+
+
लिग टू क्रिकेट :

एकदिवसीय मान्यता कायम राख्न २ जित आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते २१:०६

२२ फागुन, काठमाडौं । पछिल्लो तीन साता नेपाल क्रिकेटले एउटा अभूतपूर्व लय समातेको छ । २–९ फागुनमा नेपालमै भएको नामिबिया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला क्लीनस्वीप गरेर दुवई पुगेको नेपालले यूएई र पपुवा न्युगिनी सम्मिलित अर्को शृंखलाको चारमध्ये तीन खेल जितेको छ ।

सन् २०१९ अगष्टदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सुरुवाती २४ मध्ये ८ खेलमात्र जितेको नेपालले यो तीन सातामा खेलेको ८ मध्ये सात खेल जितेको छ । ३२ खेलबाट ३२ अंकसहित यूएईलाई उछिन्दै नेपाल पाँचौं स्थानमा उक्लिएको छ ।

दुवईमा नेपालले पपुवा न्युगिनीलाई दुवै खेलमा हराएको छ भने यूएईमाथि एक जित र एक हारको मिश्रित नतिजा निकालेको छ । सोमबार दुवई अन्तर्राष्ट्रिय रंगशालामा यूएईमाथि ४२ रनको जित नेपालका लागि लिगको शीर्ष पाँचमा रहँदै एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन महत्वपूर्ण रह्यो ।

यो लिग टूमा यूएईमाथि नेपालको पहिलो जितसमेत हो । लिगको शीर्ष तीनभित्र रहेर सिधै एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्ने सम्भावनालाई पनि यो जितले कायमै राखिदिएको छ ।

कप्तान रोहितकुमार पौडेलले टस जितेपछि नेपालले पहिला ब्याटिङ गरेको हो । शीर्ष क्रम सम्हालिन नसकेको यो खेलमा भीम सार्की र आरिफ शेखले राम्रो प्रदर्शन गरे । भीमले करिअरकै सर्वाधिक ७० रनको योगदान गरे । आरिफले अविजित ४३ रन बनाए । कुशल मल्लको ३२ र सन्दीप लामिछानेको २७ रनले नेपालको योगफल सम्मानित अवस्थामा पुगेको हो ।

२३० रनको लक्ष्य पछ्याएको यूएईले रनको खाता नखोल्दै मोहम्मद वासिमलाई गुमाएको थियो । तर, दोस्रो विकेटका लागि आर्यन लाक्रा र आसिफ खानले ९४ रनको साझेदारी गरे । २४औं ओभरमा दीपेन्द्र सिंह ऐरीले आर्यनलाई ५० रनको स्कोरमा एलबीडब्लू आउट गरेपछि यूएईले लामो साझेदारी गर्न सकेन ।

आसिफ ८२ रन बनाएर आउट भए । सोमपाल कामीले ३४औं र ३६औं ओभरमा यूएईका महत्वपूर्ण ब्याटरहरु क्रमश: सीपी रिजवान र रोहन मुस्तफालाई आउट गरेपछि खेलमा नेपाल हावी हुन थाल्यो । ४२औं ओभरको लगातार दुई बलमा दीपेन्द्र सिंह ऐरीले विकेट लिँदा नेपालको जित निश्चित बन्यो ।

दुई बलमा लगातार दुई विकेट लिएपछि खुसी मनाउँदै ऐरी ।

नेपाल, यूएई र पपुवा न्युगिनीबीच अन्तिम शृंखला बाँकी छ । यो शृंखला कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारदेखि सुरु हुनेछ । नेपाललाई शीर्ष पाँचभित्र रहेर एकदिवशीय मान्यता कायम राख्न घरेलु मैदानमा हुने चारमध्ये दुई जित पर्याप्त हुनेछ । अन्तिम शृंखला क्लिन स्वीप गर्न सके नेपाल शृंखलामा तेस्रो हुनेछ ।

लिग टूको तीन वर्ष लामो शृंखलामा नेदरल्याण्ड्सबाहेक शीर्ष सात एसोसिएट टिमको सहभागिता छ । पूरा ३६ खेलबाट ५० अंकसहित स्कटल्याण्ड लिगको विजेता भइसकेको छ । ४४ अंकसहित ओमान दोस्रो हुने निश्चित भइसकेको छ । तेस्रो स्थानका लागि तीन टिमबीच प्रतिस्पर्धा छ । पूरा ३६ खेल खेलिसकेको नामिवियाको ३९ अंक छ ।

वर्तमान अंकतालिकामा अमेरिका चौथो स्थानमा छ । सबै खेल खेलिसकेको उसको ३५ अंक छ । समान ३२ खेलबाट नेपालको ३२ र यूएईको ३१ अंक छ । नेपालमा हुने शृंखला शीर्ष तीनको लडाईँमा यूएईका लागि पनि उत्तिकै महत्वपूर्ण छ । शृंखलामा चारै खेल जित्दा नेपालको अंक ४० हुनेछ । त्यो भनेको अहिले तेस्रो स्थानमा रहेको नामिवियाभन्दा एक अंक बढी हो ।

