+
+

एन्फामा भाँडभैलो सुरु

कार्यसमिति बुधबार बिहान ८ बजे बोलाइएको थियो । बैठकमा असन्तुष्ट समूहका उपाध्यक्ष दीर्घबहादुर केसी र दीपक खतिवडासँग संस्थापन पक्षका उपाध्यक्ष दावा लामा र सदस्य पुरुषोत्तम थापाबीच नोकझोँक भयो । टेवल ठोकाठोक गर्दा केहिबेर होहल्ला भयो ।

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ फागुन १७ गते १९:५७
Photo Credit : ANFA

१७ फागुन, काठमाडौं । आफ्ना माग एजेण्डामा समावेश नगरिएको भन्दै बैठकस्थलमै विवाद, टेवल ठोकाठोक, झण्डै हात हालाहाल । अनि बहुमत सदस्यको अनुपस्थितिका बाबजुद राष्ट्रिय टिमको प्रशिक्षक निुयक्तिसहित २० वटा निर्णय ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) मूख्यालयमा केन्द्रीय कार्यसमिति बैठकमा देखिएको यो दृश्य नेपाली फुटबलमा फेरि भाँडभैलो सुरु भएको प्रष्ट संकेत हो ।

६ असारमा निर्वाचित पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिमा पहिलो बैठकदेखि नै मतभेद सुरु भइसकेका थिए । ८ असारमा बसेको पहिलो बैठकमा एजेण्डाबिना नै महासचिव, कोषाध्यक्ष र विदेश विभाग प्रमुख नियुक्त भएको भन्दै एउटा पक्षले बैठकको बैधानिकतामै प्रश्न उठाएका थिए ।

साउन २ गते बस्ने भनिएको दोस्रो बैठक यही कारणले स्थगित गर्न अध्यक्ष नेम्वाङ बाध्य भएका थिए ।

बुधबारको बैठकका लागि कार्यसमिति सदस्यले एक साताअघि नै १९ वटा एजेण्डा पाएका थिए । ३ उपाध्यक्षसहित कार्यसमितिका १२ जनाले १२ फागुनमा महासचिव र कोषाध्यक्षलाई बर्खास्त गर्नेसहित ६ वटा एजेण्डा थप्न माग गरे ।

नेतृत्वले बैठकमा छलफल गर्न अस्वीकार गरेपछि बुधबार दुई पक्षबीच झण्डै हात हालाहालको अवस्था सृजना भएको हो ।

कार्यसमिति बुधबार बिहान ८ बजे बोलाइएको थियो । असन्तुष्ट पक्षले आफ्नो माग एजेण्डामा राख्नुपर्ने र बर्खास्तीको माग गरेका महासचिव र कोषाध्यक्षलाई बैठकमा समावेश गराउन नहुने माग राखेका थिए । त्यसक्रममा असन्तुष्ट समूहका उपाध्यक्ष दीर्घबहादुर केसी र दीपक खतिवडासँग संस्थापन पक्षका उपाध्यक्ष दावा लामा र सदस्य पुरुषोत्तम थापाबीच नोकझोँक भयो । टेवल ठोकाठोक गर्दा केहिबेर होहल्ला भएको थियो ।

निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिला गरी बसेको बैठकले ८ वटा निर्णय गरेपछि खाना खाने समयका लागि बैठक रोकियो । पहिलो सत्रमा उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेका असन्तुष्ट समूह पनि उपस्थित थिए । खाना खाएपछि पुनः बसेको बैठकमा असन्तुष्ट पक्षका ११ जना उपस्थित भएनन् ।

उपाध्यक्षहरु विराटजंग शाही, दीर्घबहादुर केसी कुमार र दीपक खतिवडासहित सदस्यहरुः रुपेश अधिकारी, रमेश ब्यन्जनकार, महेन्द्र क्षेत्री, रविन चन्द, भोजराज शाही र पेमा डोल्मा लामा गरी ९ जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका छैनन् ।

बैठकको सुरुमै उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका सदस्य टीका लामाले बहुमत सदस्यको माग सम्बोधन नगरेको भन्दै बैठकको बीचैमा आफ्नो हस्ताक्षर फिर्ता लिन अध्यक्ष नेम्वाङसामू निवेदन दिएका छन् । अर्का सदस्य भरतबहादुर बुढ थापाले विज्ञप्ति निकालेर आफ्नो हस्ताक्षर दुरुपयोग भएको दाबी गरेका छन् ।

२१ सदस्यीय एन्फा कार्यसमितिका एकजना सदस्य मनिष जोशी विदेशमा रहेका कारण बुधबारको बैठकमा २० जना उपस्थित थिए । बैठक सञ्चालन गर्न गणपुरक संख्या ११ जना आवश्यक पर्छ । बहुमत सदस्यले बहिस्कार गरेको बैठकको निर्णय अवैधानिक हुने असन्तुष्ट पक्षको दावी छ । तर, अध्यक्ष पंकज नेम्वाङले भने विधानअनुसार नै बैठक बसेको र आवश्यक निर्णय गरिएको बताए ।

संस्थापन पक्षले आफ्नो हस्ताक्षर किर्ते भएको बताएका भरत बुढा र हस्ताक्षरबाट आफ्नो नाम हटाउन निवेदन दिएका टीका लामालाई गणना गरेर बैधानिक भएको दाबी गरेको हो ।

