+
+
सन्दर्भ ८ मार्च :

‘त्यसपछि कसैले मलाई छुने आँट गरेनन्’

‘बसमा के भयो, के भयो भन्न थाले मान्छेहरुले । त्यसपछि लाज भएछ हात जोडेर माफी माग्यो’ अर्यालले आफ्नो हिम्मतको अगाडि हिंसा हारेको घटना सुनाइन्, ‘हिम्मत हुनुपर्छ, बल चाहिँदैन । आँट भएपछि अर्को पक्ष (हिंसा गर्ने पक्ष) लत्रक्क पर्दो रहेछ ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ फागुन २४ गते ६:५८

२४ फागुन, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल ६६ वर्षकी भइन् । ६६ औं बसन्त पार गर्दै गर्दा उनीसित महिला भएका कारण हिंसामा परेका धेरै अनुभव छन्, अनि हिंसाको प्रतिकार गर्दाका दह्रिला अनुभव पनि ।

२० असोज २०१३ मा पर्साको जगरनाथपुरमा जन्मिएकी अर्याल एमए गर्न २०३३ सालमा काठमाडौं आएकी थिइन् । त्यसबेला आफूले सार्वजनिक बहसमा दुर्व्यवहार भोगेको र त्यसको प्रतिकार गरेपछिको मिठो अनुभव उनीसित छ ।

त्रिभुवन विश्वविद्यालयमा पढ्न उनी रत्नपार्कबाट कीर्तिपुरसम्म बस चढ्थिन् । बसमा अति भीड हुने गर्थ्यो । ‘एक दिन बसमा टाउको माथिको डण्डी समातेर उभिएकी थिएँ । साइडबाट कसले हो, चिमोट्यो । फर्केर हेरेँ, अनुहार चिनेँ,’ अर्याल सुनाउँछिन्, ‘अर्को ठाउँमा बसबाट ओर्लिएँ र त्यसको कपालमा समातेर पछारेँ, एक लात्ती हानेँ । त्यसपछि कसैले मलाई छुने आँट गरेनन् । पछिसम्म त्यो बाघ हो है भन्थे मलाई ।’

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्चले मंगलबार राजधानीमा ‘मबाट महिलावाद’ विषयक कार्यक्रम राखेको थियो । जहाँ महिला अधिकारकर्मी र महिला कानुन व्यावसायीहरुको बाक्लो उपस्थिति थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अर्यालले हिंसामा परेको र त्यसको प्रतिकार गर्दाको आफ्नो अनुभव सुनाएकी हुन् ।

हिंसामा पर्दा पटक–पटक प्रतिकार गरेको र आफ्नो हिम्मतका अगाडि हिंसा गर्न खोज्नेहरु लुत्रुक परेको अनुभव उनीसित छ । बसमा अलि लामो यात्रा गर्दा आफन्त पर्नेले नै अपशब्द प्रयोग गरेपछि मुक्काले हानिदिएको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘अपशब्द प्रयोग गर्यो, त्यसपछि मैले मुक्काले हनिदिएँ । गिजाबाट रगत बगेपछि हात जोडेर माफी माग्न थाल्यो ।’

हिम्मतको अगाडि हिंसा हार्यो

यो घटना चाहिँ उर्मिलाले एमए सकेपछिको हो । उनी कतै बसमा यात्रा गर्दै थिइन् । एक जना पुरुष सँगैको सिटमा आएर बसे । लामो यात्रा भएपछि सँगै रहनेसँग कुरा हुनु स्वाभाविक थियो । कुरा गर्दै जाँदा थाहा भयो ती मान्छे उनका दाइको ससुराली तिरका नजिकका परेछन् ।

नयाँ पुस्तालाई उनको सुझाव छ– ‘महिला र पुरुषबीचको समानताको विषयमा धेरै कुरा भएका छन् । यस अनुसार चेतना फैलिएको छ । अहिले थोरै हिम्मतले पनि हिंसाको प्रतिकार हुन्छ ।’

‘अलि पर पुगेपछि एमए पढ्दासम्म त लभसभ पर्यो होला नि भन्यो । मेरो दिमागमा केही कुरा आएन । एक मुक्का हानिदिएँ । मभन्दा धेरै मोटो थियो । तर, हिम्मत ठूलो हुँदो रहेछ,’ अर्यालले सुनाइन् ।

