+
+
विचार :

युवा देशमा टिकाउने अचूक उपाय स्याटलाइट क्याम्पस

युवा पलायनको यति ठूलो प्रकोप भोगिराखेको नेपालमा पनि रणनीतिक रूपमा आफ्नो शिक्षा नीतिलाई संशोधन, परिमार्जन गर्दै उदार बाटोमा जानुपर्छ। स्याटलाइट क्याम्पस खोल्ने मार्गप्रशस्त गर्नु नै अहिलेको प्रकोपको निर्विकल्प समाधान हो।

प्रकृति मैनाली प्रकृति मैनाली
२०७९ फागुन २८ गते १६:२९
फाइल तस्वीर : स्याटालाइट क्याम्पस

‘साक्षर हुनु नै शिक्षित हुनु हो’ भन्ने भाष्य निर्माण भएको समाज हो यो। यहाँ वर्षेनि उत्पादन हुने साक्षर नागरिकसँग राज्यले गर्ने अपेक्षा र नागरिकले राज्यबाट गर्ने अपेक्षा नै अहिले युवा पुस्तामाझ उब्जिएको निराशाको कारण हो। देशले विकासको गति लिन नसकेको तीतो यथार्थ हामीसामु छँदैछ।

युवापुस्ता बेरोजगार छन् तर देशभित्रका ठूल्ठूला कम्पनीहरू र नेपाली बजारमा सीपयुक्त मानव संसाधन नै भेटिंदैनन्। भएका पनि धेरै समय देशमा टिक्दैनन्। फलतः यहाँ बजार विस्तारमा चुनौती भोग्नु परेको अवस्था छ। अघिल्लो वर्षको तथ्यांकले नेपालमा वार्षिक ८ लाख जनशक्ति काम गर्न देशमा भित्रिएको देखाउँछ। यस्तो तथ्य पेश गरिराख्दा समाधान हुनसक्ने अहिलेको बजार, एकेडेमिया, सरकार र युवापुस्ताको समस्याको एक्लो समाधान देशभित्रै अन्तर्राष्ट्रियस्तरको शिक्षित युवा पुस्ता उत्पादन गर्नु नै हो।

आजको शिक्षाले हामीलाई अक्षर चिन्न सक्ने र अंग्रेजी माध्यमको शिक्षाले अंग्रेजी बोल्न सक्ने त बनाएको छ तर के हाम्रो शिक्षाले हामीलाई प्रतिस्पर्धी बनाएको छ ? के हाम्रा पुरातन शैक्षिक पाठ्यक्रम विश्व शैक्षिक परिवेशसँग सापेक्षिक छन् ? बदलिंदो तीव्र प्रविधिको युगमा वर्तमान समयले माग गरेको सीप र शिक्षित मानव संसाधन के हामीले निर्माण गरेका छौं ? बजारले माग गरेको सीप के हाम्रा युवा पुस्तासँग छ ? अबको केही दशकको अन्तरालमा बजारले माग गर्ने जनशक्ति निर्माणमा के हामी रणनीतिक रूपमा तयार छौं ?

प्रकृति मैनाली

बजारको माग र पूर्तिबीच समायोजन नभएका उत्पादनहरू मूल्यहीन हुन्छन्। त्यसैले नेपाल अहिले साक्षर त छ तर शिक्षित भने छैन। हाम्रा पढेलेखेका डिग्रीधारी युवाहरू सस्तो श्रमिक बनेका नतिजा हामीसामु छ। हाम्रा अधिकांश घरेलु विश्वविद्यालयले आन्तरिक बजारमा समेत खपत हुन नसक्ने जनशक्ति उत्पादन गरिराख्दा अन्तर्राष्ट्रियकरण भएको अहिलेको भूमण्डलीकृत वैश्विक बजार नेपालको हकमा ‘किन्ने बजार’ मात्र भएको छ। जहाँ हामी केवल घाटाको व्यापार गरिराखेका छौं। जहाँ बेच्नका लागि हामीसँग केवल सस्ता श्रमिक मात्र छन्।

त्रिभुवन विश्वविद्यालयमा ४० प्रतिशत हाराहारीमा मात्र विद्यार्थी भर्ना हुनु, अहिले भैरहेका विश्वविद्यालय र बजारको मागबीच तालमेल नहुनुको संकेत हो।प्राविधिक सीप सिकाउने सीटीईभीटी जस्ता संस्थाहरूमा सीप सिक्न जाँदा आठ पासले छनोट मूल्यांकनमा बढी अंक पाउँछ, तर बीए पास भएको युवाले कम अंक पाउँछ।

