+
+

भरतपुरमा २२० केभीको नयाँ सबस्टेशन तयार

सुवास पण्डित सुवास पण्डित
२०७९ फागुन २८ गते १०:२२
चितवनको भरतपुरमा बनेको नयाँ सबस्टेशन अनुगमन गर्दै नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ ।

२८ फागुन, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीमा २२० केभीको नयाँ सबस्टेशन तयार भएको छ । आयोजना प्रमुख नारायण रेग्मीले दिएको जानकारी अनुसार अहिले सबस्टेशन परीक्षणको काम चलिरहेको छ । अर्को महिना सबस्टेशन चार्ज गरिने उनले जानकारी दिए ।

‘सबस्टेशन तयार भयो, अर्को महिना चार्ज गर्ने योजनामा छौं, रेग्मीले भने, ‘विभिन्न समस्याहरू भोग्दै केही ढिला भए पनि सबस्टेशन तयार भएको छ ।’ सबस्टेशनको केही दिन अगाडि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले अवलोकन गरी फर्किएका थिए ।

सबस्टेसनमा १६०÷१६० एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका तयार भएको सबस्टेशनमा तनहुँ जलविद्युत आयोजना १४० मेगावाटबाट उत्पादित विद्युत पनि ल्याएर जडान गरिनेछ ।

नयाँ भरतपुर सबस्टेशन ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस)’ प्रविधिमा आधारित छ । भरतपुरमा पहिल्यै सबस्टेशन रहेकाले अहिले नयाँ बनेको सबस्टेशनलाई नयाँ भरतपुर सबस्टेशन भनिएको हो ।

नयाँ भरतपुर र लमजुङको उदिपुरमा सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी लार्चेन एण्ड टर्बो ( एल एण्ड टी) सँग करिब २ वर्षअघि ठेक्का सम्झौता भएको थियो । झण्डै ३ अर्बको लागतमा भरतपुर उदिपुरमा सबस्टेशनको जिम्मा पाएको कम्पनीको म्याद आगामी जुन ३० सम्म छ । भरतपुरको नयाँ सबस्टेशन तयार भए पनि उदिपुरको तयार हुन अझै ४ महिना जति लाग्ने आयोजना प्रमुख रेग्मीले बताए ।

मर्स्याङ्गदी करिडोर अन्तर्गत नै मनाङ्गको धारापानी र लमजुङ्गको खुदीमा पनि सबस्टेशन बन्दैछन् । तिनीहरुको काम ६ महिना भित्र सक्ने लक्ष्य राखिएको छ । धारापानी, खुदीको सबस्टेशन तथा धारापानी देखि उदिपुरसम्मको ४६ किलोमिटर (३०+१६) प्रसारण लाइन निर्माणको जिम्मा चिनियाँ कम्पनी टिबीईएले पाएको हो । प्रसारण लाइनसहित दुई सबस्टेशन निर्माणको लागत ७ अर्ब रहेको छ ।

मर्स्याङ्गदी करिडोरको विद्युतलाई भरतपुसम्म ल्याएर जोड्न तनहुँको आँबुखैरेनीदेखि भरतपुरसम्म विद्युत प्रसारण लाइन बनाउने कामले भने खासै गति लिन सकेको छैन ।

आगामी सेप्टेम्बर महिनासम्म काम सकिसक्ने गरी ठेक्का सम्झौता गरिएको हो ।  यी प्रसारण लाइनबाट आउने विद्युतलाई भरतपुरको नयाँ सबस्टेशन हुँदै देशका विभिन्न भागमा लैजाने योजना प्राधिकरणको छ ।

प्रसारण लाइन बन्न ढिलाइ

मनाङ्गको धारापानीदेखि भरतपुरसम्म ११३ किलोमिटर लामो प्रसारण लाइनलाई विभिन्न खण्डमा बाँडेर काम गरिएको छ । मनाङ्गको धारापानीदेखि लमजुङ्गको खुदीसम्म ३० किलोमिटर लामो प्रसारण लाइनमा ८० वटा टावर निर्माणको काम भरखरै मात्रै सुरु भएको छ ।

