+
+

दुई महिनापछि उपरथी शाही थुनामुक्त, २ सैनिक अधिकृत पनि छुटे

गौरव पोखरेल गौरव पोखरेल
२०७९ फागुन १८ गते २२:४०

१८ फागुन, काठमाडौं । अवकाशमा पठाउने नेपाली सेनाको जंगीअड्डाको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपरथी प्रेम शाही दुई महिनापछि थुनामुक्त भएका छन् ।

जंगीअड्डाभित्रै थुनेर राखिएका उच्च सैनिक अधिकृत शाहीसहित उनलाई सहयोग गरेको अभियोगमा समातिएका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाह पनि थुनामुक्त भएका छन् । तिमसिना र शाहको दुई वर्ष बढुवा रोक्का गर्ने आदेश भएको छ ।

उपरथी शाही संलग्न सैनिक विद्रोहको कसूरसम्बन्धी मुद्दा पुर्पक्षका लागि भन्दै बुधबार जंगीअड्डा बोलाइएका तिमसिना र शाहलाई सेनाले नियन्त्रणमा लिएको थियो ।

उनीहरु पक्राउ पर्नेबित्तिकै परिवारका सदस्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै जनालाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

आदेश दर्ता गर्न पुगेका अदालतका कर्मचारी र आफन्त दिनभर जंगीअड्डा बसेर फर्किएका थिए ।

साँझ उपरथी ताराध्वज पाण्डे नेतृत्वको समरी जनरल सैनिक अदालतले सैनिक विद्रोह सम्बन्धी कसूरमा उपरथी शाहीलाई बर्खास्त र दुई जनालाई विभागीय कारबाहीको आदेश सुनाएको छ । आदेश आएलगत्तै तीनै जनालाई थुनामुक्त गरिएको सैनिक स्रोतले अनलाइनखबरलाई बतायो ।

उपरथी शाहीसहित तिनै जना अधिकृत पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा निकट अधिकृतका रुपमा चिनिन्थे । स्रोतका अनुसार त्यसबेला शाहीले हालका प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध गतिविधि गरेको आरोप सैनिक नेतृत्वले लगाउने गरेको छ ।

उनै शाहीलाई सेनाले ४ पुस २०७९ मा ५८ वर्षे उमेर हदका कारण २० पुसदेखि अवकाश हुने भन्दै पत्र थमाएको थियो । तर, उनले आफ्नो जन्ममिति गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिए ।

उनले सेनामा प्रवेश गर्नुअघि जारी भएको प्रमाण पत्रमा आफ्नो जन्ममिति २०२३ रहेको उल्लेख गर्दै अदालतमा निवेदन दिएका थिए । सेनाले शैक्षिक प्रमाण पत्रमा भएको मिति अनुसार अवकाशको पत्र थमाएको थियो ।

आफूले एसएलसी परीक्षा दिएको बूढानिलकण्ठ स्कुलले समेत उमेर सच्चाउँदै पत्र पठाइसकेको भन्दै उनले अदालतमा निवेदन दिएका थिए । सेनाको आन्तरिक समितिले पनि उनको जन्ममितिमा त्रुटि भएको भन्दै नागरिकता अनुसारको जन्ममिति कायम गर्न सिफारिस गरेको थियो ।

तर तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले त्यसलाई सदर गरेको थिएन । अन्याय भएको भन्दै उनी अदालत पुगेका थिए । १३ पुसमा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले उनलाई अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको थियो ।

आदेशपछि हाजिर हुन जाने क्रममा सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिएको थियो । आर्थिक अनुशासनको आरोप लगाउँदै शाहीको घरमा समेत छापा हानिएको थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?