+
+

सप्तरीका यी मेयरको नीति– पैसा देऊ, चेक लेऊ, खेल खत्तम

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते २०:४१

१७ फागुन, काठमाडौं । जितेन्द्रप्रसाद साह सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर हुन् । उनको नगरपालिकाको एक विद्यालयमा एक करोड रुपैयाँको भवन बन्दै थियो । उनले ठेकेदारसँग सोझै ८ प्रतिशत घुस मागे । त्यसको अडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । अडियोमा मेयर जितेन्द्रले रकम नपाउँदासम्म भुक्तानी नगर्ने बताएका छन् ।

जितेन्द्रप्रसाद गुप्ता– म दौडदा दौडदै परिसान भइसके, त्यस पछि मेरो दिमाग खराब भयो, मैले मिलाउन भने अनि आऊ ८ (आठ) प्रतिशतमा म तिमीलाई चेक काटिदिन्छु । त्यस भन्दा पहिले पेमेन्ट गर्ने होला, चेक अहिले बनाई दिन्छु त्यस पछि पेमेन्ट भए पछि चेक लेऊ ।’

ठेकेदार भुमी शर्मा(परिवर्तित नाम)– चेक बनिसकेपछि कुनै समस्या नि रहदैन नि ?

जितेन्द्र प्रसाद गुप्ता– तिमी तयार हुन्छौं भने एक हातले पैसा देऊ, एक हातले चेक लेऊ अनि खेल खतम । म बीचमा हुन्छु ।

भवन निर्माणपछि मेयर गुप्ताले भुक्तानी दिने नगद घुस चाहिने भनेपछि ठेकेदार भुमी शर्माले मैथिली भाषामा भएको कुराकानीको अडियो सहित अख्तियारमा खवर गरेका थिए । अख्तियारले त्यही उजुरीलाई पछ्याउदै जादा शम्भुनाथ नगरपालिकाको इञ्जिनियर रामचन्द्र साहलाई एक लाख ४० हजार घुस सहित रंगेहात पक्राउ गर्‍यो ।

पछि केरकार गर्दा इञ्जिनियर साहले मेयर गुप्ताको आदेशमा आफूले घुस लिएको स्वीकार गरे । बुधबार अख्तियारले दुवैजना विरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोझै १० प्रतिशत घुस

सरकारले शिक्षा विभागमार्फत गत वर्षका लागि नमुना विद्यालयमा अडिटेरियम हल निर्माणका लागि बजेट तथा जनशक्ति सहयोग गरेको थियो ।

शम्भुनाथ नगरपालिकामा पर्ने बुद्धिलाल विद्या मुनर नमुना माविमा एक करोड रुपैयाँको लागतमा सभाहल बन्ने भयो । सुनकोशी कन्स्क्ट्रक्सले भवन निर्माणको जिम्मेवारी पायो ।

ठेक्का पाउनासाथ नगरपालिकाका प्रमुख गुप्ताले उक्त निर्माण कम्पनीका प्रतिनिधि भुमी शर्मासँग एक करोडको आठ प्रतिशत (आठ लाख) रुपैयाँ घुस मागे ।

उनले इञ्जिनियर रामचन्द्र साहमार्फत रकम बुझ्ने योजना बनाएका थिए । निर्माणको अन्तिम बिल भुक्तानी अघि मेयर गुप्ताले ठेकेदारलाई भेटे अनि पहिलेको शर्त अनुसार रकम पाउनुपर्ने माग गरे ।

घुसको डिलका क्रममा ठेकेदार भुमी शर्मा, इञ्जिनियर रामचन्द्र साह र मेयर जितेन्द्रप्रसाद गुप्ताबीच कुराकानी चल्यो । ठेकेदारको साथमा रहेको मोबाइलमा अडियो रेकर्ड भइरहेको थियो ।

मेयर जितेन्द्रप्रसाद गुप्ता– तिमीले आठ दिन्छु भनेका थियौ । मेरो पनि धेरै खटपट भएको थियो । तिमीहरु जहिले मलाई बीचमा पाछौं । म बीचमा पर्ने मान्छे हैन ।’

ठेकेदार भुमी शर्मा– चेक बनेपछि कुनै समस्या रहदैन नि ?

