+
+
विशेष रिपोर्ट :

कांग्रेस राजनीतिको नर्सरी नेविसंघ इतिहासकै कमजोर अवस्थामा

नेविसंघको राजनीतिबाट उदाएका शेरबहादुर देउवा अहिले कांग्रेस सभापति छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिको जग पनि त्यही हो । अधिकांश पार्टी पदाधिकारी पनि त्यही पृष्ठभूमिका छन् । तर, कांग्रेस राजनीतिको यो नर्सरी इतिहासकै कमजोर अवस्थामा छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ फागुन १५ गते ९:२९

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नर्सरी संगठनको रूपमा रहेको नेपाल विद्यार्थी संघ पार्टी नेता उत्पादन गर्ने ‘कारखाना’ का रूपमा परिचित छ । तर, नेविसंघ अहिले नर्सरी न कारखानाको अवस्थामा छ । पार्टी गुटले चरम समस्यामा फसेको नेविसंघका लागि देखाउने गर्विलो इतिहास छ । तर, विद्यार्थी तथा युवालाई देखाउने सुनौलो योजना छैन । नेविसंघ गन्तव्य र उद्देश्यविहीन देखिन्छ ।

माउ पार्टी कांग्रेसले प्रमुख भ्रातृ संस्था माथि हस्तक्षेप बढाउँदा संघको भविष्य नै अन्योलग्रस्त देखिएको छ । कुनै बेला पञ्चायती व्यवस्थालाई सडकबाट चुनौती दिने सामथ्र्य राख्ने नेविसंघ अहिले आफ्नै पार्टी नेतृत्वसँग लम्पसार छ । यतिसम्म कि ऊ आफ्नो खुट्टामा उभिएर महाधिवेशन समेत गराउन सक्ने अवस्थामा छैन । पार्टीले महाधिवेशनका लागि सहजीकरण गरिदिएहुन्थ्यो भनेर माउ पार्टीको मुख ताकेर बस्छ ।

टिके प्रथा विकृतिको स्रोत

नेविसंघको नेतृत्व चयनका लागि अपनाइएको विधिले पार्टी आलोचित हुँदै आएको छ । प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व छनोट गर्ने लोकतान्त्रिक परम्परा कुल्चिएर टिके मनोनीत बाटो समाउँदा नेतृत्वलाई त आफ्नो मान्छो छनोट गर्न सजिलो भएको छ तर कांग्रेसको प्रमुख भ्रातृ संस्थामा विकृति चरम मौलाएको छ ।

नेपाल विद्यार्थी संघका हालसम्म २० अध्यक्ष छन् । तीमध्ये महाधिवेशनबाट चुनिएका ११ जना छन् । नेविसंघको ५२ वर्षे इतिहासमा ११ वटा मात्रै महाधिवेशन भएका छन् । नियमित महाधिवेशन भएको भए २७औं अध्यक्ष महाधिवेशन मार्फत चुनिएको हुने अवस्था हुन्थ्यो । पूर्व सभापति सुशील कोइरालाको समयदेखि नेविसंघमा तदर्थवाद हाबी भएको संस्थापक अध्यक्ष विपिन कोइराला दाबी गर्छन् । ‘सुशीलले सुरु गरेको गलत कामलाई देउवाले पनि साथ दिए’, कोइराला भन्छन् ।

६ वैशाख २०२७ मा स्वयम्भूको सत्तलमा नेता कृष्णप्रसाद भट्टराईबाट उद्घाटित पहिलो महाधिवेशनबाट विपिन कोइराला संस्थापक अध्यक्ष बनेका थिए । मार्शलजुलुम शाक्यलाई पराजित गरेर उनी नेविसंघको पहिलो अध्यक्ष बनेका थिए ।

पञ्चायती व्यवस्था विरुद्ध सक्रिय भएको आरोपमा कोइरालालाई तत्कालीन सरकारले पक्राउ गर्‍यो । उनी जेलमा रहेको बेला २०२८ सालमा दोस्रो महाधिवेशन भयो । यो महाधिवेशनबाट नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा संघको दोस्रो सभापति बनेका थिए । तर महाधिवेशन भए पनि देउवा मनोनीत सभापति भएको संस्थापक अध्यक्ष कोइराला दाबी गर्छन् ।

नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला ।

दुईवर्षे कार्यकाल रहेको संघमा आठ वर्षपछि (२०३६ सालमा) मात्रै देउवाले पद छोडे । राजनीतिक व्यवस्थाका कारण समयमै तेस्रो महाधिवेशन गरी पद हस्तान्तरण गर्न नसकिएको देउवाको जिकिर थियो । ‘प्रतिकूल समयमा संगठन बनेको हो । अलि अलि धरपकड त हुन्थ्यो’ संस्थापक अध्यक्ष विपिन कोइराला भन्छन्, ‘म जेल बसेरै दोस्रो महाधिवेशन गराएको हुँ । खास कुरा देउवाले महाधिवेशन गराउन चाहनुभएन ।’

२०३६ सालमा भएको तेस्रो महाधिवेशनबाट विमलेन्द्र निधि अध्यक्ष चुनिए । यो महाधिवेशनमा पनि निर्वाचन भएन । कांग्रेस संस्थापक नेता बीपी कोइरालाले उनलाई सभापति मनोनीत गरे । विधिवत् ‘टिके प्रथा’ यसै महाधिवेशनबाट सुरु भयो । महेन्ऽनारायण निधिको छोरा हुनु र मधेशको ‘सेन्टिमेन्ट क्याच’ गर्न बीपीले निधिलाई अध्यक्ष तोकेको विश्लेषण कांग्रेसमा हुने गरेको छ ।

२०३९ सालमा चौथो सभापति बनेका ज्ञानेन्ऽबहादुर कार्की, २०४० सालमा पाँचौं सभापति बनेका बलबहादुर केसी र २०४४ मा छैटांै सभापति बनेका बालकृष्ण खाँण तीनैजना मनोनीत अध्यक्ष हुन् । दुईवर्षे पदावधि हुने संघमा पञ्चायतकाल ३० वर्षमा मात्रै ३ वटा महाधिवेशन भएका थिए । नेतृत्व हस्तान्तरण गर्ने क्रममा विना महाधिवेशन जिम्मेवारी सुम्पिएको थियो ।

बहुदलीय व्यवस्था पुनर्बहालीपछि २०४८ असोजमा भएको सातौं महाधिवेशनबाट एनपी साउद अध्यक्ष बने । व्यवस्था परिवर्तन भएर खुला राजनीतिको वातावरण हुँदा समेत आठौं र नवौं अध्यक्ष मनोनीत नै भए । २०५२ सालमा अध्यक्ष बनेका धनराज गुरुङ र २०५३ सालमा नवौं अध्यक्ष बनेका गोविन्द भट्टराई मनोनीत अध्यक्ष हुन् ।

हाल पार्टी महामन्त्री रहेका विश्वप्रकाश शर्मा २०५७ सालमा निर्वाचित अध्यक्ष भए । २०५९ सालमा अध्यक्ष बनेका गुरुराज घिमिरे पनि निर्वाचित ११औं सभापति हुन् । त्यसै समय पार्टी विभाजन पछि कांग्रेस (प्रजातान्त्रिक) तर्फको संघको अध्यक्ष किशोरसिंह राठोर बनेका थिए । पार्टी विभाजनपछि सभापति देउवाले उनलाई जिम्मेवारी दिएका थिए । २०६० सालमा अध्यक्ष बनेका केशव सिंह र २०६२ मा नेविसंघको नेतृत्व सम्हालेका महेन्द्र शर्मा पनि मनोनीत अध्यक्ष हुन् ।

१५औं अध्यक्ष बनेका प्रदीप पौडेल २०६४ सालमा निर्वाचन मार्फत चुनिएका थिए । संघका १६औं अध्यक्ष कल्याण गुरुङ र १७औं अध्यक्ष रञ्जित कर्ण मनोनीत हुन् । गुरुङ कांग्रेस प्रजातान्त्रिक निकटको विद्यार्थी संगठनबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बीच पार्टी एकीकरण हुँदा विद्यार्थी संगठनको नेतृत्व मूल धारको कांग्रेस (गिरिजा पक्ष) को भागमा पर्‍यो ।

