
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध नभएको जनाएको छ । र, सडक प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न भनेको छ ।
असोज १७ र १८ गतेको वर्षापछि पहिरो खस्ने र बाटो अवरुद्ध हुने गरेको थियो । जमिन भिजेर कमजोर भएकाले कुनै पनि बेला ढुंगा वा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।
चितवन भएर यात्रा गर्नेहरुलाई बेलुका ९ बजेभित्र चितवन आइसक्न र पोखरा वा काठमाडौंतर्फ जानेहरुलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट निस्किसक्न भनिएको छ ।
हिजो बेलुका ९ बजेपछि चितवन आइपुगेका गाडीहरुलाई प्रहरीले आँपटारी क्षेत्रमा रातभर रोकेर आज बिहान ६ बजेदेखि गन्तव्यमा जान दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्यतर्फ गइरहेका छन् ।
प्रतिक्रिया 4