+
+

द्वन्द्वग्रस्त प्यालेस्टाइनको विश्वकप सपना, इजरायलको ज्यादती बावजुद विश्वकप खेल्ने अठोट

एजेन्सी एजेन्सी
२०७९ फागुन १३ गते ८:२९

प्यालेस्टाइन टोलीले हालसम्म विश्वकप खेलेको छैन। तर सन् २०२२ को विश्वकपमा त्यस क्षेत्रको उपस्थिति भने थियो। समर्थकहरू सञ्चार संस्थाले अन्तर्वार्ता लिइरहेका बखत फ्री प्यालेस्टाइन भन्दै कराए। क्वाटरफाइनल चरणमा पोर्चुगललाई स्तब्ध बनाएसँगै खुशियालीमा मोरक्कन खेलाडीहरूले प्यालेस्टाइनको झण्डा फहराए।

सन् २०२२ को विश्वकपमा मोरक्कोले सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्रको नाममा रेकर्ड बनाएको थियो। सन् १९४८ मा इजरायलको स्थापना भएदेखि नै इजरायल र प्यालेस्टाइनबीच मध्यपूर्वमा निरन्तर तनावको स्रोत बनेको छ। सन् १९६७ मा गाजा र पूर्वी जेरूसेलम इजरायलले कब्जा गरेपछि तनाव झन् बढ्दो छ।

इजरायल राज्य बनेको क्षणलाई प्यालेस्टाइनहरू नक्बा भन्छन्। अरबीमा यसको अर्थ विपत्ति हो। ७ लाख प्यालेस्टाइनहरू भागेर गएपछि इजरायल बनेको उनीहरू बताउँछन्। यता इजरायलीहरू त्यस दिनलाई स्वतन्त्रता दिवसका रूपमा मनाउँछन्। त्यसैले उनीहरूबीच एक-आपसमा भीडन्त भइरहन्छ।

इजरायलको गतिविधिले प्यालेस्टाइनको समग्र गतिविधिलाई असर पुर्‍याएको प्यालेस्टाइनहरू बताउँछन्। फुटबल पनि त्यसबाट अछुतो नरहेको प्यालेस्टाइन गोलकिपर रामी हमादको भनाइ छ। तमाम संकट र खतराका बीच प्यालेस्टाइनले फुटबलमा आफ्नो गतिलो उपस्थिति जनाउने हमादको विश्वास छ। ‘चाहे खेलाडीहरू गिरफ्तार परून् वा मारिउन् वा प्रतिबन्धमा परून् तर फुटबलमा आफ्नो जादू देखाउन खेलाडीहरू प्रतिबद्ध छन्। सन् २०२३ मा एएफसी एशिया कपको छनोट चरणमा हाम्रो टोलीले यस कुरालाई प्रमाणित गरिसकेको छ’, उनले भने।

सन् २०२२ मा प्यालेस्टाइनका २३ वर्षीय फुटबलर अहमद दरामेगलाई इजरायली रक्षा बलले गोली हानी हत्या गर्‍यो। इजरायलले उनको हत्या गरेपछि गाजाको सशस्त्र समूह हमासले अहमद आफ्नो सदस्य रहेको दाबी गरेको थियो।

प्यालेस्टाइन खेलाडीहरूलाई इजरायलले गिरफ्तार पनि गरेको छ। सन् २००९ मा इजरायली अधिकारीहरूले फुटबलर महम्मद सराजलाई गैरकानुनी लडाकू नीति अन्तर्गत गिरफ्तार गरेर प्रशासनिक नजरबन्दमा राखेको थियो। त्यस नीति अनुसार इजरायली अधिकारीहरूले प्यालेस्टाइनहरूलाई अनिश्चितकालसम्म हिरासतमा राख्न सक्छन्। सराज सन् २०१२ मा प्यालेस्टाइन नीति विरुद्ध आमरण अनशन बसे। त्यस अनशनपछि मात्रै उनलाई इजरायलले रिहा गरेको थियो।

सराजलाई इजरायलले इस्लामिक जिहादी समूह भएको आरोप लगाएको थियो। इजरायली आरोपको खण्डनमा सराज भन्छन्, ‘मलाई लगाइएका सम्पूर्ण अभियोगहरू म अस्वीकार गर्छु। म एक स्वतन्त्र फुटबलर हुँ र आफ्नो खेलमार्फत प्यालेस्टाइनको न्यायको लागि पहल गर्छु। इजरायली अन्यायको विरोध र विश्व शान्तिको कामना गर्छु।’

