+
+
ब्लग :

लोकतन्त्र नफापेको वा नजानेको ?

सैद्धान्तिक रूपले यति सिद्ध र उदार लोकतान्त्रिक व्यवस्था अँगालेको नेपालभित्र जनतालाई बाँच्न यति साह्रो सकस किन भइरहेको छ? यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न हो र, यसको उत्तर अन्त कतै नभई हाम्रै देशको सामाजिक चेतना र त्यसले काँध हालिराखेको राजनीतिभित्र छ।

प्रदीप उप्रेती प्रदीप उप्रेती
२०७९ फागुन २१ गते १३:३८

लोकतन्त्रलाई आधुनिक युगको उन्नत शासकीय व्यवस्था मानिन्छ। यस व्यवस्था अन्तर्गत जनतालाई आफ्नो शासक आफूहरू बीचबाट नै निश्चित अवधिका लागि चुन्ने सुविधा हुन्छ। खुसी, सुखी र न्यायपूर्ण समाजका लागि मानिसलाई आधारभूत अधिकार प्रदत्त गरिएको हुन्छ।

सीमान्तकृत र निम्छरा जनताको लागि सरकार अभिभावक भएर उभिने प्रण हुन्छ भने बलिया र वैभवशाली जनताको लागि सरकार सहजकर्ता, संरक्षक र पर्यवेक्षक भएर उभिने गर्छ। विभेदरहित स्वच्छन्द समाजभित्र मानिसहरूले विधिपूर्वक आफ्ना जिजीविषा चलाउन पाउनु नै लोकतन्त्रको प्रमुख परिकल्पना हो।

लोकतन्त्रले बहुलतालाई सहजतापूर्वक स्वीकार्छ। अझ बहुदलीय प्रतिस्पर्धा त लोकतन्त्रको अविच्छिन्न प्रक्रिया नै हो। यस व्यवस्थाले कर प्रणाली मार्फत वर्गीय र आर्थिक असमानतालाई सम्बोधन गर्ने र साँघुरो बनाउने उद्देश्य राख्दछ। राज्यका स्रोत, साधन र सम्पत्तिहरूको न्यायपूर्ण वितरण गर्नु र आम मानिसलाई त्यसको स्वामित्वको महसुस गराउँदै त्यसबाट लाभ दिलाउनु लोकतन्त्रको आर्थिक-सामाजिक लक्ष्य नै हो।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा शासन शक्ति बाँडफाँड गरी शक्तिको पृथकीकरण गर्नु र सम्भावित अधिनायकवाद वा तानाशाहीको आगमनलाई निरुत्साहित गर्नु पनि लोकतन्त्रको मूल चरित्र अन्तर्गत पर्दछ। यस्तै विशेषताले सुसज्जित भएर होला, यो व्यवस्था आधुनिक विश्वको सबैभन्दा रुचाइएको शासन व्यवस्था हो।

बुझ्नुपर्ने कुरा के हो भने लोकतन्त्र आफैंमा सुखी र समृद्ध समाज निर्माणार्थ जादुको छडी भने होइन। यो त केवल सैद्धान्तिक अवधारणा मात्र हो, परिणाम भने होइन। परिणाम दिन भने लोकतन्त्रको सैद्धान्तिक मर्म अनुरूप उक्त अवधारणाभित्र इमानदार राजनीतिक प्रयत्न हुनुपर्दछ।

अर्को छुटाउनै नहुने कुरा के हो भने लोकतन्त्र संस्थागत गर्न र सोचे अनुरूप परिणाम निकाल्न जनताको चेतना स्तर उच्च कोटिको चाहिन्छ किनभने जनताले मतमार्फत व्यक्त गर्ने निर्णय नै लोकतन्त्रमा नेतृत्व चुन्न निर्णायक साबित हुन्छ र जनताको चेतना नै त्यस्तो औजार हो जसका कारण जनता सही निर्णय लिन समर्थ हुन्छन्।

