+
+

सन्दीप नहुँदा अरु खेलाडीले जिम्मेवारी लिनुपर्छ : रोहित पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १६:०७

११ फागुन, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले युएईमा हुन लागेको आइसीसी विश्वकप लिग टू सिरिजमा प्रमुख स्पिनर सन्दीप लामिछाने नहुने भएपछि अन्य खेलाडीले जिम्मेवारी लिनु पर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारसित कुरा गर्दै उनले अन्य बलर तथा स्पिनरले टिममा सन्दीपको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, ‘सन्दीप टिमको महत्वपूर्ण बलर हो । ४ खेलमा १३ विकेट लिनुभएको थियो । उहाँले महत्वपूर्ण अवस्थामा विकेट निकाल्नुहुन्थ्यो । उहाँ नहुँदा फरक त पर्छ नै तर अब अन्य सिनियर बलर स्पिनरहरुले त्यो भूमिका पूरा गर्नुपर्‍यो ।’

नेपाली राष्ट्रिय क्रिकेट टिम पपुवा न्युगिनीसमेत सहभागी हुने त्रिकोणात्मक शृंखला खेल्न शनिबार युएई जाँदै छ । नाबालिक बलात्कारको आरोप लागेको सन्दीप लामिछानेलाई अदालतले विदेश जान रोक लगाएको छ । त्यसैले नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई टिममा समावेश गरेको छैन ।

नेपाली टिमले लिग टूमा अब युएईको भूमिका ४ र घरेलु मैदानमा ४ वटा खेल खेल्न बाँकी छ । घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगका सबै चार खेल जितेको नेपालले बाँकी सबै खेललाई फाइनल जसरी खेल्ने पौडेलले बताए ।

‘हाम्रो लागि हरेक खेल फाइनल हो । युएईको विकेट कन्डिसन फरक हुन्छ । त्यहि अनुसार योजना बनाइरहेका छौं । आशा छ त्यो योजना मैदानमा लागु गर्न सकौैं र खेल जित्न सकौं’, उनले भने ।

युएई भ्रमणका लागि तयारी गर्ने खासै समय नेपाली टिमसित छैन । मंगलबार मात्रै सिरिज सकेर बसेको टिम शनिबार नै युएई जाँदै छ । त्यसैले टिमले अहिले मानसिक तयारी गरिरहेको उनले बताए ।

हामीसँग समय कम छ, त्यसैले हामी मानसिक रुपमा तयार हुँदैछौं । नयाँ बल कसरी खेल्ने, ओपनर र मध्यक्रमको ब्याटरले कस्तो भूमिका निर्वाह गर्ने योजना बनाउँदैछौं,’ उनले भने, ‘आशा छ योजनाले सोचेअनुरुप काम गरेर हामीले खेल जित्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?