गत वर्षको एएफसी कपको क्वालिफायरमा प्यालेस्टाइनले सफल नतिजा निकाल्यो। फिलिपिन्सलाई ४-० ले स्तब्ध बनाएको प्यालेस्टाइनले मंगोलिया र यमनलाई पनि हरायो। खेलाडीहरूलाई विभिन्न बाधा–व्यवधान रहे पनि राष्ट्रको पक्षमा नतिजा निकाल्ने र अब विश्वकप खेल्ने सपना प्यालेस्टाइनले लिएको छ। ‘राष्ट्रिय टोलीले विश्वकपमा छनोट हुने सपना राखेको छ र यसलाई सफल बनाउनेछौं’, हमाद भन्छन्।

प्यालेस्टाइन खेलाडीहरुका लागि एउटै चुनौती भनेको इजरायली सेनाले प्यालेस्टाइन खेलाडीहरूलाई दिने पहिचान हो। इजरायलले कब्जा गरेको वेस्ट बैंक र गाजाका बासिन्दाका लागि हरियो परिचयपत्र दिइएको छ। यस्तै जेरूसेलममा रहेका प्यालेस्टाइनका लागि नीलो कार्ड दिइएको छ। इजरायलको प्रशासनले भ्रमण अनुमति नदिएसम्म उनीहरू एकअर्काको इलाकामा जान पाउँदैनन्।

फुटबल खेल्नका लागि प्यालेस्टाइन खेलाडीहरूले विशेष पासका लागि आवदेन दिनुपर्छ। ती आवेदन इजरायलले अस्वीकृत गर्न पनि सक्छ। सन् २०१९ मा गाजाका फुटबल टोलीलाई वेस्ट बैंक आउन इजरायलले अनुमति दिएको थिएन।

प्यालेस्टाइन फुटबल एशोसिएसनका अध्यक्ष जिब्रिल राजूब इजरायलको दमनका बावजुद पनि आफूहरूले खेलमा राम्रो सुधार गरेको बताउँछन्। इजरायलको यस गतिविधिलाई आफूहरूले फिफामा निरन्तर उठाइरहेको उनको भनाइ छ। ‘इजरायलको क्रूर कब्जा र दमनबारे हामीले फिफामा बारम्बार कुरा उठाउँदै आएका छौं।

लण्डनमा आधारित एक संस्थाले गरेको सर्वेक्षण अनुसार प्यालेस्टाइन राहदानी विश्वकै कमजोरमा पर्छ। त्यस राहदानी बाहकले विश्वका ३८ देशमा मात्रै आगमनलगत्तै भिसा पाउँछन्। यसकारण पनि खेलाडीहरूलाई छनोट चरणमा सहभागी हुनका लागि झन्झट छ। अधिकांश प्रतियोगिता रद्ध गर्न उनीहरू बाध्य छन्।

सन् २००७ मा सिंगापुरलाई हराएको प्यालेस्टाइन राष्ट्रिय टोली फिफा २०१० को छनोट चरणमा उपस्थित हुनसकेन। गाजातर्फका खेलाडीलाई इजरायलले अनुमति नदिंदा उपस्थित हुन नसकिएको प्यालेस्टाइनले जवाफ पठायो। प्यालेस्टाइन टोली आउन नसक्दा सिंगापुर स्वत: छनोट भयो।

यात्राको राजनीति

३० जना रहेका प्यालेस्टाइन टोलीलाई ट्युनिसियाका पूर्व फुटबल खेलाडी मकरम डाबुले प्रशिक्षण दिन्छन्। यात्राको राजनीति विभाजनकारी हुनसक्ने उनी बताउँछन्। हाम्रो तालिम केन्द्र वेस्ट बैंकमा छ। म त्यहाँ जान र तालिम दिन सक्छु। तर म गाजामा जान सक्दिनँ तिनीहरू पनि वेस्ट बैंकमा आउन सक्दैनन्’, डाबु भन्छन्।

