१७ फागुन, काठमाडौं । स्ववियु निर्वाचन नजिकिएसँगै क्याम्पसहरुमा राजनीतिक चहलपहल बढ्न थालेको छ । स्नातकोत्तर तहको भर्ना कार्यक्रम सञ्चालन भइरहेकाले कतिपय क्याम्पसमा विद्यार्थी संगठनहरुले ‘हेल्प डेस्क’ राखेर सहजीकरण गरिरहेका छन् ।
आउँदो चैत ५ गते हुने स्ववियु चुनावको लागि एजेन्डा बनाउन क्याम्पसमा सुधार, स्ववियुसँग विद्यार्थीको अपेक्षा लगायत विषयमा सुझाव संकलन गरिरहेको विद्यार्थी संगठनका नेताहरु बताउँछन् । अधिकांश विद्यार्थीलाई भने संगठनहरुको यो सकृयता मन परिरहेको छैन ।
‘अहिले नयाँ विद्यार्थीको लागि अनेरास्ववियु र नेविसंघले ‘हेल्प डेस्क’ राखेका छन्, तर गएको मंसिरमा स्नातक पहिलो वर्षको भर्नाको बेला यीमध्ये कुनैले यसो गरेका थिएनन्’, पाटन बहुमुखी क्याम्पसमा बीए प्रथम वर्षकी विद्यार्थी बबिता बस्नेत भन्छिन्, ‘किनभने, त्यसबेला चुनाव थिएन ।’
अहिले पनि विद्यार्थी संगठनहरुले खाली समयमा नभइ पढाइ भइरहेको बेला कक्षामा पसेर आफ्नो र स्ववियु चुनाबबारे बताउने गरिरहेको उनी सुनाउछिन् । ‘विद्यार्थी हितकै लागि भए त चुनाव अगाडि पनि यी सब कुरा बताउन सकिन्थ्यो होला नि’, बस्नेत भन्छिन् ।
खासमा, विद्यार्थी संगठनहरुको शैली निर्वाचनका बेला राजनीतिक दलहरुले देखाउने व्यवहारभन्दा फरक नभएको उनको भनाइ छ । संगठनहरुको यस्तो शैलीले आजका विद्यार्थीलाई प्रभाव पार्न नसक्ने उनको निचोड छ ।

पढाइमा केन्द्रित हुने उद्देश्यले दैलेखबाट काठमाडौं आएका मनिष थापा सुझाव लिने बहानामा कक्षामा पसेर विद्यार्थी संगठनका नेताहरुले पढाइ बिथोल्ने काम मात्र गरेको बताउँछन् । पाटन बहुमुखी क्याम्पस बीबीएस प्रथम वर्षका उनी भन्छन् ‘म विद्यार्थी राजनीतिको बिरोधी होइन, तर उनीहरुले चुनाव प्रचारका लागि कक्षा नबिथोलिने तरिका अपनाउँदा हुँदैन र ?’
तीन महिनाअघि पाटन बहुमुखी क्याम्पसमै बीबीएस प्रथम वर्षमा भर्ना भएका बाजुराका प्रज्वल भण्डारी यो अवधिमा क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुले वाक्कदिक्क लाग्ने भूमिका मात्र खेलेको सुनाउँछन् ।
‘कुनै काम परेर क्याम्पस प्रशासनमा जाँदा मालपोत कार्यालय गएजस्तो पटक–पटक धाउनुपर्छ’, उनी भन्छन्, ‘कुनै विद्यार्थी नेता लिएर गयो भने चाहिँ एकै दिनमा हुन्छ । यस्तो त नहुनुपर्ने होइन र ?’
संगठनहरुले विद्यार्थीको समस्या हेर्ने, पुस्तकालय र प्रयोगशालादेखि शौचालयसम्मका सुविधा हेर्नुपर्नेमा केवल राजनीतिमा ध्यान दिएर चुनावको बेला जुर्मुराउने गरेको भण्डारीको बुझाइ छ ।
पाटनजस्तै रत्नराज्य क्याम्पस (आरआर)मा पनि केही दिनयता विद्यार्थी संगठनहरुले सकृयता बढाएका छन् । विभिन्न संगठनका नेताहरु दलबलसहित पढाइ भइरहेको कक्षामा पसेर सुझाव लिने, संगठनबारे बताउने गर्न थालेको होम साइन्स स्नातक प्रथम वर्षमा अध्ययरत लिन्जी चक्रधरले बताइन् ।
‘पढाइ भइरहेको कक्षामा पसेर आफ्नो रुचिको भाषण गर्नेलाई त गजबै लाग्दो हो, तर सुन्न वाध्य पारिएकाहरुलाई त दिक्क लाग्दो रहेछ’, उनी भन्छिन्, ‘चुनाव प्रचारको कुरा त खाली समयमा पनि गर्न सकिन्थ्यो होला नि ।’
पहिलो प्राथमिकता पढाइ भए पनि आफू स्ववियु चुनावको बिरोधी नभएको बताउँदै चक्रधर भन्छिन्, ‘स्ववियु वा राजनीतिमा मजस्ता हजारौं विद्यार्थीहरुलाई तान्न नेताहरुले योभन्दा शालीन शैली अपनाउन जरुरी छ ।’
त्रिचन्द्र क्याम्पसमा भूविज्ञान दोस्रो वर्षकी ओजस्वी न्यौपाने स्ववियुबारे खासै थाहा नभएको बताउँछिन् । क्याम्पसमा चुनाव लागेको चाहिँ थाहा भइसकेको उनले बताइन् । ‘ठूला राजनीतिक पार्टीहरुका नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारी भन्ने विद्यार्थी संगठनहरु रहेछन्’, उनी भन्छिन्, ‘जित्नेले के गर्छन् भन्ने थाहा नभए पनि यसपटक क्याम्पसको चुनावमा पहिलो पटक भोट दिइन्छ ।’

