+
+

छोएरै रोग निको पार्ने भ्रम छर्दै सीमान्तको ठगी धन्दा

अमृत सुवेदी अमृत सुवेदी
२०७९ फागुन २४ गते २०:१७

२४ फागुन, पोखरा । पोखरा महानगरपालिका–१७ विरौटाको पावरहाउस रिसोर्टमा मानिसहरुको ठूलो भीड थियो ।

कोही वैशाखी टेकेका र कोही ह्वीलचेयरमा आएका मानिसहरु थिए । बुढाबुढीदेखि भर्खरका बालबालिकासम्म रिसोर्टमा पुगेका थिए । रिसोर्टको एउटा कोठामा मानिसहरु लाइन लागेर पालैपालो भित्र जाँदै थिए ।

कोठाभित्र पहेंलो कुर्ता, कालो इस्टकोट, ढाकाटोपी लगाएका दाह्री पालेका व्यक्ति थिए । ती व्यक्तिले कसैको टाउकोमा, कसैको ढाडमा त कसैको कम्मरमुनिसम्म हातले हानिरहेका थिए ।

ती व्यक्तिको अगाडि टेबलमा दुई वटा कचौरा थिए । कचौराको तेल हातमा लिँदै निधार र टाउकोमा लगाउँदै हत्केलाले हान्दै थिए । शरीरका विभिन्न अंगमा तेल लगाइँदै र थ्यापथ्याप हान्दै ती व्यक्तिले भन्दै थिए, अब निको हुन्छ ।

पोखरा विरौटामा देखिएको यो अनौठो दृश्य आफूलाई सीमान्त गुरु भन्ने भरत भट्टराईले रोग निको पार्ने भ्रम रहेछ । जस्तोसुकै गम्भीर र दीर्घ रोग पनि हेरेरै निको पार्ने गुरु पोखरा आएको भन्दै छोएरै रोेग निको पार्ने मनसायले कास्की र आसपासका जिल्लाबाट बिरामीहरु पुगेका थिए ।

क्यान्सर, प्यारालाइसिस, होडजोर्नी, थाइराइडलगायत र कतिपय पहिचानसमेत नखुलेको बिमार लिएर सीमान्तकहाँ बिरामीहरु पुगेका थिए । टिकटकमा मनको कुरा बुझ्ने म (सीमान्त) लेखिएको आइडीबाट उनले लाइभमा बसेर धेरै जटिल रोग पनि निको पारेकाले पोखरामा उनले छोएपछि सञ्चो हुने अन्धविश्वास बोकेर मानिसहरु पुगरिहेका छन् ।

कान्छी गुरुङ नाम गरेकी एक महिलाले सीमान्त भगवानै भएको बताउँदै भीडलाईसमेत विश्वास दिलाउने कोसिस गर्दै थिइन् । लोकदोहोरी गायक कुमार पुन पनि त्यहीँ बसेर सीमान्तलाई भगवानै भएको र आफू पनि उपचार गराउन पुगेको भ्रम छरिरहेका थिए ।

पोखरा महानगरपालिका–१५ कि गंगा शर्मा तिमिल्सिनाले धेरै डाक्टरले हेर्दा र लामाधामीको सहारा लिँदा पनि सञ्चो नभएको रोग, टिकटकबाट हेरेरै उनले निको पारेको बताइरहेकी थिइन् । तर, आफूलाई सीमान्त गुरु भन्ने भरत भट्टराई न कुनै विशेषज्ञ डाक्टर हुन्, न कुनै मनोचिकित्सक ।

सीमान्तले मानिसको भावना र अज्ञानतामा खेलेर पैसा कमाउने धन्दा चलाएको खुलेको छ । ९ महिना अगाडिमात्र टिकटक खोलेका उनले नेपालमा थुप्रै ठाउँमा पुगेर मानिसलाई छोएरै सञ्चो बनाएको बताउने गरेका छन् भने त्यस्ता भिडियोसमेत अपलोड गर्ने गरेका छन् ।

टिकटक लाइभबाटै जटिल खालका बिमारसमेत निको पार्ने भ्रम छरेका उनले पोखरामा १ हजार रुपैयाँ शुल्क लिएर बिरामीलाई हेरिरहेका थिए । उनले छोएपछि रोग निको हुने अन्धविश्वासमा तनहुँ, स्याङ्जा, गोरखा, पर्वत लगायतका थुप्रै जिल्लाबाट मानिसहरु पुगेका थिए ।

उनलाई पोखरा ल्याउने चाँजो मिलाएका थिए, पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका व्यवसायी भरत केसीले । मंगलबारमात्र सीमान्तले १२३ जनासँग १ हजार रुपैयाँ शुल्क लिएर रोग निको पार्ने भ्रम छरिरहेका थिए । रसिदसमेत नदिने सीमान्तले आफूसँग अलौकिक शक्ति रहेको बताउँदै ठगी धन्दा चलाउँदै आइरहेका थिए । त्यही बेला जिल्ला प्रशासन कार्यालयले यसको सुइँको पाएपछि यो काम रोकेको छ ।

पोखरामा सीमान्तलाई ल्याएर भ्रम छरेको आरोपमा व्यवसायी केसीलाई केहीबेर नियन्त्रणमा लिएर बिहीबार उपस्थित हुने गरी छोडेको छ भने सीमान्तलाई सोधपुछसमेत नगरी छोडेको छ ।

‘१ हजार रुपैयाँ शुल्क लिएर रोग निको पार्ने भन्दै मानिसलाई भ्रम फैलाइरहेको थाहा पाउनेबित्तिकै हामी पुग्यौं तर तत्काल त्यो काम रोक्यौं । भरत भन्ने सीमान्तलाई पोखरा ल्याएर मान्छेहरुलाई उपचारका लागि बोलाउने भरत केसीलाई नियन्त्रणमा लिएर छोडेका छौं, उनका साथबाट १ लाख २३ हजार रुपैयाँसमेत बरामद भयो’ जिल्ला प्रकाशन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भने, ‘बिहीबार फेरि बोलाएका छौं र अनुसन्धानका लागि गुरु भन्ने सीमान्तलाई पनि बोलाउँछौं ।’

उनले यसअघि सुर्खेमा ९ दिन बसेर २ हजार रुपैयाँ शुल्क लिएर २ हजार १ सय जनाको उपचार गरेकोसमेत बताउने गरेका छन् । सीमान्तसँग उपचार गराउन भन्दै समाजका प्रतिष्ठित क्षेत्रका व्यक्तिदेखि प्रहरीसमेत पुगेको भिडियोहरु समेत आइरहेका छन् ।

मनोरोग विशेषज्ञ, डा. निर्मल लामिछानेले अहिलेसम्म कुनै पनि विज्ञानले मान्छेले हेरेर तथा छोएर निको हुने विधि पत्ता नलागेको बताउँछन् । ‘यो मानिसको संवेदना र भावनामा खेलेको हो । अज्ञानतामाथि खेलवाड गरेको हो । भ्रामक कुरा गरेर पैसा कमाउन खोजेको हुन सक्छ,’ लामिछानेले भने, ‘उसँग पनि भ्रम हुन सक्छ, मसँग शक्ति छ भन्ने ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?