
२५ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणको काम सन्तोषजनक नभएको पाइएको छ ।
नेपाल विद्युत प्राधिकरणले अनुगमनका क्रममा ठेक्का पाएका चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको पाइएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको निरीक्षण गरी आगामी असारभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको विद्युत बाह्रबिसे सबस्टेसनमा जोडिने छ ।
आयोजना असारभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ । यो सबस्टेसनको निर्माण नभएमा मध्यभोटेकोसीको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकी खेर जाने छ ।
कार्यकारी निर्देशक घिसिङले त्यस्तो अवस्था आएमा १०२ मेगावाटको विद्युत आयोजनाले विद्युत बिक्री गरी दैनिक रुपमा प्राप्त हुने आम्दानी हिसाब गरी ठेकेदार कम्पनीले बेहोर्नु पर्ने चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया 4