जनताको सही निर्णय अर्थात् सही नेतृत्व, सही नेतृत्व अर्थात् सही र व्यावहारिक नीति एवं कार्यान्वयन, सही नीति र कार्यान्वयन अर्थात् समाजको आवश्यकताको सम्बोधन। यसरी लोकतन्त्रलाई मर्मानुरूप क्रियाशील र संस्थागत गर्न जनताको चेतनाको अहम् एवम् अद्वितीय भूमिका रहन्छ।

विश्वमा लोकतन्त्रको आ-आफ्नै मोडेलहरू अपनाइएका छन्। हाम्रो देश नेपालमा भने लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गर्दै दुई सदनात्मक संसदीय शासन प्रणाली अपनाइएको छ। यो शासन प्रणालीलाई लोकतन्त्रको उच्चतम अभ्यास नै मानिन्छ।

अझ त्यसमाथि समावेशितालाई ध्यानमा राख्दै आरक्षण र समानुपातिक निर्वाचन प्रणालीको प्रयोगले विश्वमञ्चमा हामीलाई प्रगतिशील लोकतन्त्रप्रति आस्थावान् देशको रूपमा चिनाएको छ। तर सैद्धान्तिक रूपले यति सिद्ध र उदार लोकतान्त्रिक व्यवस्था अँगालेको नेपालभित्र जनतालाई बाँच्न यति साह्रो सकस किन भइरहेको छ? यो भने अत्यन्तै महत्त्वपूर्ण प्रश्न हो र, यसको उत्तर अन्त कतै नभई हाम्रै देशको सामाजिक चेतना र त्यसले काँध हालिराखेको राजनीतिभित्र छ।

संसदीय प्रणाली भनिसकेपछि बहुदलीय प्रतिस्पर्धामा आधारित आवधिक निर्वाचन हुने नै भयो। हरेक निर्वाचन समाजले सज्जनलाई सम्मान र दुर्जनहरूलाई सजाय दिने अवसर पनि हो। राजनीतिक दलहरूलाई केन्द्रमा राखेर हेर्ने हो भने हरेक निर्वाचन एउटा विचार र त्यस विचारले हुर्काइराखेको देश विकासका योजना र सपनाहरूको आवधिक अनुमोदन हो। यी निर्वाचनहरूको एउटै लक्ष्य भनेको परिणाम निकालिरहेका नेतृत्वलाई निरन्तरता र निकाल्न नसकेकाहरूको बर्खास्ती हो।

सीधा सीधा भन्नुपर्दा निर्वाचन भनेकै राजनीतिक दल र उसको नेतृत्वको जनताद्वारा गर्नुपर्ने आवधिक समीक्षा हो। हामीकहाँ निर्वाचन त हुन्छ,राजनीतिक नेतृत्वको निर्मम समीक्षा हुँदैन। यदि साँच्चिकै समीक्षा हुँदो हो त परिणाम दिन नसकेका नेतृत्वहरू बारम्बार हामीमाथि शासन गर्न आइपुग्ने थिएनन्।

अझ गज्जबको कुरा के भने निर्वाचन पूर्व नै राजनीतिक दलहरूले जनताको रूपमा रहेका कार्यकर्ताको टाउको र घरधुरी गनेर जित्ने र हार्ने क्षेत्र निर्क्योल गरिसकेका हुन्छन्। यो त म्याच अघि नै खेलको परिणाम थाहा भए जस्तै हो। जनताहरू भोटब्यांक बाहेक अरू केही बन्न सकिरहेका छैनन्।

राज्यले नि:शर्त दिनुपर्ने सेवा पाउनकै लागि भए पनि जनता निरीह भएर दल र तिनका नेताहरूको पाउ मल्न विवश छन्। नेताको सोर्स-फोर्स विना जनताको कुनै काम नबन्ने स्थिति छ। यस्तो राजनीतिक सिन्डिकेटले लोकतन्त्र मात्रै होइन समग्र राज्य नै दरिद्र, दिशाहीन र कमजोर बनाइरहेको छ।