२०६४ मा भएको महाधिवेशनपछि एकै चोटि २०७३ सालमा महाधिवेशन भएर अध्यक्षमा नैनसिंह महर चुनिए । उनी संघको १८औं अध्यक्ष हुन् । त्यसपछि बनेका राजीव ढुङ्गाना र दुजाङ शेर्पा (हाल अध्यक्ष) दुवै मनोनीत हुन् । १३औं महाधिवेशनपछि तदर्थ समिति बनाउने र मनोनीत गर्ने कार्यमा थप वृद्धि भएको संघका पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।

यसरी महाधिवेशन गर्ने जिम्मेवारी पाएर तदर्थ समितिको अध्यक्ष हुनेहरूमा ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, किशोरसिंह राठोर, केशव सिंह, महेन्द्र शर्मा, रञ्जित कर्ण, राजीव ढुङ्गाना र दुजाङ शेर्पा हुन् ।

मनोनीत नेतृत्व र गुटगत राजनीति

नेविसंघको सह-महामन्त्री पदमा पुगेर पनि सक्रिय राजनीतिमा रहिनन् सिर्जना अधिकारी । नेविसंघमा उनको क्षमताको खुलेर प्रशंसा हुने संघका पूर्व नेताहरू सम्झन्छन् । चितवनकी अधिकारी संघसंस्थामा आवद्ध रहे पनि कांग्रेसको राजनीतिमा छैनन् । महेन्द्र शर्मा संघको अध्यक्ष हुँदा उनी नेविसंघको सहमहामन्त्री थिइन् । संगठन निर्माण र अध्ययन दुवै क्षेत्रमा उनी अब्बल रहेको उनको कार्यकालका नेताहरू स्मरण गर्छन्

राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाएर पञ्चायती व्यवस्था लागू गरेपछि बहुदलीय व्यवस्थाको आन्दोलनमा सक्रिय बनाउन कांग्रेसले गठन गरेको भ्रातृ संस्था हो, नेविसंघ । नेताहरू जेल तथा निर्वासनमा भएको समय आन्दोलनलाई ऊर्जा र निरन्तरता दिन नेविसंघको महत्वपूर्ण भूमिका थियो ।

जनकपुर अञ्चलका ६ जिल्लाबाट काठमाडौं आएर अध्ययनरत विद्यार्थीले २०१९ सालमा ‘गौरीशंकर छात्र समिति’गठन गरेका थिए । जनकपुर अञ्चलका विद्यार्थीले गठन गरेको छात्र समितिको अनुसरण अन्य अञ्चलबाट आएका विद्यार्थीले पनि गरे ।

प्रजातन्त्रवादी विद्यार्थीको संगठनको आवश्यकता रहेको सुवर्णशमशेरले पार्टीमा सुनाए । उनकै परामर्श बमोजिम कांग्रेस निकटका विद्यार्थी एकत्रित हुन पुगेको नेविसंघका संस्थापक अध्यक्ष कोइराला स्मरण गर्छन् । त्यसबेला पार्टी प्रतिबन्धित हुँदा व्यवस्था परिवर्तनका लागि हुने आन्दोलन प्रभावकारी नहुने विश्लेषणसहित सशक्त संगठनको परिकल्पना गरिएको थियो ।

हुन पनि बहुदलीय व्यवस्था पुनर्बहाली तथा गणतन्त्र स्थापनामा नेविसंघले उल्लेखनीय भूमिका निर्वाह गर्‍यो । जनमत संग्रह विद्यार्थी आन्दोलनबाट नै सम्भव भएको संघका पूर्व अध्यक्ष गुरुराज घिमिरे दाबी गर्छन् ।

‘जनमत संग्रह पार्टीहरूका कारणले भएकै होइन, विद्यार्थी संगठनका कारण सम्भव भएको हो’ पूर्व अध्यक्ष घिमिरे भन्छन्, ‘पाकिस्तानी दूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले लाठी चार्ज गर्दा विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसपछि जनमत संग्रह गर्न शासकहरू तयार भएका हुन् ।’

