+
+

इन्फ्रारेड चुलो : कति टिकाउ, कति मूल्य ?

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ फागुन २६ गते १५:०५

काठमाडौं । अहिले बजारमा आधुनिक डिजाइनका विद्युतीय चुलो प्रशस्तै पाइन्छ । बढ्दो महंगीमा खर्च कटौती र समयको बचत गर्न परम्परागत चुलोलाई त्यागेर नयाँ प्रविधिसहितको इण्डक्सन र इन्फ्रारेड चुलो धेरैको रोजाइ बन्न थालेको छ ।

इन्डक्सनमा खाना पकाउन विशेष भाँडा चाहिन्छ तर इन्फ्रारेडमा भने ग्यासमा जस्तै सामान्य भाँडा प्रयोग गरी खाना पकाउन सकिन्छ । त्यसैले पनि इन्फ्रारेड चुलो धेरैलाई उपयोगी हुन सक्छ ।

इन्फ्रारेड चुलो मुख्यतया एउटा ‘म्यान्युल’ र अर्को ‘डिजिटल’ दुई डिजाइनमा उपलब्ध हुने बाल्ट्रा इलेक्ट्रोनिक्स सेल्स इन्चार्ज निकिसा शाक्य बताउँछिन् । ‘पुस बटन र टच बटन दुई प्रकारको फङ्सन हुन्छ । एउटा मात्र भाँडा राख्न मिल्ने र दुईवटा भाँडा राख्न मिल्ने दुई प्रकारका इन्फ्रारेड चुलो बजारमा पाइन्छ,’ उनी भन्छिन् ।

इन्फ्रारेड चुलोको पावर रेट दुई हजार वाटको हुन्छ । कति प्रयोग हुन्छ त्यो अनुसार नै बिजुली खपत हुने हो । पावर सेभ मुड फङसन भएको इन्फ्रारेड चुलोले बिजुली कम खपत गर्ने इलेक्ट्रोन होम अप्लायन्सका सञ्चालक दीनदयाल अग्रवाल बताउँछन् ।

‘पिंध समतल भएको जुनसुकै भाँडा इन्फ्रारेड चुलोमा प्रयोग गर्न मिल्छ । इन्फ्रारेडका लागि भनेर छुट्टै भाँडा किन्नुपर्ने झमेला हुँदैन,’ उनी भन्छन् । यसमा कस्तो खाना पकाउने हो त्यही अनुसार समय लाग्छ । सामान्यतया पानी राम्ररी उम्लन पाँच मिनेट लाग्ने अग्रवाल बताउँछन् ।

इन्फ्रारेड चुलोमा बिस्तारै हिट उत्पन्न हुँदै जान्छ भने यसले चुलोको सबैतिर बराबर तापक्रम बाँड्छ । यसले गर्दा यो चुलोमा खाना पकाउँदा ग्यास चुलोमा पकाएको जस्तै गरी पाक्छ र विशेष ध्यान दिइरहनु पर्दैन ।

कति पर्छ मूल्य ?

ठाउँ र कम्पनीअनुसार इन्फ्रारेड चुलोको मूल्य फरक पर्न सक्छ । सामान्यतया इन्फ्रारेड चुलोको मूल्य २५ सयदेखि नौ हजार रुपैयाँसम्म पर्छ । इन्डक्सनको तुलनामा इन्फ्रारेड चुलोको मूल्य थोरै बढी पर्न सक्छ । तर इन्डक्सनमा खाना पकाउने भाँडासमेत छुट्टै (फलाम वा स्टेनलेस) किन्नुपर्ने भएकाले समग्रमा इन्डक्सन महंगो पर्न जाने शाक्य बताउँछिन् ।

नेपाली बजारमा बाल्ट्रा, यसुदा, इलेक्ट्रोन, मिडिया, प्रेस्टिज, फिलिप्स, अगेनो, ओमेगा, सिजी र एलजी लगायत ब्राण्डका यस्ता चुलो उपलब्ध छन् ।

कतिको सुरक्षित हुन्छ ?

इन्फ्रारेड चुलो सुरक्षित नै हुन्छ । तर प्रयोग कसरी गर्ने भन्ने जानकारी हुनुपर्छ । रेडिएसनको हिसाबले हेर्ने हो भने इन्फ्रारेड चुलो बढी उपयुक्त हुन सक्ने इलेक्ट्रोन होम अप्लायन्सका सञ्चालक अग्रवाल बताउँछन् । ‘रेडिएसन नहुने, सेन्सरमा टच सुविधा, चार घण्टाको टाइमर फङ्सन, हाइ टेम्प्रेचर प्यानलजस्ता सुविधा पाइन्छ,’ उनी भन्छन् ।

इन्फ्रारेडमा खाना पकाएर चुलो बन्द गरिसकेपछि पनि लामो समयसम्म चुलो तातो भइरहन्छ । इन्फ्रारेड चुलो प्रयोग गर्दा बच्चाको पहुँच नपुग्ने ठाउँमा राख्नुपर्ने बाल्ट्रा इलेक्ट्रोनिक्स सेल्स इन्चार्ज शाक्य सुझाउँछिन् ।

‘इन्फ्रारेड चुलो किन्दा एक वर्षको वारेन्टी दिइन्छ । तर यो लामो समयसम्म बिग्रने समस्या हुँदैन,’ उनी भन्छिन्, ‘यसमा मुख्यतः कलिङको समस्या हुन्छ । राम्ररी चलाइएन भने सिसा फुट्ने समस्या पनि हुन्छ । तर केही समस्या आए कम्पनीमा गएर बनाउन सकिन्छ ।’

इन्फ्रारेड चुलो किन्दा ध्यान दिनुपर्ने कुरा

चुलोको ब्राण्ड, गुणस्तर, वारेन्टी, सर्भिस सपोर्ट लगायत विषयमा ध्यान पुर्‍याएर मात्र किन्नुपर्ने हुन्छ । साथै चाइल्ड सेप्टी र अन्य सुरक्षा फिचर भएका इन्फ्रारेड चुलो हेरेर खरिद गर्नु राम्रो हुन्छ । इनर्जी सेभिङ इन्फ्रारेड चुलोले कम बिजुली खपत गर्छ । त्यसैले चुलो किन्दा इनर्जी सेभिङ किन्नु उपयुक्त हुने शाक्य बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?