‘बसमा के भयो, के भयो भन्न थाले मान्छेहरुले । त्यसपछि लाज भएछ हात जोडेर माफी माग्यो’ अर्यालले आफ्नो हिम्मतको अगाडि हिंसा हारेको घटना सुनाइन्, ‘हिम्मत हुनुपर्छ, बल चाहिँदैन । आँट भएपछि अर्को पक्ष (हिंसा गर्ने पक्ष) लत्रक्क पर्दो रहेछ ।’

महिला दह्रो हुँदा कसैको केही नलाग्ने उनको आफ्नै अनुभव हो । उनले भनिन्, ‘अलिकति हामी हिम्मतिलो हुनुपर्छ । अठोटका साथ हिँड्ने हो भने धेरै चीज चुनौतीका साथ पार गर्न सक्छौं ।’ आफूले जमानामा हिम्मतले हिंसाको प्रतिकार गरेको सुनाउँदै उनी अहिले र पहिलेको परिस्थितिमा धेरै फेरबदल आएको बताउँछिन् ।

नयाँ पुस्तालाई उनको सुझाव छ– ‘महिला र पुरुषबीचको समानताको विषयमा धेरै कुरा भएका छन् । यस अनुसार चेतना फैलिएको छ । अहिले थोरै हिम्मतले पनि हिंसाको प्रतिकार हुन्छ ।’ तर, हिंसा के हो भन्ने विषय भने प्रष्टसँग बुझ्न उनको सुझाव छ । उनी भन्छिन्, ‘हामीले पनि के सही र के गलत भन्ने सोचेर व्यवहार गर्नुपर्छ ।’

आफ्नो परिवारको दह्रिलो साथ पाउँदा महिला पुरुष जो कोहीमा हिम्मत हुने र कुनै पनि प्रकारको हिंसाको प्रतिकार गर्ने हिम्मत आउने पनि अर्याललाई लाग्छ । ‘मैले जुन घटना सुनाएँ त्यसबारे परिवारमा त भनेकी थिएँ बाहिर भनेकी थिइनँ,’ सार्वजनिक यातायातमा यात्रा गर्दाका दुई वटा अनुभव सुनाएपछि अर्यालले अनलाइनखबरसित भनिन् ।

पछिल्लो समय पुरुषहरु समेत महिलाबाट हिंसामा पर्ने प्रवृत्ति देखापरेको भन्दै उनी यसतर्फ समेत सतर्क हुनुपर्ने बताउँछिन् । ‘हामी महिला भएर महिलाको मात्रै कुरा गरेर हुँदैन । महिलाबाट पुरुषहरु हिंसामा परेको पनि देखिएको छ । धेरै जना पीडित भएर हैरान पारेको छ भनेर आउँछन्,’ उनी थप्छिन्, ‘समानतालाई समानताकै रुपमा विचार गरेर जानुपर्छ ।’

नेपालले संविधानमै महिलाका अधिकारहरु सुनिश्चित गरे पनि व्यवहारमा समानताको अनुभूति गराउन कतिपय अवस्थामा बाँकी नै रहेको उनलाई लाग्छ । यसका लागि संसदमा महिला र पुरुष ५०/५० प्रतिशत हुनुपर्ने र त्यो प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनी बताउँछिन् । प्रत्यक्षतर्फ पुरुष र महिला सबै लड्न थालेपछि अहिले हुने गरेको भनिएका आर्थिक चलखेलहरु समेत घटेर जाने अर्यालको विश्वास छ । उनी भन्छिन्, ‘महिला र पुरुष दुवै ५०/५० प्रतिशत लड्ने भइसकेपछि निर्वाचन पनि अलिकति शुद्धीकरण भएर जान्छ ।’

संसदमा महिला र पुरुष ५०/५० प्रतिशत हुने वातावरण बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने उपाध्यक्ष अर्यालको प्रतिवद्धता छ । साथसाथै, राजनीतिक पार्टीको शीर्ष तहमा पनि महिलाहरुलाई पुर्याउनुपर्नेमा उनको जोड छ ।

उपाध्यक्ष अर्याल अगाडि भन्छिन्, ‘राजनीतिक पार्टीहरुमा शीर्ष स्थानहरुमा महिलाहरुको नेतृत्व हुने कुराहरुको अझै अभाव छ । महिलाहरु निर्णय गर्ने ठाउँमा, सर्वोच्च पदाधिकारीहरुमा कति छ भन्ने कुरो हामीले विचार गरेर जानुपर्ने देखिन्छ ।’ राष्ट्रिय महिला आयोग जस्ता संवैधानिक निकायले पनि भुईं तहका महिलाहरुको लागि काम गर्नुपर्ने उनको आग्रह छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?