+
+

लिग टु : नेपाललाई यूएईमा लय कायम राख्ने चुनौती

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ फागुन १४ गते ९:४८

१४ फागुन, काठमाडौं । ओडीआई मान्यता जोगाउँदै वान डे विश्वकपको क्वालिफायर खेल्ने लक्ष्यमा रहेको नेपाललाई सोमबारदेखि यूएईमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग टुको शृखंलामा घरेलु मैदानमा गरेको प्रदर्शनलाई कायम राख्ने चुनौती हुनेछ ।

केही दिनअघि त्रिवि मैदान कीर्तिपुरमा भएको स्कटल्याण्ड र नामिबियासहितको लिग टु शृखंलामा नेपालले कीर्तिमानी प्रदर्शन गर्दै लिग टुको शीर्ष तीनमा रहने सम्भावनालाई कायमै राखेको छ । फागुन १५-२२ मा हुने शृखंलामा नेपाल, यूएई र पपुवा न्युगिनीले प्रतिस्पर्धा गर्नेछन् ।

भारतीय प्रशिक्षक मोन्टी देसाईको आगमनपछि नेपाली टोलीमा अहिले गज्जबको लय देखिएको छ । खेलाडीमा आत्मविश्वास बढेको देखिन्छ । उनले ‘हृयाप्पी ड्रेसिङ रुम’को मन्त्रले टिमलाई एकजुट बनाएका छन् ।

नेपालले अब लिग टुमा खेल्न बाँकी ८ मध्ये ७ खेल जितेमा विश्वकप छनोटमा स्थान बनाउनेछ । ८ मा ५ खेल जितेमा ओडीआई मान्यता जोगाउनेछ । हेर्दा र भन्दा सामान्य देखिए पनि यो उत्तिकै चुनौतीपूर्ण पनि छ । उता यूएईले पनि ८ खेल नै खेल्न बाँकी छ र ६ खेल जितेमा शीर्ष स्थानमा रहेर विश्वकप छनोटमा पुग्नेछ ।

विश्वकप छनोट आगामी जुन-जुलाईमा जिम्बावेमा हुनेछ, जहाँ सुपर लिगको पुछारमा रहने चारसहित पाँच राष्ट्र हुनेछन् । लिग टुको शीर्ष तीन टिम अनि प्लेअफ क्वालिफायरबाट आएका शीर्ष दुई गरी कूल १० टिमले विश्वकप छनोट खेल्नेछन् । यहाँबाट शीर्ष दुईमा रहने टिममात्र आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा छनोट हुनेछन् । ठूला टेष्ट राष्ट्रहरु समेत रहने भएकाले नेपालका लागि विश्वकपमै छनोट हुन निकै कठिन देखिन्छ ।

तर विश्वकप छनोटमा स्थान बनाउन सके नेपालले टेष्ट राष्ट्रहरुसँग खेल्ने अवसरसँगै खेलाडीहरुका लागि पनि अनुभव बटुल्ने मौका हुनेछ जसले नेपाली क्रिकेटको भविष्यलाई निकै फाइदा पुग्नेछ । त्यो स्थानमा पुग्नका लागि पनि नेपालले केही खुडि्कला पार गर्न बाँकी नै छ ।

त्यसको चुनौती भोलि (सोमबार)देखि युएईमा सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली युएई पुगिसकेको छ ।

यसपटक दुई युवा खेलाडी पहिलो पटक सिनियर टोलीसँग छन् । फास्ट बलर प्रतिश जिसी र लेग स्पीनर श्याम मौसम ढकालले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् ।

यसअघि घरेलु मैदानमा भएको शृखंलामा दुवै जना रिजर्भमा थिए । रिजर्भमै रहेका आरिफ शेख पनि टिममा फर्किएका छन् ।

तर बलात्कार आरोप लागेका स्पीनर सन्दीप लामिछाने भने युएई टुरमा छैनन् । उच्च अदालतबाट धरौटीमा रिहा भएपछि क्यानले निलम्बन फुकुवा गर्दै सन्दीपलाई घरेलु मैदानमा भएको शृखंला खेलाएको थियो जहाँ उनले ४ खेलमा १३ विकेट लिएका थिए ।

क्यानले सन्दीपलाई यूएई पनि लैजाने प्रयास गरेको थियो तर यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्दा विदेश जान नपाउने जनाएको थियो । त्यसैले सन्दीपको अनुपस्थितमा उनको स्थानमा कसले खेल्ला भन्ने चासो छ । यस्तै दुई नयाँ खेलाडीले युएईमा अवसर पाउने सम्भावना छ ।

घरेलु मैदानमा खेल्दा नेपालसँग फास्ट बलिङमा सोमपाल र करण केसीपछि गुलशन झा विकल्पप थिए । तर प्रतिशको आगमन र आरिफ शेख पनि फर्केपछि नेपालको थप विकल्प छ ।

स्पीन डिपार्टमेन्ट भने सन्दीप नहुँदा ललित राजवंशीले सम्हाल्नुपर्नेछ । घरेलु मैदानमा ललितको प्रदर्शन ठिकठाकै थियो । यसअघि टिममा स्थान बनाएका सूर्य तामाङ पनि टिमबाट बाहिरिएका छन् । त्यसैले ललितसँगै नयाँ खेलाडी श्याम ढकाल स्पीनमा हुनेछन् भने उनीहरु अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले सघाउने छन् ।

यूएईको पिच कन्डिसन अनुसार नेपाली टिमको कम्बिनेसन तय हुनेछ । नेपालले सोमबार पुवा न्युगिनीसँग शृखंलाको पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले फागुन १८ मा युएईसँग खेल्नेछ भने फागुन १९ मा फेरि पपुवा न्युगिनी र फागुन २२ मा युएईसँग खेल्नेछ ।

कम्तीमा तीन खेल जित्नैपर्ने चुनौती

नेपालले शीर्ष तीनको सम्भावना कायम राख्न यस शृखंलामा कम्तीमा पनि तीन खेल जित्नै पर्ने चुनौती छ । चारवटै खेल जितेमा घरेलु मैदानमा अन्तिम सिरिज खेल्नुअघि सहज अवस्थामा हुनेछ ।

यदि पपुवा न्युगिनीले यूएईलाई दुवै खेलमा पराजित गरेमा नेपाललाई अझ फाइदा हुनेछ । नामिबियाले पछिल्लो खेलमा यूएईलाई पराजित गरेपछि सबै ३६ खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा छ । त्यसैले नेपाललले शीर्ष स्थानमा पुग्न अब १४ अंक जोड्नुपर्नेछ । यूएई र नामिबियाबीच भएको दुई खेलमा दुवैले १-१ खेल जितेका थिए ।

स्कटल्याण्ड र ओमान सबै ३६ खेल खेल्दै शीर्ष दुईमा रहेर विश्वकप छनोटका लागि छानिइसकेका छन् । सबै ३६ खेल खेलिसकेको नामिबिया भने अब नेपाल र यूएईको नतिजा पर्खेर बसेको छ । नेपाल र यूएई भने नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा पुग्ने होडमा छ ।

यसअघि नै अन्तिम स्थानमा रहने पक्का हुँदै प्लेअफ क्वालिफायरमा झरेको पपुवा न्युगिनीलाई जस्तो नतिजा आए पनि फरक पर्ने छैन । तर अब हुने दुवै श्रृंखलामा पपुवा न्युगिनी रहेकाले नेपाल र यूएईविरुद्ध उसले निकाल्ने नतिजा नामिबियाको लागि भने फाइदाजनक हुन सक्छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?