो ओपन स्पाइकर बनेकी उषाले १३ औं सागमा डेब्यू गरेयता पछाडि फर्केर हेर्नुपरेको छैन । १८ वर्षको उमेरमा उनी आफ्नो क्लब नेपाल पुलिसकी प्रमुख खेलाडी बनिसकेकी छन् भने राष्ट्रिय टिमको नियमित सदस्य । पछिल्लो दुई वर्ष माल्दिभ्समा क्लब भलिबल प्रतियोगिता खेलेर आफूलाई थप अनुभवी बनाइसकेकी छन् ।

‘बाहिर आफूले जति खेल्न सक्यो त्यति नै राम्रो हो । माल्दिभ्स म चार पटक गएर आएँ । बाहिर गएर खेल्दा खेलाडीको लागि नाम र दाम दुवै राम्रो हुन्छ,’ उषाले अनलाइनखबरसँगको कुराकानीमा भनिन् ।

पछिल्लो समय नेपाली खेलकुदमा भविष्य छैन भन्नेहरुको लागि उषा एक उदाहरण हुन् । किशोरावस्थामा नै भलिबलमा लागेर उनलाई हालसम्म दुखेसो पोख्ने वातावरण बनेको छैन । ‘भलिबलमा आएर मलाई पछुतो गर्ने पर्ने केही पनि भएको छैन । मैले गर्न सकिरहेको छु भने, अब आउँदो पुस्ताका लागि झन राम्रो छ ।’

उनै उषा नेपाल खेलकुद पत्रकार मन्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको एउटा विधा पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छन् । गण्डकी प्रदेशकी भलिबल खेलाडीलाई अवार्ड जिताउन अहिले भलिबल बृत्त नै अभियानमा जुटेको छ ।

उषाको जितका लागि माहोल बनाउन गत शनिबार महिला भलिबलका चार प्रमुख टिम न्यु डायमण्ड, त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिसले नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा मैत्रीपूर्ण भलिबल खेले ।

यो विधाको विजेता घोषणा फागुन २३ एनएसजेएफ पल्सर स्पोर्टस अवार्डकै दिन हुनेछ । पिपुल्स च्वाइस अवार्डमा ५० प्रतिशत इसेवा मत, २५ प्रतिशत फेसबुक लाइक तथा १२–१२ प्रतिशत एनएसजेएफ सदस्य र राष्ट्रिय खेलका प्रशिक्षकको मतभार निर्धारण गरिएको छ ।

उषाको भलिबल यात्रा

तनहुँ, भिमाद १ मा जन्मेकी उषाले १३औं साग अन्त्र्गत बंगलादेशविरुद्धको खेलमा डेब्यू गरेकी हुन् । त्यसअघि उनले नेपाल पुलिसबाट खेलेर आफ्नो सम्भावना देखाएकी थिइन् ।

उषाले २०७४ मा नेपाल पुलिस स्कुल, सामाखुसीमा भर्ना भएपछि औपचारिक भलिबल यात्रा सुरु गरेकी हुन् । पुलिस स्कुलमा पुगेको ६ महिनामै नेपाल पुलिस क्लबमा प्रशिक्षणको अवसर पाएकी उनले छोटो समयमै आफ्नो पोजिसनमा जिम्मेवार बनिन् । सुरुमा अलराउण्ड पोजिसनबाट प्रशिक्षण थालेकी उनलाई टिमकी मुख्य स्पाइकर कामना विष्ट चोटग्रस्त भएपछि खाली स्थानमा ल्याइएको हो ।

‘मलाई स्कुलमा हुँदा भलिबल भन्दा पहिले फुटबल मनपथ्र्यो । होली गार्डेनमा हुँदा फुटबल र भलिबल दुवै खेल्थेँ । पछि भलिबल नै रमाइलो लाग्यो,’ उनले भनिन् ।

नेपालमा खेलाडीमात्र रहेर करिअर विकासमा बाधा हुने सुनेकी उनले व्यावसायिक भलिबलबाट स्थापित बन्ने लक्ष्य राखेकी छन् । केहि खेलाडीहरु उनले देख्दादेख्दै विदेश पलायन भएका पनि छन् । ‘अहिले विदेशिनै पर्ने अवस्था भइसकेको छ जस्तो लागेको छैन । नेपाल भलिबल विस्तारै विकास हुँदैछ । त्यसले हामीलाई पनि स्थापित हुने अवसर दिनेछ,’ उषाले सकारात्मक जवाफ दिइन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?