सोसियल वर्कमा स्नातक पहिलो वर्षकी अस्मिता शाही पनि त्रिचन्द्रमा पहिलो पटक विद्यार्थी राजनीति बुझ्दैछिन् । साथीहरुको कुरा सुनेर विद्यार्थी संगठनहरु र तिनको राजनीतिबारे थाहा पाएको बताउँदै उनी भन्छिन्, ‘स्ववियु चुनावलाई लिएर मचाहिँ उत्सुक नै छु ।’
पशुपति बहुमुखी क्याम्पस चाबहिलकी कल्पना लामा भने स्ववियु चुनाव विद्यार्थी नेताहरुलाई मात्र लागेको बताउँछिन् । उनका अनुसार, अरु विद्यार्थीलाई यसबारे केही चासो छैन । ‘विद्यार्थी संगठनहरुका नेता–कार्यकर्ताको सकृयताले क्याम्पसमा चुनाव हुँदैछ भन्नेबारे थाहा चाहिँ सबैलाई छ’, उनी भन्छिन्, ‘तर, स्ववियुबारे सामान्य विद्यार्थीहरुलाई धेरै मतलब चाहिँ छैन ।’
अमृत साइन्स क्याम्पस (अस्कल)मा स्नातक तह माइक्रोबायोलोजी (सुक्ष्म जीवविज्ञान) तेस्रो वर्षका विद्यार्थी विकास ठाकुर स्ववियु चुनावबारे सामान्य जानकारी भएपनि खासै मतलब नभएको बताउँछन् ।
‘पार्टीका संगठनहरुको चुनाव आम विद्यार्थीको हितका लागि हो भन्ने बिश्वास मलाई छैन’, उनी भन्छन्, ‘त्यसैले, चैत ५ गते हुने भनिएको चुनावको खासै चासो छैन ।’
अस्कलमै स्नातक तह गणित (म्याथमेटिक्स) दोस्रो वर्ष पढिरहेकी कमला लिम्बु राजनीतिमा सामान्य रुचि राख्छिन् । तर, आसन्न स्ववियु चनावबारे उनी उत्साहित छैनन् । ‘मेरो बुझाइमा, विद्यार्थी संगठनहरु विद्यार्थीको कम, सम्बन्धित पार्टीको बढी भए’, उनी भन्छिन्, ‘उनीहरुमा अरु बेला पनि देखिने सिर्जनशीलता नै हराएकाले धेरै विद्यार्थी स्ववियु चुनावप्रति उदाशीन नै छन् ।’
स्ववियु चुनावसम्बन्धी व्यवस्था

चैत ५ गते हुने स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । यसअनुसार स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चयन हुनेछन् ।
२०० विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, २०१ देखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्ममा १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म भए २१ सदस्यीय कार्य समिति हुनेछन् ।
त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । उमेरहद २८ वर्ष तोकिएकाले यो निर्वाचनमा २०५१ चैत १८ गतेभन्दा पछि जन्मेका विद्यार्थी मात्र उम्मेदवार बन्न पाउनेछन् ।
पछिल्लो पटक २०७३ सालमा यही प्रणाली (मिश्रित)मा काठमाडौं उपत्यकाका ९ र बाहिरका १७ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । हरेक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4