शृंखलाको अन्तिम १२ खेललाई नेपालले १२ फाइनलका रुपमा लिएको छ । ८ मध्ये ७ खेल जितेर समर्थकको अपेक्षालाई माथि पुर्‍याएको नेपाल टिमका कप्तान रोहितकुमार पौडेलले यूएईलाई जितेपछि शीर्ष तीनको प्रतिस्पर्धामा चार खेल बाँकी रहेको बताएका छन् । नेपाल टिमको पछिल्लो लयलाई उनले खेलाडीको जिम्मेवारीपन र प्रशिक्षकको प्रभावका रुपमा अर्थ्याए ।

‘सबैले आफ्नो जिम्मेबारी लिएर खेल्दा राम्रो नतिजा आएको हो,’ खेलपछिको कुराकानीमा उनले भनेका छन्, ‘प्रशिक्षक मोन्टी सर (देशाई) आएपछि पनि हाम्रो प्रदर्शनमा सुधार आएको हो । उहाँ आएपछि ड्रेसिङ रुममा सकारात्मकता थपिएको छ । हाम्रो जितको आधार त्यही हो ।’

नावालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेशमा गएर खेल्न अनुमति दिएपछि दोस्रो खेलदेखि उनी टिममा सामेल भएका थिए । दुवईमा सन्दीपले बलिङमा मात्र होइन ब्याटिङबाट पनि महत्वपूर्ण रन बटुल्दै अलराउण्ड छवि प्रदर्शन गरे । सन्दीपले यूएईविरुद्ध अविजित २६, पपुवा न्युगिनीविरुद्ध अविजित ३५ र सोमबार यूएईविरुद्ध २७ रन बनाए ।

पपुवा न्युगिनीविरुद्धको दोस्रो जितमा सन्दीपले आशिफ शेखसँग मिलेर आठौं विकेटका लागि ७७ रनको कीर्तिमानी साझेदारीसमेत गरे । १८० रनको लक्ष्य पछ्याएको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । हारको जोखिममा रहेको पारी सम्हाल्दै नेपाललाई महत्वपूर्ण जित दिलाउन उनले आसिफलाई गतिलो साथ दिए । सन्दीपले बलिङतर्फ ३ खेलमा ५ विकेट लिए ।

नेपालका ब्याटिङ अलराउण्डर दीपेन्द्रसिंह ऐरीले लिग टूमा अपेक्षाअनुसार ब्याट चलिरहेको छैन । तर, बलिङमा भने उनले प्रभावशाली प्रदर्शन गरिरहेका छन् । सोमबार यूएईसँग ३ सहित यो शृंखलामा उनले ५ विकेट लिए । विकेट लिन नसकेका खेलमा पनि उनले राम्रो इकोनोमीसँगै कसिलो बलिङ गरिरहेका छन् ।

नेपालले दुवईमा खेलेका चारमध्ये तीन खेलमा पहिला फिल्डिङ गरेको थियो । सबै खेलमा २ सय आसपास योगफल थियो । तर, तीनमध्ये दुई खेलमा मात्र लक्ष्य भेट्टाउन सक्यो । यद्यपी व्याटिङको संघर्ष भने सबै खेलमा देखियो ।

शीर्ष क्रममा आसिफ शेखले नियमित प्रदर्शन गरे । कुशल भुर्तेलले पपुवा न्युगिनीसँगको पहिलो खेलमा अर्धशतकीय योगदान गरे । ग्रोइन इन्जुरीका कारण शृंखलाको अन्तिम खेलमा उनी टिममा थिएनन् । यूएईविरुद्धको खेलमा भीम सार्की र आरिफ शेखको प्रदर्शन नेपालको कमजोर ब्याटिङमा सकारात्मक संकेत हो । शीर्ष क्रमका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल यो शृंखलामा लगातार असफल रहे ।

डेढ वर्षपछि राष्ट्रिय टिममा अवसर पाएका कुशल मल्लले शानदार अलराउण्ड प्रदर्शनलाई दुवईमा पनि निरन्तरता दिए । उनले चार खेलमा ४ विकेट लिए भने एक अर्धशतकसहित १२७ रन बनाए ।

त्रिवि मैदानमा नेपालले बिहीबार (२५ फागुन) पपुवा न्युगिनीसँग शृंखलाको पहिलो खेल खेल्दैछ । २८ फागुनमा यूएईसँग तथा २९ फागुनमा पुनः पपुवा न्युगिनीसँग खेल्नेछ । २ चैतमा नेपाल र यूएईबीच लिग टू अन्तर्गत साढे तीन वर्षे शृंखलाकै अन्तिम खेल हुनेछ ।

नेपालले शीर्ष तीनमा रहन सके एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायर खेल्नेछ । त्यसो नभएमा यही मार्च महिनाको अन्तिमतिर नामिबियामा हुने एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । लिग टूको अन्तिम चार स्थानमा रहने टिम र क्यानडा तथा जर्सीबीचको प्रतिस्पर्धामा शीर्ष दुई हुने टिम ग्लोबल क्वालिफायरका लागि छानिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?