+
+

अनि फागुनी महरा चमार हेरेको हेर्‍यै भए

जब महानगरले जुत्ता सिलाउने सरसामान उठाइदियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते ८:११

काठमाडौं । त्यो मध्यान्ह फागुनी महरा चमार हेरेको हेर्‍यै भए ।

बिहान सबेरै डेराबाट निस्किएका उनी सधैंझैं यूएनपार्क नजिकको सडक किनारमा बसेर जुत्ता सिलाउँदै थिए । थोत्रो साइकल, जुत्ता राख्ने काठको बाकस, केही थान थोत्रो जुत्तासहित उनी पुग-नपुग चार हात जति जग्गा ओगटेर बसेका थिए ।

घाम चर्को थियो । उनको निधारमा पसिनाको थोप्लो चुहिंदै थियो । सामुन्ने सडकबाट उडेका धुलोको कणहरुले उनलाई धुस्रोफुस्रो बनाउँथ्यो । थोडा उनले धूलो-घाम अहिले मात्र झेलेका हुन् र ? जन्मेदेखि नै उनको धरातल यही हो । सुकिलो-मुकिलो कसरी हुने ?

३० वर्षयता उनी उस्तै छन्, जस्तो काठमाडौं आउँदा थिए । सर्लाही कविलासीका छिमेकहरु ‘गरिखान’ भन्दै रात्रिबस चढेर घर छाड्दा उनी पनि त्यही लस्करमा मिसिए । त्यसबेला उनी लक्का जवान थिए, २०-२२ वर्षका ।

त्यसबेला उनीसँग पुग्दो खर्च थिएन । सम्भवतः बसमा उभिएरै यात्रा गरे । घरबाटै पोको पारेको रोटी-तरकारीले भोक मेटे । एकसरो लुगा अनि खुट्टामा चप्पल । बस्, उनीसँग भएको जायजेथा भन्नु नै यति थियो ।

गाउँमा घरजग्गा नाम मात्रको । खेतीपातीका लागि जमिन थिएन, रोजगारीका लागि शिक्षा र सीप थिएन, उद्यम-व्यवसायका लागि पूँजी थिएन, वैदेशिक रोजगारीमा जानका लागि खर्च थिएन । गरिखाने मेलोमेसो थिएन ।

जुत्ता सिलाएर त्यहाँ गुजारा किन पो हुन्थ्यो र ? किनभने गाउँघरमा जुत्ता लगाउने मान्छे नै थिएनन् । पहिले-पहिले बाबु बाजेहरु ‘पञ्जाब’तिर लाग्थे । तर अहिले काठमाडौं नै पायक पर्‍यो ।

घरपरिवार छाडेर उनी ‘कमाएर पठाउँछु’ भन्दै निस्किए । काठमाडौं ओर्लिएपछि कहाँ जाने, कहाँ बस्ने ठेगान थिएन । साथीभाइकै डेरामा बास बसे । उनीहरुले नै जुत्ता पालिस गर्न, सिलाउन सिकाए । जुत्ता सिलाउने आवश्यक सरसामान जुटाए र बानेश्वर आसपासका सडक पेटीमा बसे । र, त्यसरी नै वर्षौंवर्ष गुजारे ।

उनलाई थाहा छैन, यो सहरको सुगन्ध कस्तो छ ? उनको घ्राणयन्त्रले त त्यही जुत्ताचप्पलको गन्धबाहेक केही अनुभूत गरेको छैन । उनलाई थाहा छैन, यो सहरको रंग कस्तो छ ? उनले देखेको त सडकपेटीमा यन्त्रवत् चलमलाउने असंख्यौं पाइला मात्र हुन् । उनलाई थाहा छैन, यो सहरको स्वाद कस्तो छ ? आफ्नै चुलोमा पाक्ने दुई छाक भातबाहेक उनको जिब्रोले अरु व्यञ्जन चाखेका छैनन् ।

काठमाडौंमा यत्तिका वर्ष बसिरहँदा उनले काठमाडौंको सग्लो अनुहार पनि देख्न पाएका छैनन् । एकाध पटक पशुपतिनाथसम्म पुगेका छन्, ‘भगवानको दर्शन’ गर्न भनी । बानेश्वर-बुद्धनगर आसपास नै उनको सम्पूर्ण सेरोफेरो भइदियो ।

घुम्ने रौस कसलाई हुँदैन ? मीठो-मसिनो खाने रहर कसलाई हुँदैन ? सुकिलो लुगा लगाउने रुचि कसलाई हुँदैन ? सहरले जतिसुकै हेलाहोंचो गरेपनि फागुनी महरा चमारको मन त उस्तै हो, जो अरुको हुन्छ ।