व्यवस्था परिवर्तनका लागि विद्यार्थी राजनीतिबाट उदाएका शेरबहादुर देउवा अहिले कांग्रेसको पार्टी सभापति छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिको जग पनि नेविसंघ नै हो । पदाधिकारीमा रहेका अनुहारमध्ये अधिकांशको पृष्ठभूमि नेविसंघ हो । तर, यति महत्वपूर्ण स्रोत नेविसंघ इतिहासकै कमजोर भ्रातृ संस्था बनेको छ ।

११औं महाधिवेशन गरेको नेविसंघमा त्यसपछि दुई अध्यक्षले तदर्थ समितिको नेतृत्व गरे । तर अहिलेसम्म महाधिवेशनको सुरसार नै छैन । पछिल्लो समय त कार्यसमितिले पूर्णता पाउन सकेको समेत छैन ।

२०७३ सालमा अध्यक्षमा निर्वाचित भएका नैनसिंह महरले २०७५ माघमा राजीनामा दिएका थिए । समयमा महाधिवेशन गराउन नसकेको भनेर पार्टीले उनको राजीनामा मागेको थियो । ‘यो त्यो भन्दिनँ मैले राजीनामा दिनुपर्छ भनेर त्यसबेला सबै लागेका हुन्’, महरले अनलाइनखबरसँग भने । तर, उनले राजीनामा दिएको एक वर्षसम्म संगठन नेतृत्वविहीन भयो ।

एक वर्षपछि बनाइएको तदर्थ समितिको नेतृत्वमा राजीव ढुङ्गाना आए । पदाधिकारीले समेत पूर्णता नपाएको उक्त समितिले दुई वर्षसम्म अधिवेशन गराउन सकेन । कोरोना महामारी बहाना बन्यो । यसै बीचमा ढुङ्गाना पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०७८ चैतमा आएर सभापति देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा मनोनीत गरे । हालसम्म यो तदर्थ समितिमा अध्यक्ष मात्रै छन् । माघको मध्यतिर संघले पूर्णता पाउने नेताहरूले दाबी गरे पनि यो कार्यान्वयन हुन सकेन । विधानतः १०१ सदस्यीय कार्यसमिति हुने भनिए पनि पार्टीभित्रका फरक-फरक समूहलाई भाग पुर्‍याउन तदर्थ समिति ठूलो आकारको बन्ने सम्भावना छ । आ-आफ्नो समूहले नाम संकलन गरे पनि तदर्थ समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिक आइसक्दा पनि तदर्थ समितिले पूर्णता नपाउँदा नेविसंघ अन्योलमा देखिन्छ । तथापि, आफूहरू स्ववियु निर्वाचनको तयारीमा लागेको नेविसंघका अध्यक्ष शेर्पा बताउँछन् ।

नेकपा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनको नजिकै पनि निर्वाचनमार्फत नेतृत्व चयन गर्‍यो । प्रतिस्पर्धी दलको राजनीतिबाट समेत सिक्ने चेत नहुँदा संघका कार्यकर्तामा मूल नेतृत्वप्रति चर्को असन्तुष्टि छ । हुन पनि प्रतिस्पर्धी संगठनले स्ववियु निर्वाचनको मुखमा चुनाव गराएर नयाँ नेतृत्व चयन गर्दा कांग्रेसले मनोनीत समेत गर्न सकेको छैन ।

नेविसंघ बेथितिपूर्ण रूपमा सञ्चालनमा रहेको सदस्यताको वितरण तथा नवीकरणको अवस्थाले बताउँछ । नेविसंघमा आवद्ध विद्यार्थीको यकिन अभिलेख संघको केन्द्रीय कार्यालयमा छैन । नेविसंघका कार्यालय सचिव विजय खड्का नवीकरण र नयाँ सदस्यको यकिन विवरण नभएको स्वीकार गर्छन् । आसन्न स्ववियु निर्वाचनलाई ध्यानमा राखेर काठमाडौं र बाहिर सदस्यता वितरण जारी रहेको उनले बताए ।