त्यसैले आठ पासले सीप सिक्ने अवसर पाउने सम्भावना बढी हुन्छ। समानुपातिक र वैज्ञानिक आरक्षण दिएका छौं भनेर गर्व गर्ने हाम्रा सहानुभूतिक मानसिकताले बीए पास गरिसक्दा पनि युवा किन प्लम्बिङ्ग ट्रेनिङ लिन आइराखेको छ भनी प्रतिप्रश्न गर्दैनौं। शैक्षिक गुणस्तर, तिनका नतिजा बीचको सम्बन्धको समीक्षा गर्दैनौं। बीए पास गरिसक्दा पनि राज्यले दिने सीपको अवसरमा ८ पासबाट हरिनु पर्दा त्यो युवाको मनस्थितिप्रति संवेदनशील हुँदैनौं।

उदार भारतीय शैक्षिक नीति

केही महिना अगाडि मात्र छिमेकी देश भारतको विश्वविद्यालय अनुदान आयोगले देशमा क्याम्पस स्थापना गर्न विदेशी संस्थाहरूलाई आकर्षित गर्ने आफ्नो मनसाय घोषणा गरेको छ। शिक्षा प्रणालीभित्र नियामक र प्रशासनिक मुद्दाहरूलाई सम्बोधन गर्नुको सट्टा विश्वव्यापी मूल्याङ्कन वा आफ्नो देशमा मान्यता प्राप्त प्रतिष्ठित शीर्ष ५०० विश्व प्रसिद्ध विदेशी उच्च शिक्षा संस्थाहरूलाई लक्षित गर्दै नियम अनुसार त्यस्ता क्याम्पसहरूले भौतिक कक्षा सञ्चालन गर्न अनुमति दिनुपर्ने आशय विश्वविद्यालय अनुदान आयोगको छ।

सन् २०२२ मा लगभग गुणस्तरीय शिक्षा र उद्यमशीलता प्रशिक्षणको खोजीमा ६.५ लाख भारतीयहरू विदेशी विश्वविद्यालयहरूमा भर्ना भएका छन्। उनीहरूको शिक्षाको वित्तपोषणको लागि भारु १३०० करोड भन्दा बढी देश बाहिर निकासी भएको देखिन्छ। त्यसैले विश्वविद्यालय अनुदान आयोगले यी विद्यार्थीलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि आकर्षित गर्न चाहन्छ।

भारतमा स्याटेलाइट क्याम्पस (विदेशी विश्वविद्यालयको शाखा क्याम्पस) स्थापना गर्न निमन्त्रणा गरेर उच्च शिक्षामा पहुँच सुधार गर्ने लक्ष्य भनेको देशभित्रै युवालाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिनु र प्रतिस्पर्धी बनाउनु हो। उत्कृष्ट स्याटलाइट क्याम्पस भारत भित्रिनुको मतलब तिनीसँगै दक्ष जनशक्ति उत्पादन हुने विदेशी लगानीकर्ताको अपेक्षासँगै तिनको लगानी भित्रिनु पनि हो।

एउटा लुगा किन्न सयौं विकल्प भएको उदार अर्थतन्त्रमा रुचिको विषय पढ्न विश्वविद्यालय छनोट गर्ने विकल्प किन नगण्य छन् ? नेपालले किन अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय नेपालमा भित्र्याउन पहल गर्दैन ?

विश्व प्रसिद्ध विदेशी उच्च शिक्षा संस्थाहरूलाई भारतमा भित्र्याउनुका चुनौती र तिनका अवसर, विश्वका उत्कृष्ट विश्वविद्यालय भित्र्याउने सम्भावनाका बारेमा गृहकार्य हुन भने बाँकी नै छ।

४.१३ करोड विद्यार्थी भएको भारतमा विदेशिने विद्यार्थीको संख्या १.६ प्रतिशत छ भने नेपालको हकमा यो संख्या १८ प्रतिशत हुन आउँछ। हरेक दिन ३००० युवा काम या शिक्षाका लागि देश फर्केर नआउने गरी छोड्छन्। यो संख्या वार्षिक १० लाख ८० हजार हुन आउँछ। यो सँगै ७ अर्ब पूँजी पलायन भएको अवस्था छ। यति भयावह तथ्यांक प्रस्तुत भइराख्दा पनि सरोकारवाला निकायको ध्यानाकर्षण भएको महसुस नहुनुले आगामी दिनमा यो संख्या अझै बढ्ने सहजै अनुमान गर्न सकिन्छ।

