
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनमा राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी ६ जनालाई नियन्त्रणमा लिएको छ।
- प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा सुरक्षा निकायको टोलीले नारायणगढ, पोखरा बसपार्क र आँपटारीमा सवारीसाधनलाई कारबाही गरेको छ।
- बढी भाडा असुल गर्ने २५ माइक्रोबसले उठाएको रकम फिर्ता गराइएको र अटेर गरेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।
२१ असोज, चितवन । राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई कारबाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी उपरीक्षक गोविन्द पुरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारीसहितको टोलीले सडकमा जाँच गरी कारबाही गरेको हो। सो क्रममा बढी भाडा लिने ६ जनालाई नियन्त्रणमा लिइएको छ।
यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकालाई कारबाही गरिएको हो । सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।
प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार चलानीबिना यात्रु लिएर हिँडेका सवारी चालक र बढी भाडा असुल गरेकालाई सचेत गराइएको, भाडा फिर्ता गराइएको, जरिवाना लगाइएको र नियन्त्रणमा लिइएको छ।
अटेर गरेकालाई पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । चितवन हुँदै काठमाडौँतर्फ गुड्ने सवारीसाधनमा अनुगमन गरिएको हो ।
दशैं मानेर काठमाडौँ फर्किनेको चाप बढेपछि यातायात व्यवसायीले उनीहरुबाट चर्को भाडा असुल्ने गरेको गुनासो सुनेपछि नियमित रुपमा अनुगमन गर्न थालिएको प्रहरी उपरीक्षक पुरीले बताए।
प्रतिक्रिया 4