यस्तै, खुदीदेखि उदिपुरसम्मको १६ किलोमिटर लामो प्रसारण लाइन भित्र ४६ वटा टावर निर्माण हुनेछन् । यसको काम पनि भरखरै सुरु भएको आयोजना प्रमुख नारायण रेग्मीले जानकारी दिए । धारापानीदेखि उदिपुरसम्मको ४६ किलोमिटर लामो प्रसारण लाइन एउटै ठेकेदारले बनाउँदैछ । यस्तै उदिपुरदेखि नयाँ भरतपुरसम्मको ६७ किलोमिटर लामो प्रसारण लाइनमा १९३ वटा टावरहरु बन्ने छन् । यो प्रसारण लाइनको जिम्मा चिनियाँ कम्पनी पिङ्गगाओले लिएको हो । ३ अर्ब लागत रहेको यो खण्डको प्रसारण लाइनको ठेक्का सम्झौता आगामी अप्रिलको अन्तिममा सकिदैछ । तर, काम सन्तोषजनक छैन ।

ठेकेदारले कामलाई गति नदिए ठेक्का तोड्ने मनस्थितीमा प्राधिकरण रहेको छ । यो खण्डको अहिलेसम्म ६ किलोमिटर मात्रै चार्ज गरिएको छ । अहिलेसम्म ४० प्रतिशत मात्रै काम सकेकाले ठेक्का सम्झौता अवधि भित्रमा ठेकेदारले काम सक्ने अवस्था छैन ।

मर्स्याङ्गदी करिडोरको विद्युतलाई भरतपुसम्म ल्याएर जोड्न तनहुँको आँबुखैरेनीदेखि भरतपुरसम्म विद्युत प्रसारण लाइन बनाउने कामले भने खासै गति लिन सकेको छैन । यो क्षेत्रमा बन्ने ८० वटा टावरहरु मध्ये हालसम्म जम्मा १५ वटा जति टावरको मात्रै फाउण्डेशनको काम भैरहेको छ । कठिन भूगोल र वनसम्वन्धी समस्याका कारणले समयमा नै काम गर्न नसकिएको आयोजना प्रमुख रेग्मीले जानकारी दिए ।

ठेकेदार कम्पनीले तनहुँ र चितवन गरी दुईतिरबाट टावरहरुको काम गरिरहेको छ । प्रसारण लाइन बन्ने ठाउँ र फाउण्डेशन बन्ने ठाउँमा रहेका रुख कटान गर्न ढिला हुँदा काम प्रभावित भएको उनले बताए । रुख कटानका लागि आईई स्वीकृत भएर कटान आदेश आउन ढिला भएको छ । प्रसारण लाइनबाट करिब २ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले विश्वास लिएको छ ।

चितवनको भरतपुरदेखि मनाङ्गको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । मर्स्याङ्गदी करिडोरको उत्पादित विद्युत र तनहुँ जलविद्युत आयोजनाबाट उत्पादन हुने १४० मेगावाट विद्युत डबल सर्किट भएर चितवनको रामनगरमा आउने र त्यहाँबाट ४ वटा (मल्टिसर्किट) प्रसारण लाइन तयार गरी आँपटारीको २२० केभीको सबस्टेनमा जडान गरिनेछ ।

तनहुँ जलविद्युतबाट उत्पादित बिजुलीलाई भरतपुरसम्म ल्याएर जोड्न २२० केभीको डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको काम चलिरहेको छ । पावर हाउसबाट भरतपुरको आँपटारीसम्म ३६ किलोमिटर लामो ट्रान्समिसन लाइनमा ९४ वटा टावरहरू हुनेछन् । तीमध्ये ५१ वटाको फाउण्डेशनको काम सकिएको छ भने ३१ वटा टावर ठड्याउने काम सकिएको छ । ४ वटामा स्पानमा तार तान्ने काम पनि गरिएको छ । ट्रान्समिसन लाइनको झण्डै ६५ प्रतिशत काम सकिएको छ ।

झण्डै १ अर्बको लागतमा भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले ट्रान्समिसन लाइन बनाउने जिम्मा सन् २०१९ को डिसेम्बरमा दिइएको हो । ठेक्का सम्झौता भएको ३ वर्षभित्र बनाइसक्ने उल्लेख भए पनि रुख कटानको अनुमति र कोरोना भाइरसको संक्रमणका कारणले समयमा नै काम अगाडि बढाउन नसकिएको आयोजनाका इलेक्ट्रिकल महाशाखा प्रमुख गुञ्जन आत्रेयले बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?