आर्थिक वर्ष २०७८/७९ मा ४७ जना विदेशी विद्यार्थी पढ्नको लागि नेपाल आएको तथ्यांकले भने नेपालले बहिष्कार गरेको शिक्षा क्षेत्रमा तुलनात्मक लाभ र संभावनाको सुखद सन्देश दिएको छ। अन्तर्राष्ट्रिय डिग्री लिन नेपालसम्म आकर्षित हुने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नेपालको हावापानी र ‘जीविका लागत’ थप आकर्षणको कारण हुनसक्छ।

उदार जस्तो देखिने अनुदार नेपाली शैक्षिक नीति

लक्जरी ब्रान्ड भित्रिने देशमा अर्मानीको सुट लगाएका नागरिकलाई शिक्षाको लागि भने विकल्प प्रस्तुत नगर्ने जस्तो अनुदार शैक्षिक नीतिले, निश्चित वर्गको नागरिकलाई पढ्नको लागि विदेश मात्र देखाउँछ। नीति उदार हुने हो भने विश्वस्तरीय स्याटलाइट क्याम्पस नेपालभित्र खुल्नुको अर्थ पूँजी भएका युवा पुस्तालाई देशमै उद्यमशीलता गर्न, पूँजी लगानी र परिचालन गर्ने वातावरण सिर्जना गर्नु हो।

अहिलेको अनुदार शिक्षा प्रणाली र गुणस्तरहीन शिक्षाले उत्पादनका साधन जस्तै जमिन, श्रम, पूँजी र उद्यमशीलतामध्ये श्रमलाई मात्र उत्पादनको साधनको रूपमा प्रधानता दिनसकेको छ। जमिन, पूँजी र उद्यमशीलता विकास र तिनका बहुआयामिक पाटोहरूप्रति हाम्रो शिक्षा प्रणाली मौनप्रायः छ। जमिनमा काम गर्ने श्रमिक खाडी मुलुकतिर आकर्षित छन् भने पूँजी भएका उद्यमशीलता गर्न सक्ने युवापुस्ता विकसित मुलुकमा पलायन भएका छन्।

उदार शिक्षा नीतिले अन्तर्राष्ट्रिय विश्वविद्यालय देश भित्रिने बाटो खुलाउँछ। देशभित्रै सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा आर्जन गर्ने युवा आकांक्षालाई प्रत्याभूत गर्छ। उद्योगको लागि आवश्यकीय दक्ष जनशक्ति देशभित्रै निर्माण हुन्छ।

समग्र इको सिस्टम सुध्रिन गई खाडी जाने युवावर्ग र शिक्षित युवावर्गबीच रचनात्मक सहकार्य र समन्वयात्मक सम्बन्ध स्थापित हुन्छ। यसरी उत्पादन भएका मानव संसाधनले पुरातन उत्पादनका साधन (श्रम र जमिन) को उच्चतम प्रयोग गर्ने नवीनतम उपायको खोजी गर्छ।

यसरी देशमा टिक्ने शिक्षित युवापुस्ता जोसँग उत्पादनका साधनमध्ये जमिन र पूँजी छ, तिनीहरूले उद्यमशीलताको माध्यमबाट घरेलु श्रमिकको प्रयोग गरी उद्यमी बन्न सक्छन्। यसको प्रत्यक्ष असर भने खाडी जाने श्रमिक युवाहरूलाई नेपालमै रोजगारी सिर्जना हुन गई अहिलेको विप्रेषण केन्द्रित अर्थतन्त्रमा पाराडाइम सिफ्ट हुन सक्छ। वर्ग खाडल, वैदेशिक श्रम बजारको अहिलेको कहालीलाग्दो चक्रलाई तोड्न सक्छ।

संकुचित शैक्षिक विकल्प

एउटा उदाहरण हेरौं। नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषय त्रिभुवन विश्वविद्यालयको क्याम्पस परिसरभित्र मात्र पढाइ हुन्छ जहाँ वार्षिक ४८ जना विद्यार्थी उत्पादन हुन्छन्। अन्तर्राष्ट्रिय डिग्री लिन चाहने तर विदेश पढ्न जान नचाहने विद्यार्थीको लागि विदेश जानु बाहेक अर्को विकल्प छैन। अन्त कतै यो विषय पढ्न नपाउनाले ४८ जना भित्र नाम ननिस्किएका विद्यार्थीको लागि रुचिको विषय पढ्न अन्य विकल्प उपलब्ध छैनन्।