गाजामा सन् २००७ देखि इजरायली र इजिप्टियन सेनाले जमिन, हवाई र समुद्री रूटमा नाकाबन्दी गरेको छ। त्यस क्षेत्रमा कूटनीतिज्ञ, पत्रकार र सहायता सम्बन्धी काम गर्ने संस्थाका कर्मचारीलाई मात्रै प्रवेश दिइन्छ। ‘प्रशिक्षण शिविर वा खेलहरूमा भाग लिने सन्दर्भमा आवागमनको स्वतन्त्रता गाह्रो छ। स्वीकृति लिनै एकदिन भन्दा बढी लाग्छ’, डाबुले भने।

यस विषयमा फिफाका प्रवक्ता भन्छन्, ’भिसाको विषयमा आयोजक राष्ट्रकै भूमिका प्रमुख हुन्छ। यद्यपि एएफसी एशियन कपको हकमा एएफसी र फिफाको प्रतियोगिताको हकमा फिफा जिम्मेवार हुन्छ।’

वेस्ट बैंक, जेरूसेलम, गाजा, इजिप्ट र पोर्चुगलमा आफ्ना खेलाडीहरू छरिंदा प्यालेस्टाइन फुटबल टोलीले विभिन्न चुनौतीको सामना गरिरह्यो। तर हाल, यात्रा प्रतिबन्धको बावजुद प्यालेस्टाइन टोली सन् २०२४ को एशिया कपलाई लिएर आशावादी छ।

सन् २०२१ मा डाबु प्रशिक्षक भएर आएदेखि प्यालेस्टाइन टोलीको खेलमा विस्तारै सुधार आएको छ। ‘विगत केही महिनादेखि हामीले उल्लेखनीय उपलब्धि हात लगाउँदै आएका छौं। एशियन कपमा छनोट हुनु हाम्रा लागि निकै महत्वपूर्ण क्षण हो’, डाबुले भने।

सन् २०२२ मा एएफसीले फिफा २०२६ का लागि ३२ बाट ४८ राष्ट्रलाई सहभागी गराउने बतायो। सन् १९९८ पछि एशियाली टोलीका लागि अब चारस्थान थपिएको छ। अब आठ वटा एशियाली मुलुक विश्वकपमा छनोट हुनेछन्। सन् २०२६ को विश्वकपमा एशियाली मुलुकको संख्या बढ्ने भएसँगै यसले प्यालेस्टाइन टोलीमा नयाँ संभावनाको आशा जगाएको छ। सन् २०२३ मा एएफसी खेल्नुअघि प्यालेस्टाइनले वेस्ट एशियन फुटबल फेडरेसनमा आफ्नो कौशल देखाउनेछ। यी दुवै प्रतियोगिता विश्वकप छनोट खेल्नुअघिका महत्वपूर्ण खेल हुनेछन्। ‘सन् २०२६ को विश्वकपको छनोट चरणमा हामीले राम्रो खेल्नेछौं भन्नेमा आशावादी छु। राष्ट्रिय टोलीबाट सेन्टर ब्याकमा खेल्ने यासिर हम्मद भन्छन्।

 फुटबलप्रतिको प्रेम

 प्यालेस्टाइन टोली एशिया कपको खेलका कारण उर्जामा छ। हम्मद सन् २०२६ को विश्वकपका लागि निकै आशावादी छन्। उनी प्यालेस्टाइन पिता र स्पेनी आमाका सन्तान हुन्। आफ्नो फुटबल करियरमा पिताले नै प्रोत्साहन गरेको उनी बताउँछन्। ‘जब मेरो बुवा प्यालेस्टाइनबाट स्पेन जानुभयो, त्यहाँ उहाँले फुटबल खेल्नुभयो र उहाँमा यो खेलप्रति असाध्यै लगाव बस्यो। त्यसैले होला सानैदेखि म पनि यो खेलप्रति असाध्यै आकर्षित थिएँ’, उनले भने।

सिंगापुरविरूद्धको खेलमा हम्मदले गोल गरेका थिए। स्पेनी नागरिकताधारी उनी स्पेनबाटै खेल्न पाउँछन्। तर उनी राष्ट्रिय खेलहरू प्यालेस्टाइनबाट खेल्ने गर्छन्। ‘म प्यालेस्टाइन भएकोमा गर्व गर्छु त्यसैले प्यालेस्टाइनबाट खेल्दा जति मज्जा अन्त खेल्दा आउँदैन। मेरो खेल एकप्रकारले न्यायको लागि लडाइँ पनि हो’, हम्मद भन्छन्।