नेपालजस्तो अशिक्षित र अर्धशिक्षित समाजमा विवेक र चेतनाको खडेरी लागेको हुन्छ। त्यही सामाजिक चेतनाको खडेरीको भरपुर फाइदा राजनीतिक नेतृत्वहरूले उठाइरहेको पाइन्छ। गरिबीको त्रासदीपूर्ण अवस्था र सामाजिक चेतनाको न्यून स्तरले लोकतन्त्रको मुटुमै किलो ठोकिरहेको छ।

हुन त नेपालले साक्षरतामा प्रगति नगरेको होइन। पछिल्लो तीन दशकमा नेपालको साक्षरता करिब ३३ प्रतिशतबाट ७० प्रतिशतको हाराहारी पुगेको छ। तर हाम्रो शिक्षा वैज्ञानिक र समयसापेक्ष नभइदिनाले शिक्षित मानिसहरू झनै आत्मकेन्द्रित, स्वार्थी, भ्रष्ट र सामाजिक दायित्वको मतलब नगर्ने किसिमका भएका छन्। शिक्षितहरू झनै प्रतिस्पर्धी र निजी सम्पत्ति संकलनमा उद्धत देखिन्छन्। यसले गर्दा समाजमा बिचौलियातन्त्र, कमिसनतन्त्र र जुनसुकै हालतमा मुनाफा कमाउने सामाजिक प्रवृत्ति हाबी भएको छ।

एक त हाम्रो अर्धशिक्षित समाज, त्यसमा पनि शिक्षित भएकाहरू सामाजिक र सार्वजनिक दायित्वदेखि मुन्टो बटारेर व्यक्तिगत लाभ र पूँजी संकलनमा तल्लीन भएपछि समाजले चेतना कोबाट पाउने? अनि जुन समाजको शिक्षित वर्ग राज्यमा पद्धति, प्रक्रिया र पारदर्शिताको लागि लड्दैन, त्यो समाजमा लोकतन्त्र कसरी संस्थागत हुन्छ र परिणाम दिन सुरु गर्छ?

हाम्रो देशमा लोकतन्त्रले आशातित परिणाम नदिनुको अर्को कारण भनेको तीव्र दलीयकरणले समाजमा निम्त्याएको विखण्डन हो। ‘जेरी पसलदेखि डेरी पसलसम्म, पुस्तक पसलदेखि जुत्ता पसलसम्म’ सबै राजनीतिक रूपमा विभक्त छन्। सबै पेशा, व्यवसाय, व्यापार र उद्यम राजनीतिक दलहरूको भ्रातृ सङ्गठन बनेका छन्। जब हाम्रो देशका सबै जनता कुनै न कुनै दलमा आबद्ध भई राजनीतिक रूपमा विभाजित छन् भने विना पूर्वाग्रह राष्ट्रिय मुद्दाहरूमा कसले बोलिदिने? जनावरले त बोल्न सक्दैनन्।

कहीं कतै तटस्थ मानिसहरूको एउटा समूह त छ, तर उनीहरू आवाज उठाउन त के निर्वाचनमा भाग समेत लिंदैनन्। अनि परिवर्तनको पक्षमा उभिन सक्ने २० लाखभन्दा बढी युवा त रोजगारी र जीविकोपार्जनका लागि देश बाहिर छन्। यसरी देश बाहिर रहेकालाई मताधिकार नदिने र देशभित्र रहेका अधिकांशलाई कार्यकर्ता बनाएपछि राजनीतिक दलका नेताहरूलाई कसको डर? अनि नेताहरूलाई आपसी सहमतिमा सबै कुराको छुट छ।