युवा पलायनको यति ठूलो प्रकोप भोगिराखेको नेपालमा पनि रणनीतिक रूपमा आफ्नो शिक्षा नीतिलाई संशोधन, परिमार्जन गर्दै उदार बाटोमा जानुपर्छ। स्याटलाइट क्याम्पस खोल्ने मार्गप्रशस्त गर्नु नै अहिलेको प्रकोपको निर्विकल्प समाधान हो।

एउटा लुगा किन्न सयौं विकल्प भएको उदार अर्थतन्त्रमा रुचिको विषय पढ्न विश्वविद्यालय छनोट गर्ने विकल्प किन नगण्य छन् ? नेपालले किन अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय नेपालमा भित्र्याउन पहल गर्दैन ?

दैनिक उपभोग्य वस्तु खरिद गर्न खर्बौं बजेट घाटा भएको अर्थतन्त्रमा उच्च शिक्षालाई किन हाम्रो शिक्षा नीति नवउदारवाद अर्थतन्त्रको पाटो बनाउन हिच्किचाउँछ। वस्तु आयात जस्तो परनिर्भरता उदार शिक्षा प्रणालीले गर्दैन किनकि मनाव संसाधन भनेका देशका अमूल्य पूँजी हुन् र पूँजीमा गरिएको लगानीले गुणस्तरीय प्रतिफल मात्र दिन्छ।

अबको रणनीति : युवालाई देशभित्रै टिकाउनु

वैदेशिक शिक्षा लिन विदेशिएका युवापुस्ता र तिनीसँगै जन्मिएका सामाजिक असमञ्जस्यता समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा युवाहरूको देश जस्तो जनसांख्यिक बनोट देखिए पनि यसको व्यावहारिक स्वरूप भने भिन्न छ। देश बुढाबुढीले कुरेर बसेको घरजस्तो देखिंदो क्रममा छ।

पढ्न गएका युवापुस्ता नफर्किने र बुवाआमा छउन्जेल मात्र नेपालसँगको सम्बन्धमा सीमित हुने जोखिम र तिनका बहुआयामिक प्रकोपप्रतिको संवेदनशीलता र उचित रणनीतिक कदमले देशको भविष्यको खाका कोर्छ।

विदेशमा रहेका शिक्षित नेपालीलाई पुन: देश फर्काउने रणनीति भन्दा सरल रणनीति देशभित्रै भएका युवालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक अवसर प्रदान गरी उद्यमशीलता गर्ने वातावरण सिर्जना गर्नु उपलब्धमध्येको उत्तम उपाय हो।

हरारीले आफ्नो ‘ट्वान्टी वान लेसन फर द ट्वान्टी फस्ट सेन्चुरी’ पुस्तकमा आजको बजारको मागसँग समायोजन हुन नसक्ने सीपहरू प्रविधिले तीव्र विस्थापित हुने कुरा गरेका छन्। जसरी हाम्रा अघिल्ला पुस्ता शिक्षक बनेर जागिर सुरु गरेर शिक्षक नै बनेर अवकाश हुने अवस्था थियो।

तर के २१औं शताब्दीमा एउटा व्यक्तिले सिकेको सीपले जीवनपर्यन्त रोजगार दिलाउन सक्ला? प्रविधिले आज तपाईंले सिकेको सीप १० वर्षपछि बेकारको बनायो भने तपाईं के गर्नुहुन्छ? यस्ता विचारणीय प्रश्नहरूले विचार उद्वेलन मात्र गराउँदैन बरु प्रभावकारी रणनीति लिन सकेमा तपाईंलाई भविष्यको लागि तयार पनि गराउँछ।

अबको शिक्षाले अबको पुस्तालाई सीप, शिक्षा र बजारको उतारचढावपूर्ण यात्राको लागि आफूलाई पुनर्व्याख्या र पुनर्जागरण गर्नसक्ने बनाउन सक्नु हो। कृत्रिम बुद्धिमत्ता (एआई)ले अबको श्रम बजारमा हामीले सिकेका सीपहरू काम नलाग्ने बनाउने सम्भावना जति कहालीलाग्दो छ, तर शिक्षित जनशक्तिले हरारीको पुन:अस्तित्वको व्याख्या र तिनको खोजीलाई समयसापेक्षिक ढाल्न भने सक्छन्।

