+
+

घेराबन्दीविरुद्ध लडिरहेको छु, तर धेरै चर्को भन्न हुन्न : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १३:२२

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिएका छन् । तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने उनले बताए ।

प्रचण्डले अघि भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनुभएको छ । हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं ।’

तर आफू प्रधानमन्त्री पनि भएकाले धेरै चर्को बोल्दा पनि बिग्रिने उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले चर्को भन्न हुन्न, तपाईंहरुले भन्दा हुन्छ ।’

उनले माओवादी आन्दोलनका सबै नेताहरु एकै ठाउँमा आउनुपर्ने समय आएको बताए । माओवादी जनयुद्धमा शीर्ष तहमा रहेका नेताहरु सम्मिलित कार्यक्रममा प्रचण्डले भने, ‘बाबुरामजी विप्लवजी, किरणजीले हासिल गरेका अनुभवहरु, धमेन्द्र जीले अहिले अनुभव हासिल गर्दै हुनुहुन्छ । यी सबै अनुभवलाई हाम्रा अनुभव भनौं ।’

अनुभवहरु एकत्रित गरेर एक ठाउँ हुँदा कुनै शक्तिले कमजोर बनाउन नसक्ने प्रचण्डले बताए । ‘घेराबन्दीका विरुद्ध म लडिरहेको छु । घेराबन्दीका विरुद्ध लडिरहेका सबै शक्तिहरु एकठाउँमा उभिएर लड्यौं भने आन्दोलन अमर र विजयी हुनसक्छ,’ प्रचण्डले भने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?