उनीहरूलाई विधि वा कानुनले कहिल्यै छुँदैन।उनीहरूलाई गल्ती वा कमजोरी गरेकोमा जनतासँग डर,त्रास वा लज्जबोध हुँदैन। उदाहरणका लागि नेताहरू जति ठूलो नैतिक पतन वा भ्रष्टाचारका कारण जेल गएका हुन्छन्, निस्कँदा त्यति नै ठूलो खादा-माला पहिरिएर बाजागाजा र नारासहित निस्केका हुन्छन्।

उनीहरूलाई लाज-शरमको कुनै गुन्जायस नै हुँदैन। लाज-शरम पचाउन अभ्यस्त भइसकेका नेता-नेतृहरू निर्वाचनको समयमा नैतिक स्खलनको कारणबाट लजाउने-शर्माउने कुरै भएन। यस्ता लाज-शरम र नैतिकता नभएकाहरूको हातमा देशको डाडु-पन्युँ छ अनि हामीलाई के लाग्छ भने नेपालमा लोकतन्त्र फापेन, एक जना जंगबहादुर चाहिन्छ।

सूक्ष्म ढंगले हेर्ने हो भने नेपालमा संसदीय अभ्यासको आवरणमा राज्यभन्दा राजनीतिक दल शक्तिशाली भएका छन्। राज्यका निकाय, संवैधानिक अङ्ग, सुरक्षा निकायहरू र स्वयम् न्यायपालिकासमेत राजनीतिक दलको टाङमुनि छन्। राज्यका सेवा प्रवाहका प्रणालीहरूलाई अवरुद्ध गराएर स्वयम् दलहरू दादागिरी मच्चाइरहेका छन्।

राज्यले नि:शर्त दिनुपर्ने सेवा पाउनकै लागि भए पनि जनता निरीह भएर दल र तिनका नेताहरूको पाउ मल्न विवश छन्। नेताको सोर्स-फोर्स विना जनताको कुनै काम नबन्ने स्थिति छ। यस्तो राजनीतिक सिन्डिकेटले लोकतन्त्र मात्रै होइन समग्र राज्य नै दरिद्र, दिशाहीन र कमजोर बनाइरहेको छ।

राज्यभन्दा दल बलियो हुने र दलभित्र पनि एकाध नेताको हुकुम नै नीति र थिति बन्ने भएपछि कसरी लोकतन्त्र फलोस्-फुलोस्। प्रमुख दलका प्रमुख नेताहरूको सुषुप्त अधिनायकवादमा पिल्सिएको नेपालको लोकतन्त्रको उद्धारकर्ता फेरि पनि नेपाली जनता नै हुन्। लोकतन्त्रमा नागरिकहरू सर्वोच्च स्थानमा हुन्छन्।

सर्वोच्च स्थानमा हुने नागरिकहरूको विवेकपूर्ण र तटस्थ भूमिकाले लोकतन्त्रलाई सही दिशामा क्रियाशील गराउन सकिन्छ। यो कुरा नेपाली जनताले जति चाँडो बुझ्यो त्यति नै चाँडो लोकतन्त्रलाई हुर्काउन र संस्थागत गर्न सकिन्छ।

हुन त गधा भारी नपुगी उठ्दैन भन्छन्। हामीलाई सकसको भारी अझै नपुगेको पनि हुनसक्छ। जतिबेला जनतालाई अब त अति भो भन्ने लाग्छ, त्यतिबेला विद्रोह त गर्ने नै छन्। तर यत्रा मानिसको सङ्घर्ष र बलिदानीबाट आएको लोकतन्त्रको थप चीरहरण नहुँदै जनताले मतदानमार्फत विद्रोह गरे साँप पनि मर्थ्यो र लट्ठी पनि भाँचिंदैनथ्यो।

केही विद्रोहका संकेत त देखिएका छन्, तर लोकतन्त्र बचाउन त्यति मात्रै पर्याप्त हुन्न। समय छँदै लोकतन्त्र बचाउन हरेक नागरिकले जिम्मेवार भूमिका खेलौं किनभने हामीसँग समय अत्यन्तै कम छ।

लेखक विवेकशील साझा पार्टीका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?