सामाजिक, राजनीतिक, राष्ट्रभक्तिको चेतना विद्यार्थीले आर्जन गरेको ज्ञान, सीप र राज्यले नागरिक माथि गरेको लगानीसँग सापेक्षिक हुन्छ। गुणस्तरीय शिक्षा दिन सबै सरोकारवाला निकायबीच स्वार्थको सम्बन्ध होइन, विद्यार्थीको भविष्यप्रति प्रतिबद्ध इमानदार सहकार्य हुनुपर्छ।

त्यसैले हामीलाई २१औं शताब्दीमा समयसापेक्षिक सीप र शिक्षा चाहिन्छ। देशमा व्याप्त विकल्पले यदि यस्तो जनशक्ति निर्माण गर्न सक्दैनन् भने, देशमा युवालाई टिकाउन सक्दैनन् भने, डिग्रीलाई डलरमा रुपान्तरण गर्न सक्दैन भने झन्डावाहक राष्ट्रिय विश्वविद्यालयको खोक्रो रटानभन्दा अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको स्याटलाइट क्याम्पस मार्फत विदेशी डिग्री लिन पाउने नागरिकको छनोटको अधिकारलाई सुनिश्चित गर्नुपर्छ। हरारीको अस्तित्वको पुनर्परिभाषामा आफूलाई समयसापेक्ष ढाल्न सक्ने जनशक्ति निर्माणमा सरोकारवाला सम्पूर्ण निकायको समन्वय हुनुपर्छ।

विदेशिने अहिलेको प्रवृत्ति सामाजिक संस्कारको रूपमा रुपान्तरित हुने क्रममा छ। प्रवृत्तिको पुनरावृत्तिलाई रोक्न सकिएला तर जब प्रवृत्ति संस्कार बन्छ, यो मानव जीवनको अस्तित्व र परिचयसँग जोडिने हुँदा यी प्रायः अपरिवर्तनशील हुन्छन्। त्यसैले संस्कार परिवर्तनले पुस्तौंपुस्ताको समयको लगानीको माग गर्ने हुँदा यो महँगो प्रयास हो।

स्याटलाइट क्याम्पसले उपलब्ध गराउने अवसर, युवालाई देशभित्रै टिकाउने सम्भावना, प्रतिस्पर्धी मानवसंसाधन देशभित्रै उत्पादन हुने अवसर, पूँजी पलायन, सामाजिक असमञ्जस्यताको विकराल समस्याको सबैभन्दा सस्तो, समय सापेक्षिक, दीर्घकालीन समाधान भनेको उदार शिक्षा नीति हुनु हो।

सामाजिक, राजनीतिक, राष्ट्रभक्तिको चेतना विद्यार्थीले आर्जन गरेको ज्ञान, सीप र राज्यले नागरिक माथि गरेको लगानीसँग सापेक्षिक हुन्छ। गुणस्तरीय शिक्षा दिन सबै सरोकारवाला निकायबीच स्वार्थको सम्बन्ध होइन, विद्यार्थीको भविष्यप्रति प्रतिबद्ध इमानदार सहकार्य हुनुपर्छ। यस्तो सहकार्य जसले एक चेतनशील नागरिक निर्माण गर्न सकोस्। जसले नागरिक र राज्य, लगानी र प्रतिफल, बजार र श्रम, पूँजी र उद्यमशीलता र तिनका चक्रीय उत्पादन शृंखलालाई बलियो गरी जोड्न सकोस्।

अनुसन्धानात्मक भारतीय विश्वविद्यालय अनुदान आयोगले अन्तर्राष्ट्रिय विश्वविद्यालय भारतको आगामी विकल्पको रूपमा स्वीकार गरेको छ। युवा पलायनको यति ठूलो प्रकोप भोगिराखेको नेपालमा पनि रणनीतिक रूपमा आफ्नो शिक्षा नीतिलाई संशोधन, परिमार्जन गर्दै उदार बाटोमा जानुपर्छ। स्याटलाइट क्याम्पस खोल्ने मार्गप्रशस्त गर्नु नै अहिलेको प्रकोपको निर्विकल्प समाधान हो।

लेखकको बारेमा
प्रकृति मैनाली

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट सम्मानित लेखक सामाजिक उद्यमशीलताको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?