+
+
कविता :

म बहुलाएँ

शिव पलाँस शिव पलाँस
२०७९ फागुन २० गते ७:५८

माफ गर्नुहोला

म चाहिँ बहुलाएँ

आधा मात्र हो र पूरै बहुलाएँ !

गिदी झिकेर मलखादमा गाडिदिएँ

आँखा र जिब्रो झिकेर कुकुरलाई खुवाएँ

कानमा काठका ठेडी कोचेँ

र सालको मुढो झैं भुईँंमा ढलेँ

यति गरेपछि केही सोच्नै परेन

केही हेर्नै परेन

केही बोल्नै परेन

र केही सुन्नु पनि परेन

वास्तवमा यहाँ

चेतना बोकेर बाँच्न

झन् सकस हुँदो रहेछ

सकिनँ

मैले हाजमोला खाँदा पनि

पटक्कै पचाउन सकिनँ

विकृतिको यो पराकाष्ठा !

त्यसैले म बहुलाएँ

सत्ता र शक्तिको वेश्यावृत्ति

चौथो अङ्गको नाङ्गो दलाली

साहित्य नामको सिन्डिकेट

संगीतको कालोबजारी

फूल च्यात्ने भमराहरूको अबिरजात्रा

र नाङ्गै हिँडेको टिकटक पुस्ता

सडकमा बगिरहेको किसानको आँशु

आफैलाई आगो झोसेको युवकको खरानी

उखुबारीमा भेटिएको चौबन्दीको लास

गुँड छोडेर उडिरहेका हरिया पासपोर्टहरू

टीआईए फर्किरहेका काठका बाकसहरू

दिउँसै लुटिएको राजधानी

कुम्भकर्ण सुतिरहेको बर्दी

नाक काटिएको न्यायालय

नक्सामा सीमित सिमाना

के एउटा सद्दे मान्छे बहुलाउन

यति नै पर्याप्त छैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?