२०६० सालतिर करिब पाँच लाख विद्यार्थी नेविसंघमा आवद्ध रहेको पूर्व अध्यक्ष घिमिरे दाबी गर्छन् । घिमिरेका अनुसार कतिपय अध्यक्षले सदस्यताको रसिद समेत छपाएनन् । उनका भनाइमा, ‘नेविसंघ नै अस्तव्यस्त भएकाले संघको कार्यालय व्यवस्थित हुने सम्भावना नै रहेन ।’

पार्टीको संस्थापन पक्षबाट अध्यक्ष बनेका शेर्पाले एकलौटी निर्णय गरेको भन्दै शेखर-गगन पक्षका विद्यार्थी नेताले समानान्तर गतिविधि गरिरहेका छन् । संघका अध्यक्ष शेर्पाले त्यसले मान्यता नपाउने बताइसकेका छन् । तर, जिल्ला र क्याम्पसमा आफू निकटलाई अध्यक्षले आफूखुसी संयोजक तोकेका कारणले बाध्य भएर समानान्तर गतिविधि गरेको शेखर-गगन पक्षकी विद्यार्थी नेता प्रेमिका रानामगर बताउँछिन् ।

हुँदाहुँदा पछिल्ला दिनमा नेविसंघ आफैं संचालन हुने स्वतन्त्र संगठन हो भन्ने नै लाग्दैन । विधान नै पार्टीले बनाइदिने गरेको छ । पार्टी सभापतिले आफूप्रति वफादारलाई मनोनीत गर्ने परम्पराले यो ऐतिहासिक संस्थामा क्षयीकरण भएको पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।

‘संस्थागत निर्णय छोडेर नेताले आफू निकटलाई मनोनीत गर्ने र मनोनीत भएको व्यक्ति पनि मनोनीत गर्ने नेताप्रति वफादार हुने प्रवृत्ति झांगियो’, घिमिरे भन्छन् । यसमा संस्थापक अध्यक्ष कोइराला पनि सहमत छन् । उनी भन्छन्, ‘मनोनीत नेतृत्व खोज्ने परम्पराले पार्टीभित्र स्थायी गुट बनाउन मलजल गरिरहेको छ ।’

जो हिजो सक्रिय थिए, आज विरक्तिए

नेपाल विद्यार्थी संघमा कुनै बेला क्रियाशील हुँदा सम्भावना बोकेका भनिएका कतिपय व्यक्ति अहिले सक्रिय राजनीति छोडेर बसेका छन् । कांग्रेसप्रति आस्थावान भए पनि उनीहरूले माउ पार्टीको राजनीतिमा चासो दिएनन् । यीमध्ये कतिपय विदेश पुगेका छन् भने केही नेपालमै भए पनि पार्टी राजनीतिमा छैनन् । नेविसंघको राजनीति गर्दागर्दै विदेश पुगेका कतिपय भने कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समितिमा आबद्ध छन् ।

स्ववियुको नेतृत्वमा पुगेसँगै कतिपय विद्यार्थी नेताहरू अनियमिततामा संलग्न भएको विषय उठ्दै आएको छ । विद्यार्थी नेतालाई भ्रष्टाचार गर्न मूलतः काठमाडौंका क्याम्पसले सिकाएको पूर्व विद्यार्थी नेता घिमिरेको भनाइ छ

नेविसंघको स्थापनाकालमा सक्रिय देवेन्द्रराज नेपाली एक उदाहरण हुन् । जो कांग्रेस राजनीतिमा टिक्न सकेनन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलका समकालीन उनी नेविसंघको स्थापनाकालमा प्रमुखमध्ये एक भएको संस्थापक अध्यक्ष कोइराला स्मरण गर्छन् । वीरगञ्ज निवासी उनको परिवारका सदस्य भने अहिले पनि कांग्रेस राजनीतिमा क्रियाशील छन् ।