फिफा २०२६ को बाटो तयका लागि महाद्वीपीय छनोट खेलको यात्रा नोभेम्बर १६ बाट सुरू हुनेछ। एशियन कपको लागि राष्ट्रिय टोली छनोट भएपछि प्यालेस्टाइन फुटबल एशोसिएसनले खेलाडीको मेडिकल कार्यक्रमका लागि सहयोग जुटायो। त्यसमा चिकित्सक, पोषणविद् र फिटनेश प्रशिक्षक छन्। ‘एक कुशल खेलाडी बन्नका लागि शारीरिक र मानसिक तन्दुरूस्ती आवश्यक छ। हामीले दुवै तरिकाले आफूलाई फिट राखेपछि मात्रै राम्रो प्रदर्शन गर्न सक्छौं’, सहिन भन्छन्।

राष्ट्रिय टोलीमा पोषणविद्को समेत साथ रहने भएपछि टोलीले उच्च प्रदर्शन गर्ने विश्वास सहिनको छ। उनी स्वयं पोर्चुगिज लिगमा चम्किरहेका छन्। सहिनसँगै प्यालेस्टाइन फुटबल एशोसिएसनले पनि आफ्नो राष्ट्रिय टोली अब विश्वव्यापी मापदण्ड अनुसार प्रशिक्षणमा रहेर राम्रो नतिजा निकाल्नेमा आश्वस्त छन्।

पूर्वाधारका परियोजना

प्यालेस्टाइनले फिफाको सदस्यता सन् १९९८ मा लिएको थियो। यद्यपि पीएफए र फिफाको सम्बन्ध सुमधुर छैन। पीएफएले फिफामा इजरायली ज्यादतीविरुद्ध कैयौं उजुरी दिएको छ। फिफाले इजरायलको नियन्त्रणमा रहेको प्यालेस्टाइन खेलकुदलाई आफूहरूले केही गर्न नसक्ने जवाफ दिएको छ। सन् २०१५ मा पीएफएले इजरायली फुटबल एशोसिएसनको सदस्यता खारेजीका लागि फिफासँग माग राखेको थियो। इजरायली सरकारले प्यालेस्टाइन खेलाडीलाई बन्धक बनाएर अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेकाले फिफाले दण्डित गर्नुपर्ने उसको माग थियो।

फिफाले इजरायलले कुनै पनि कानुनको उल्लंघन नगरेको बतायो भने पीएफएलाई उजुरी फिर्ताको दबाव पनि दियो। यो तनावका बीच पीएफएले फिफाबाट २१ करोड डलर बराबरको सहयोग पाएको छ। ‘प्यालेस्टाइनमा फूटसल बनाउनेदेखि रंगशाला निर्माणमा फिफाले सहयोग गरिरहेको छ’, फिफाले भनेको छ।

विश्वकपमा मोरक्कोको सफलताले हौसिएको प्यालेस्टाइन

सन् २०१३ मा युरोपियन फुटबल संघले अण्डर २१ च्याम्पियनसिपको आयोजना इजरायललाई दिने निर्णय गर्‍यो। धेरै मानवअधिकारवादी संघ–संस्थाले त्यसको विरोध जनाएका थिए। फिफा २०२६ आउन अझै तीन वर्ष बाँकी छ। तर गएको विश्वकपमा मोरक्कोको प्रदर्शनबाट प्यालेस्टाइन पनि हौसिएको छ। ‘हाम्रो टोलीलाई तयार बनाउनका लागि हामीसँग योजनाहरू छन्। त्यही योजनालाई कार्यान्वयन गर्दै एशिया कपदेखि विश्वकप छनोटसम्म हामी राम्रो नतिजा निकाल्नेछौं’, पीएफएका महासचिव अबु हिलालले भने।

एशियाका लागि थपिएको कोटामा आफूहरूले स्थान बनाउने प्रशिक्षक डाबुको भनाइ छ। ‘मोरक्कोले राम्रो नतिजा निकाल्दा हामीले पनि नसक्ने भन्ने हुँदैन। सन् २०२६ को थपिएको कोटामा हामी पर्छौं नै र विश्वकपमा छनोट भएरै छाड्नेछौं’ डाबु भन्छन्, ‘मोरक्कोको झैं जादु हामी पनि देखाएरै छाड्छौं।’

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?