मेयर जितेन्द्र प्रसाद गुप्ता (झोक्किदै)– तिमी तयार हुन्छौ ? एक हातले पैसा देऊ, अर्को हातले चेक लेऊ, अनि खेल खत्तम ।’

बीचमा भरियाको काम गरिरहेका र आफूले पनि अलिकति भाग पाउने आशामा रहेका इञ्जिनियर रामचन्द्र साह अघि सर्छन् । उनले अझै दुईवटा बिल बाँकी छ भनी सम्झाउँछन् ।

मेयर जितेन्द्रप्रसाद गुप्ता– दुनियालाई दिएको छ । मैले कुल हिसाब लिने हो । यसमा त अनेकले टाउको दुखाएको छ । मैले कतिलाई जवाफ दिने ?

उनले पहिले नै बढी भुक्तानी पाएकाहरुलाई ‘माइनस’ गर भनी सल्लाह दिन्छन् । अनि आफूलाई आठ प्रतिशत माग्छन् ।

मेयर जितेन्द्रप्रसाद गुप्ता– एक हातले भोलि चेक लेऊ अनि आफ्नो काममा लगाउ फेरि नयाँ काम भेट्छ भने काम गर्नु पर्छ ।’

उनले कसलाई कति (घुस) गएको छ, आफूलाई सबै थाह भएको भन्दै ‘त्यसमा इमान्दार भएर काम गर्न’ निर्देशन दिन्छन् ।

त्यो कुराकानी त्यही टुंगियो । पछि इञ्जिनियर साह र ठेकेदार नन्दकिशोरविच फेरी भेट भयो ।

ठेकेदार नन्दकिशोरले मेयरले ८ लाख ७५ हजार मागेको होइन भनी प्रश्न सोध्छन् । त्यसपछि इञ्जिनियर साहले आफ्नो भाग खोज्छन्, ‘ तिमी मलाई कति दिन चाहन्छौ? त्यो खै त किलियर गरेको ?’
थोरै दिएको भन्दै उनले आफूलाई ३ (लाख) चाहिने माग गर्छन् ।

भरिया र मेयर, दुवै फन्दामा

इञ्जिनियर साहको बयान अनुसार, मेयर जितेन्द्रप्रसाद गुप्ताले ‘एक हातले पैसा देऊ र एक हातले चेक लेऊ’ भनेर कमिसन नपाई चेक नदिन निर्देशन गरेका थिए ।

नगर प्रमुखको आदेश बिना काम गर्न नमिल्ने भन्दै उनले आठ प्रतिशत कमिसन नबुझाइकन कुनै निकासाको कागजात नदिन निर्देशन भएको बताए । त्यो दिन इञ्जिनियरले १ लाख ४० हजार रुपैयाँको घुसको किस्ता बुझेका थिए ।

अख्तियारको फन्दामा परेका मेयर जितेन्द्र प्रसाद गुप्ताले इञ्जिनियर र ठेकेदारबीच गिटी, रड र अरु सामानमा वादविवाद भएकाले उधारोको रकम लेनदेन भएको बताए ।
ठेकेदार भुमी शर्माको बयान अनुसार, १० प्रतिशत घुस दिने सहमती भएको हो र त्यसमा ८ प्रतिशत मेयरको भाग हुने भनी शुरुमै कुरा टुंगिएको थियो । बाँकी २ प्रतिशत रकम अरुलाई बाँड्नुपर्ने थियो ।

अख्तियारले मेयर जितेन्द्रप्रसाद गुप्ता र इञ्जिनियर रामचन्द्र साह विरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लगाएको छ । ठेकेदार भुमी शर्मा(परिवर्तित नाम)लाई भने सरकारी साक्षीको रुपमा प्रस्तुत गरेको छ । गत बैशाखमा नयाँ स्थानीय निर्वाचन भएपछि नयाँ जनप्रतिनिधि माथि घुस खाएको आरोपमा मुद्दा चलेको यो पहिलो घटना हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?