पत्रकार सम्मेलन गर्दै असन्तुष्ट समूह ।

जबकी खाना ब्रेकपछि दोस्रो सत्रको बैठकमा एन्फा कार्यसमितिका ९ जनामात्र उपस्थित थिए । सदस्यहरु भोजराज शाही र टीका लामा बैठकस्थलबाट बाहिरिसकेका थिए भने असन्तुष्ट समूहका बाँकी ९ जनाले पत्रकार सम्मेलन गरी एन्फा नेतृत्वको स्वेच्छाचारी कदम र गुण्डागर्दी शैली भएको भन्दै विरोध जनाएका थिए ।

असन्तुष्ट पक्षले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको कार्यसम्पादन चित्तबुझ्दो नभएको तथा उनीहरुको पदीय क्षमतामा प्रश्न उठाएका छन् । ‘एन्फा सचिवालय र आर्थिक गतिविधिमा आशातीत उपलब्धी हुन सकेको छैन । खेलाडी पलायनको समस्या विकराल बनिरहेको छ,’ पत्रकार सम्मेलनमा उपाध्यक्ष दीपक खतिवडाले भने, ‘मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार विक्रीका लागि कार्यसमितिबाट एउटा निर्णय गर्ने र निकै कम मूल्यमा सम्झौता गरी फुटबललाई घाटा पार्ने काम भएको छ ।’

उनका अनुसार मुख्य प्रायोजनबाहेकका अन्य अधिकारका लागि ५ करोड रुपैयाँको सम्झौता गर्ने निर्णय भएको थियाो । त्यसबाट पछि हटेर लिगका लागि १ करोड ९७ लाखको सम्झौता गर्नु फुटबलको हितमा नभएको उपाध्यक्ष खतिवडाले बताए ।

अर्का उपाध्यक्ष दीर्घबहादुर केसी पनि बैतनिक सुविधासहित नियुक्त हुने महासचिव र कोषाध्यक्ष पदमा उनीहरुको कार्यसम्पादन अनुभव र योग्यता विचार गर्नुपर्ने बताउँछन् । ‘फिफाको कन्ट्रोल फन्डिङ फुकुवा गर्न हाम्रो कोषाध्यक्षले कस्तो भूमिका निभाउनुभयो त ?,’ केसीले पत्रकार सम्मेलनमा प्रश्न गरे ।

संस्थापन पक्षले भने फुटबल गतिविधि व्यस्त रहने समयमा महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गरेर फुटबललाई आलोचित बनाउने र नेतृत्वलाई असफल पार्ने षड्यन्त्रको रुपमा बुझेको छ । एन्फाले १९ फागुनदेखि शहीद स्मारक ए डिभिजन लिग सन्चालन गर्दैछ । डवल राउण्ड रोविन प्रणालीमा हुने लिग जेठ अन्तिमसम्म चल्नेछ । चैतमा त्रिदेशीय फुटबल प्रतियोगिता तथा ओलम्पिकका लागि महिला फुटबलको छनोट खेल हुनेछ ।

कर्मा र गणेश थापा समूहको मिलाप

गणेश थापा, कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ कुनै समय एउटै कार्यसमितिमा थिए । कर्मा र पंकलले चेन्ज एन्फा अभियान चलाए, आर्थिक अनियमितताको आरोप खेपेका थापा राजीनामा दिन बाध्य भए । फिफाले पनि प्रतिबन्ध लगाएपछि लामो समय नेतृत्वमा रहेका गणेश थापा एन्फाबाट बाहिरिए । कर्मा छिरिङ शेर्पा अध्यक्ष भए । तर पछिल्लो चुनावमा गणेश थापा समूहको सहयोगमा कर्मालाई हराएर पंकज विक्रम एन्फाको नेतृत्वमा आए ।

पंकज र कर्मा तथा गणेश ।

अहिले समीकरण केही फेरिएको छ । उपाध्यक्षहरु विराटजंग शाही र दीपक खतिवडा लगायतका केही सदस्य अहिले कर्मा पक्षसँग एकठाउँमा देखिएका छन् । पदाधिकारीसहित बहुमत सदस्यलाई साथमा राख्न नसक्नुले अध्यक्ष नेम्वाङमाथि प्रश्न उठेको छ ।

चुनावको समयमा उनले एन्फाको सचिवालय चुस्त बनाउने, आर्थिक र नीतिगत पारदर्शीता गर्ने, विकेन्द्रीकरण र सामुहिक नेतृत्वलाई प्राथमिकता राख्ने एजेण्डालाई साधारणसभाका प्रतिनिधिमार्फत अनुमोदन गराएका थिए । तर सचिवालय चुस्त बनाउन भनेर नियुक्त गरिएका महासचिवमाथि ९ महिनामै बहुमद सदस्यले बर्खास्तीको माग गरेका छन् । सामूहिक नेतृत्वको दुहाई दिएका नेम्वाङले ९ महिनासम्म १३ स्थायी समितिसहित अन्य नियुक्तिहरु गर्न सकेनन् ।

बुधबारको विवादित बैठकले तीन सह–महासचिव (अरुणमान जोशी, दामोदर भट्टराई र बसन्त अर्याल) र एक सह–कोषाध्यक्ष (पूर्णमान चित्रकार) नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै पंकज शाहीलाई ग्रासरुट प्रमुख, नविन महर्जनलाई युथ इलाइट प्रमुख, सन्जीत सिंहलाई कोचिङ एजुकेसनका प्रमुख र राजुकाजी शाक्यलाई महिला विभाग प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?