नेविसंघ स्थापनाकालका सक्रिय डा. टीका पोखरेल कांग्रेस राजनीतिमा आएनन् । नेविसंघको पहिलो कार्यसमितिमा पोखरेल महामन्त्री थिए । नेविसंघको संस्थापक महामन्त्री पोखरेल सामाजिक संघसंस्थातिर लागे । २०४१ सालमा त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका जनकपुरका युवराज खाती पनि कांग्रेस राजनीतिमा सक्रिय भएनन् ।

२०४८ सालमा नेविसंघको महामन्त्री बनेका भक्ति सिटौलाले कांग्रेस परित्याग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका उनी हाल प्रदेश-१ को मन्त्री छन् । झापाका सिटौला कांग्रेस केन्द्रीय सदस्य एनपी साउद नेविसंघको अध्यक्ष हुँदा (२०४८ सालमा) महामन्त्री थिए ।
२०५९ सालमा गुरुराज घिमिरेसँग नेविसंघको अध्यक्षमा पराजित यादव पण्डित अहिले अमेरिकामा छन् । त्यसअघि विश्वप्रकाश शर्मा नेविसंघको अध्यक्ष हुँदा उनी महामन्त्री थिए । अध्ययन गर्न अमेरिका पुगेका पण्डितले परमाणु विज्ञानमा विद्यावारिधि गरेका छन् ।

उनले प्युठानबाट नेविसंघको राजनीति सुरु गरी संघको केन्द्रीय राजनीतिमा महामन्त्रीसम्म भएका थिए । सबैजसो विद्यार्थी नेता पार्टी राजनीतिमा आफ्नो ठाउँ बनाउन लागेको तर शैक्षिक क्षेत्र सुधारमा भूमिका निर्वाह गर्न नसकेको पण्डित बताउँछन् । उनले भने, ‘सक्रिय राजनीति छोडेर शैक्षिक क्षेत्रमा गरेको प्रगतिबाट म खुसी छु ।’

विद्यार्थी राजनीतिमा देखिएको सक्रियता र क्षमताबाट माउ पार्टीमा समेत स्थान बनाउन सक्ने आशा राखिएका नृप विष्ट विदेशिए । अछामका विष्ट नेविसंघको नेपालगञ्ज महाधिवेशनमा अध्यक्षमा कल्याण गुरुङसँग पराजित भएका थिए । त्यसअघि उनी उपाध्यक्ष पदमा थिए ।

यस्तै महिलाबाट कांग्रेस राजनीतिमा सम्भावना बोकेकी उर्मिला पञ्जियार पनि अमेरिका पुगिन् । विद्यार्थी राजनीतिमा सक्रिय उनी स्ववियु सभापति समेत बनेकी थिइन् । पद्मकन्या क्याम्पसको स्ववियु सभापति टीका चौधरी पार्टी राजनीतिमा अट्न सकिनन् । केन्द्रीय सदस्य कल्याण गुरुङसँग वैवाहिक जीवन सुरु गरेकी उनी पहिलो संविधानसभामा कैलालीमा प्रत्यक्षतर्फको उम्मेदवार बनेकी थिइन् । हाल उनी अमेरिकामा छिन् ।

नेविसंघको सह-महामन्त्री पदमा पुगेर पनि सक्रिय राजनीतिमा रहिनन् सिर्जना अधिकारी । नेविसंघमा उनको क्षमताको खुलेर प्रशंसा हुने संघका पूर्व नेताहरू सम्झन्छन् । चितवनकी अधिकारी संघसंस्थामा आवद्ध रहे पनि कांग्रेसको राजनीतिमा छैनन् । महेन्द्र शर्मा संघको अध्यक्ष हुँदा उनी नेविसंघको सहमहामन्त्री थिइन् । संगठन निर्माण र अध्ययन दुवै क्षेत्रमा उनी अब्बल रहेको उनको कार्यकालका नेताहरू स्मरण गर्छन् ।

त्रिविमा नेविसंघको नेतृत्व गरेका प्रदीप शर्मा, लोकराज भट्ट कांग्रेस राजनीतिमा सक्रिय छैनन् । पार्टीले उनीहरूलाई स्पेस दिएन । अघिल्लो स्थानीय निर्वाचनमा डडेल्धुरामा बागी उम्मेदवारी दिएपछि भट्टलाई पार्टीले अनुशासनको कारबाही गरेको थियो ।

