+
+

प्रचण्डलाई भेटेपछि विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री

जनक विष्ट जनक विष्ट
२०७९ फागुन १६ गते २०:०५

१६ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गतेभित्र विश्वासको मत लिने गरी तयारी थालेका छन् ।

केन्द्रमा आठदलीय गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटघाट गरेर फर्किएपछि शाहले विश्वासको मतबारे प्रदेशमा दलहरुसँग छलफल थालेका छन् ।

नयाँ सत्ता समीकरण बनेपछि मंगलबार मुख्यमन्त्री शाहले आठदलीय गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशीसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिने र मुख्यमन्त्री शाहले विश्वासको मत लिने विषयमा छलफल भएको हो ।

बैठकमा सहभागी कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले आगामी १९ गते हुने प्रदेशसभा सदस्यको प्रशिक्षण तथा मुख्यमन्त्रीको विश्वासको मतबारे छलफल भएको जानकारी दिए । ‘प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन आवश्यक व्यवस्थापन के कसरी मिलाउने ? भन्ने विषयमा छलफल गर्न मुख्यमन्त्रीज्यूले बोलाउनुभएको थियो’ खड्काले भने, ‘सोही विषयमा कुराकानी भयो । मुख्यमन्त्रीज्यूले विश्वासको मत कहिले लिदा उपयुक्त हुन्छ भनेर सल्लाह लिनुभएको थियो । २१ गतेभित्र लिनुपर्ने धारणा सबैबाट आयो ।’

तर बैठकमा मन्त्रालयको भागबण्डा लगायतका विषयमा भने छलफल भएन । माओवादी केन्द्रका प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले सरकारमा पावर सियरिङको कुरा शीर्ष तहका नेताहरुले टुंग्याउने भएकाले तत्काल त्यो विषयमा कुनै कुराकानी नभएको बताए । २५ गते राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न सांसदहरुले काठमाडौं जानुपर्ने भएकाले २१ गतेभित्र विश्वासको मत लिन उपयुक्त हुने सुझाव मुख्यमन्त्रीलाई दिएको उनको भनाइ छ ।

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरी, कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्का, माओवादीका अक्कल रावल, स्वतन्त्र सांसद जोशी सहभागी थिए ।

२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका राजेन्द्र सिंह रावल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २६ माघमा पदमुक्त भएका थिए । त्यसपछि ठूलो दलको हैसियतमा प्रदेश प्रमुखले शाहलाई नियुक्त गरेका थिए ।

तत्कालीन अवस्थामा नेकपा एकीकृत समाजवादी र कांग्रेसको समर्थन रहेका शाहलाई केन्द्रमा समीकरण फेरिएपछि माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समेत विश्वासको मत दिने भएका छन् । यस्तो अवस्थामा ५३ सदस्यीय प्रदेशसभा शाहले कांग्रेसका १९, माओवादीका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी समेत गरेर ४१ जनाको समर्थन पाउनेछन् ।

१० जना प्रदेशसभा सदस्य रहेको एमाले प्रमुख प्रतिपक्षी र एक जना प्रदेशसभा सदस्य रहेको राप्रपा प्रतिपक्ष बेञ्चमा बस्ने भएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?