तर दुःख-गरिबीले गर्दा मनलाई नै मिचेर बाँच्नुपर्ने बाध्यता छ । त्यही बाध्यता, जसले उनलाई आफ्नै घरमा बस्न दिएन । त्यही बाध्यता, जसले उनलाई आफ्नी जहानको न्यानोपन अनुभूति गर्न दिएन । त्यही बाध्यता, जसले उनलाई आफ्ना लालाबालाको स्पर्श गर्न दिएन । परिस्थिति जतिसुकै रुखो भएपनि एउटा पिताको हृदय न हो, घर-जहान चटक्कै भुल्न नसकिने । त्यही घर-जहानका लागि उनले आफैंलाई भुलेका छन्, आफ्नो जीवनलाई भुलेका छन् ।

जे-जसरी हुन्छ, खर्चपानी जोहो गरेर दुई छोरोलाई पढाउने उनीसँग बाँचेको एक मात्र ध्येय हो । उनीहरुले पढेपछि आफूले जस्तो दिक्कलाग्दो जिन्दगी गुजार्नु पर्दैन भन्ने उनलाई लाग्छ । एक छोरी थिइन्, जसको विवाह भइसक्यो ।

छोरीलाई धुमधाम विवाह गरिदिने खर्च थिएन । न भोज खुवाउने खर्च थियो, न दहेज दिने । त्यसैले आफूजस्तै गरिब परिवारलाई छोरी सुम्पिए, जोसँग तामझामले विवाह गर्ने हैसियत थिएन ।

जे होस्, दुःख गरेरै बालबच्चा हुर्काए । बालबच्चा हुर्काउँदा हुर्काउँदै आफ्नो उमेर ढल्किएको पनि उनले पत्तो पाएन । औंला भाँचेर गन्ती लगाउँदा ६५ वर्ष नाघिसकेछ । तैपनि उनलाई जुत्ता सिलाउने कामले छाडेको छैन । यति नगरे त गुजारा पनि चल्दैन ।

दुःख पाएँ, अभाव भयो भनेर उनले कहिल्यै ठगी गरेनन् । महंगीले असाध्यै पिरोल्दा पनि उनले आफ्नो श्रमको भाउ बढाएनन् । बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म अटुट काम गरिरहँदा ७-८ सय रुपैयाँ कमाइ हुन्थ्यो । पसिना र इमानले कमाएको यही पैसाले उनको घरको चुलो बल्थ्यो ।

तर दिन सधैं एकनास नहुने । त्यस दिन कतैबाट हुँइकिएर एउटा गाडी उनकै अघिल्तिर रोकियो । चार-पाँच जना नगर प्रहरी दौडिंदै उनी सामुन्ने आए । जुत्ता सिलाउँदै गरेको सरसामान फुत्तफुत्त ताने । काठको बक्सा र सोल ताने । पालिस र ब्रस ताने । कुरुस र धागो ताने । अनि हत्तपत्त गाडीमा हालेर अलाप भए ।

फागुनी चमार हेरेको हेर्‍यै भए ।

०००

के कति लगे ?

आसपासमा मान्छे भेला भएर उनीमाथि सहानुभूति राख्दै प्रश्न गरे ।

‘त्यै दुई हजार पच्चीस सयको सामान उठायो,’ एकदमै विस्मयको भावमा उनले भने । केही क्षण रोकिएर उनले तुरुन्तै थपे, ‘तर मेरो लागि त त्यति नै हो गरिखाने ।’

न रुनु, न कतै जानु । के गरौं, के नगरौं । उनी अलमलमा परे ।

उनले दिनहुँजसो पोलिस गर्ने, सिलाउने जुत्ताको मूल्य के कति पर्छ ? उनलाई भेउ छैन । सोधीखोजी गर्ने कुरा पनि भएन । तर, ती जुत्ताका मर्मत गर्नका लागि उनले जुटाएका सरसामनको चानचुन २ हजार रुपैयाँको हो । संभवत यत्तिका मूल्यले बजारमा गतिलो जुत्ता नआउँदो हो । तर, उनको लागि यो सानोतिनो पैसा होइन । किनभने उनले यत्तिकै सरसामनबाट जीवन धान्ने हो ।

०००

भोलिपल्ट । साविकको समय । सहर उस्तै गतिशील छ । सडकमा उसैगरी गाडीहरु गुडिरहेका छन् । हामीले देख्यौं, फागुनी चमार हिजोकै ठाउँमा बसेर जुत्ता सिलाइरहेका छन् । यद्यपि उनको अघिल्तिर ति सरसामान छैन, जो हिजोसम्म थियो ।

‘आफ्नो सामान लिनुभएन ?’ हामीले सोध्यौं ।

‘अँह’ उनले मसिनो स्वरमा भने, ‘टेकुमा पुर्‍याएको छ भनेर लिन गए । हप्काएर पठायो । त्यहाँ मेरोजस्तो सामानको थुप्रो रहेछ । कसैलाई पनि फिर्ता नदिने रहेछ ।’

‘तपाईंको सामान चाहिं किन उठाएका रहेछन् ?’

‘थाहा छैन,’ उनले सुनाए, ‘झ्याप्प आएर उठाएर लग्यो । केही भनेन । थाहा छैन ।’

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?