पूर्वअध्यक्ष घिमिरेको कार्यकालका उपाध्यक्ष राजु थापा सञ्चार क्षेत्रमा छन् । एक समय नेविसंघको राजनीतिमा राम्रै स्थान बनाएका भीम भण्डारी, पूर्ण तिमिल्सिना, कृष्ण गिरी विदेशिएका छन् । नेविसंघको राजनीति बीचमै छोडेर विदेशिनेको संख्या उल्लेख्य छ । युरोप, अमेरिका, अष्ट्रेलिया लगायत देशमा यस्ता थुप्रै व्यक्ति छन् । पार्टीभित्रको षड्यन्त्र र आफ्नो स्वाभिमान जोगाउने मान्यताले संघको राजनीति छोड्नेहरूको संख्या उल्लेख्य रहेको पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।

समय-समयमा कांग्रेसका नेता कार्यकर्तालाई प्रशिक्षण गराउने, पार्टीका नीति र कार्यक्रम बताउने जिम्मेवारी नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको हुन्छ । अहिले उपसभापति पूर्णबहादुर खड्का उक्त प्रतिष्ठानको प्रमुख छन् । तर, उनी नेतृत्वको प्रतिष्ठानले पनि पूर्णता पाउन सकेको छैन । भर्खरै मात्र स्ववियु निर्वाचनलाई लिएर प्रशिक्षणका गतिविधि सुरु भएका छन् । स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण समितिको संयोजकमा एलिजा ढकाल मनोनीत भएकी छिन् ।

‘भ्रष्टाचार गर्न सिक्ने ठाउँ’

विद्यार्थीको ज्ञान, सीप बढाउने शैक्षिक मुद्दामा संघको कुनै तदारुकता देखिन्न । शिक्षा क्षेत्रको गुणस्तर बहस-विमर्श गर्न चुकिरहेको नेविसंघले विश्वविद्यालयका पदाधिकारीमा भने भाग खोज्न आन्दोलन गर्ने गरेको देखिएको छ ।

सामुदायिक विद्यालयको खस्किंदो शिक्षाका सम्बन्धमा नेविसंघले आवाज उठाएको सुनिएको छैन । सामुदायिक विद्यालयमा विद्यार्थी घट्न नदिने विषयमा हुने बहस छलफलमा कहींकतै नेविसंघ देखिंदैन । विद्यार्थीको अभावमा सामुदायिक विद्यालय बन्द हुने क्रम बढ्दो छ । निजी विद्यालयमा रहेका विद्यार्थीसम्म नेविसंघ कसरी पुग्ने भन्नेमा नेतृत्वलाई कुनै चासो देखिएको छैन । विगतमा देशको ध्यान तान्ने गरी संयुक्त विद्यार्थी आन्दोलन भएको उदाहरण छ । तर अरू विद्यार्थी संगठनसँग मिलेर संयुक्त रूपमा भएका विद्यार्थी आन्दोलनका कारणले शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भने नभएको संघका पूर्व अध्यक्ष महर बताउँछन् ।

स्ववियुको नेतृत्वमा पुगेसँगै कतिपय विद्यार्थी नेताहरू अनियमिततामा संलग्न भएको विषय उठ्दै आएको छ । विद्यार्थी नेतालाई भ्रष्टाचार गर्न मूलतः काठमाडौंका क्याम्पसले सिकाएको पूर्व विद्यार्थी नेता घिमिरेको भनाइ छ ।

‘बाहिरबाट आएका कतिपय विद्यार्थीले काठमाडौंका क्याम्पसमा भर्ना नपाउने हुँदा विद्यार्थी नेताहरूको सहयोग खोजे । भर्ना पाउनकै लागि हजार/पन्ध्रसय थप तिर्न मञ्जुर भए । त्यो पैसामा विद्यार्थी नेताहरू पल्किए’ घिमिरे भन्छन्, ‘स्ववियुमार्फत विद्यार्थी नेताले भ्रष्टाचार गर्न सिकेका कारण पनि संगठनहरू कमजोर हुँदै गए ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?